सहयोगले विश्वास बढाउँछ

नारायणप्रसाद श्रेष्ठ
सहयोग र सद्भाव मानव जीवनको लागि अनिवार्य आवश्यकता मानिन्छ । एकअर्काको सहयोग र सम्बन्धबिना मानिस एकछिन पनि बाँच्न सक्दैन । सानो, ठूलो, धनी, गरिब चाहे महलमा बस्ने होस् चाहे झुपडीमा, चाहे दैनिक मजदुरी गर्ने होस् वा उच्च ओहदामा बस्ने शासक नै होस्, सबैलाई सहयोगको आवश्यकता पर्दछ । यही सहयोग र सद्भावको वृद्धिबाट नै समाज बनेको हुन्छ । राष्ट्र र राष्ट्रियताको आधार तयार भएको हुन्छ ।

तसर्थ, जीवनमा जेजस्तो समस्या आए पनि त्यसको समाधानको एक मात्र विकल्प भनेकै एकअर्काबीचको सम्बन्ध र समन्वयबाट सम्भव भएको मानिन्छ । त्यसैले सेवा र सद्भावमा गतिशील हुँदै आएको हाम्रो जीवनचर्यालाई सधैँ निःस्वार्थ सहयोगमा समर्पण गर्न सक्नुपर्छ । अहिले सहयोग र सद्भावलाई स्वार्थ र महत्वाकाङ्क्षी आवरणमा राखी सेवा गरेको देखाउने प्रचलन छ । खासै उपलब्ध नहुने गरी देखावटी रुपले सहयोग गरेको देखिन्छ । वास्तवमा यो मानवीय कमजोरी र स्वार्थी आचरण हो । यसैले बरु सहयोग गर्ने मन छैन भने नगर । यदि गर्छौ भने निःस्वार्थमा आधारित सहयोग र सेवा गर ।

सेवालाई भौतिक आशक्तिभित्र नलैजाऊ । मैले सेवा नगरे उसले पनि मलाई सहयोग नगर्न सक्छ भनी गलत मानसिकता बोकेर गरिने सेवालाई स्वार्थी चरित्र भनिन्छ । तसर्थ, सेवा निःस्वार्थ गर ता कि तिम्रो आत्मालाई सन्तुष्टको अनुभूति गराओस् । सेवालाई तनको सुन्दरताभित्र होइन, मनको सुन्दरताभित्र राखी सर्वे भवन्तु सुखिन भन्ने मनसाय साथ आफूलाई समर्पण हुनु पर्छ । सेवा र सहयोगलाई रकममा सटही गर्ने जुन परम्परा वर्तमानमा झाँगिँदै गरेको छ, यसले हाम्रो नैतिक धरातल निकै कमजोर बनाइरहेको छ ।

भाइ–भाइ बीचको सम्बन्धमा फाटो ल्याइरहेको छ । एक बित्ता आँठोको लागि दुई भाइबीच महाभारत रचेको स्थिति छ । यो भनेको स्वार्थलिप्सा र रकममा सटही भएको मानसिकता हो । वास्तवमा जहाँ जसले आँठो मिचे पनि भाइ–भाइमा त हो भनी एकअर्कालाई बुझ्ने र सहयोग राख्ने हो भने अहिले भन्न थालिएको शत्रुको मुख हेर्नु छ भने दाइभाइको मुख हेर्नुपर्छ भन्ने जुन गलत उखान टुक्का छ त्यो सदाका लागि अन्त्य हुने छ ।

त्यसैले एकले अर्कालाई सक्याउने विचारले र बदलाको भावना जगाइ देखावटी सद्भाव देखाउनु छ भने यो किमार्थ राम्रो विचार होइन । तसर्थ, समस्या बढाइ विचारमा संकुचन ल्याउनुको साटो निःस्वार्थ सेवामा तल्लीन रहने सङ्कल्प गर्नु जरुरी छ र सबैको आशा, विश्वास र भरोसाको केन्द्र बन्नुपरेको छ । जसले जीवनमा गल्ती स्वीकार्दै एकअर्काको सहयोग र सद्भावमा जीवन समर्पण गर्न जानेको हुन्छ, वास्तवमा त्यो नै महान् व्यक्ति मानिन्छ । समय बितिरहन्छ । यो कसैले रोकेर रोकिँदैन ।

यस्तै जीवन पनि निरन्तर गतिशील भएर अगाडि बढिरहेको हुन्छ । त्यसैले मैले नगरेर के हुन्छ ? अरुले त गरिहल्छ नि भनी आफूले निर्वाह गर्ने दायित्व र जिम्मेवारीलाई पन्छाउने प्रवृत्ति बढाउने र आपसी सहयोगको वातावरण बनाउन सकिएन भने त्यो जिन्दगी साच्चिकै बोझ बन्न सक्छ ।

भनिन्छ – रगतको सम्बन्धले देखाउने सम्बन्ध र सहयोग भन्दा सम्बन्ध र सहयोगको नाताले बढेको विश्वास निकै मजबुत र भरपर्दो हुन्छ । तसर्थ, मनमा शंका र भयले ल्याउने परिणमलाई ख्याल गरी आफूलाई अरुको सहयोगीको रुपमा प्रस्तुत हुन सक्नुपर्छ । शंका उब्जाउनु भनेको आफूले आफैलाई पछि धकेल्दै जानु हो ।

