गाउँमा विद्युतको समस्या

युवराज शर्मा
नेपाल गाउँ–गाउँले भरिएको देश हो । अहिले गाउँबाट सहरबजारमा बसाई सर्नेहरुको सङ्ख्या बसेको हँुदा गाउँमा बस्नेको जनसङ्ख्या घट्दो अवस्थामा छ । वर्तमान समयमा गाउँको अपेक्षा सहरबजारमा जनसङ्ख्या दिनानुदिन बढिरहेको छ । गाउँमा बस्नेहरुको सङ्ख्या र सहरबजारमा बस्नेको सङ्ख्यामा हेर्दा सहरबजारमा सुविधाहरु धेरै छन् ।

सडक, खानेपानी, विद्युत, शिक्षण संस्था, स्वास्थ्य संस्था र रोजगारीका अवसरहरु छन् तर गाउँमा गोरेटो र घोरेटो बाटो पाउन पनि नागरिकले सकेका छैनन् । प्राकृतिक स्रोतहरु पर्याप्त मात्रामा पानी पाइने भए पनि गाउँमा खानेपानीको समस्या छ । विद्युतको उज्यालो देख्न पनि नपाएका नागरिक छन् । उनीहरुले आकाशे टहटह जुन नै झकमक्क उज्यालो देख्छन् । अझ घरघरमा पानीको धारा र मोटरबाटो देख्न पाउनु दिवास्वप्न ठान्छन् ।

शिक्