त्यसैले निःस्वार्थ सेवा र कर्ममा आफूलाई सकारात्मक प्रवृत्ति उन्मुख बनाउनु नै जीवनको उद्देश्य राख्नु पर्छ । सम्पन्नता र वैभवसँग सेवा र सद्भाव सटही गर्नु हुँदैन । सम्बन्धले मन मिलाउँदै बसुधैव कुटुम्बकम् भएर प्रस्तुत हुनुपर्छ । भनिन्छ– मानिसको पहिचान आपतकालमा हुन्छ, दुःख, पीडा र गरिबीको अवस्थामा हुन्छ, रुग्ण र बिरामीको अवस्थामा हुन्छ, मर्दापर्दाको अवस्थामा हुन्छ । त्यसैले आफूले आफैलाई मूल्याङ्कन गर्दै सहयोग गर्नु र स्वीकार्नु यी दुवै जीवनको लागि अनिवार्य आवश्यकता मानिन्छ ।

जीवन हरेक समस्याको समाधान हो र यो यसैमा गतिशील भइरहेको हुन्छ । तसर्थ, यस विचारलाई फराकिलो दायरामा लगी आफूलाई प्रस्तुत गर्ने गर्नुपर्छ । सदाचारी सदा सुखी भइ जीवनयापन गर्न तथा जीवनलाई शान्तिको संवाहक बनाउन सधैँ प्रण गर्नुपर्छ । मेरो जीवन उसको खुसी र शान्तिको सम्वाहक हो भनी आपसी विश्वास र सहयोग बढाउँदै जीवनलाई उत्तम गतिउन्मुख बनाउनुपर्छ । जहाँ जुन समयमा सहयोग र सद्भाव अनुकूल आचरण र जीवनशैली गतिशील भएको हुन्छ त्यहाँ समस्या आफै डराउँछ ।

तसर्थ, समयानुकूल सहयोग र सद्भावको आवश्यकतालाई परिपूर्ण गर्दै असन्तोषले ल्याउने विचलनबाट टाढा रहन सक्नु पर्छ । सहयोग तब प्रिय हुन्छ जब त्यसले समाधानको उपाय सुझाउँछ । यदि त्यसो भएन र समस्यामाथि झन समस्या थप्ने खालको स्वार्थपरक सेवाभाव देखाइन्छ भने त्यो मानवीय आचरणको घिनौना कार्य हो । रातपछि दिन र दिनपछि रात, दुःखपछि सुख र सुखपछि दुःख भइरहने सत्यलाई स्वीकार गरी आफूमाथि आइपर्ने समस्या अरुलाई पनि पर्नसक्छ भन्ने चिन्तन राखी सेवा र सद्भावमा आफूलाई निःस्वार्थ समर्पण गर्नुपर्छ ।

थोरै सहयोगले अरुको जीवनमा पर्ने सकारात्मक परिवर्तन निःस्वार्थ सहयोगको कारण हो भनी आफूलाई सधैँ आनन्द र सकारात्मक चिन्तनशील बनाउनु पर्छ । परिवर्तन नै जीवन हो भन्ने सोची दुःख, सुख घामछायाँ हुन्, यो आज आउँछ जान्छ भन्ने सोच राखी आफूलाई प्राप्त जिम्मेवारी र दायित्वा निर्वाह गर्ने कुरामा संवेदनशील हुनुपर्छ । हामी सहयोग र असहयोगको भागिदार हामी स्वयम् हौँ । त्यसैले मनको दैलो उघारी सेवाबाट प्राप्त हुने सन्तुष्टिलाई आत्मसात गरी सेवा सबैले गर्नुपर्छ भनी फलाक्नुभन्दा म सेवाधारि हुँ, मेरो जिम्मेवारी अरुको सेवा र सत्कार गर्नु हो भन्ने पवित्र उद्देश्य लिइ जीवनलाई गतिशील बनाउनु पर्छ ।

आँसु त्यसको पुछ जो असहाय, पीडित र सहाराको खोजीमा छ । अन्यथा बनावटी आँसु र आशक्तिले तिमी र तिम्रो सेवाप्रतिको भावनामा ठेस पुग्न सक्छ । त्यसैले आफूले आफैलाई आफ्नो अस्तित्व बुझी अभिमानलाई त्यागेर स्वमानमा रही सेवामा समर्पित रहने सङ्कल्प गर्नुपर्छ । जीवनको कुन क्षण, समय र यात्रा अन्तिम हुने हो ? त्यो कसैलाई थाहा छैन । त्यसैले समाजले तपाईँलाई के भन्छ भनेर ध्यान नदेऊ ।

तपाईँले समाजलाई कस्तो सहयोग गरिरहनुभएको छ त्यसतर्फ ध्यान पु¥याउनुहोस् । जीवन सधैँ आनन्दित भइरहन्छ । अर्र्को कुरा अरुसँग आफूलाई कहिल्यै नदाँज्नुस् । सकभर शून्य सोचमा रही आवश्यकताअनुसार आफूलाई निःस्वार्थ सहयोग बनाइ अघि बढ्नुस् । यो नै जीवनको उत्तम सोच र कर्म हो । यसैबाट मानव महान् बन्नसक्छ । सहयोगी र विश्वासिलो बन्नसक्छ । सेवा नै परमोधर्म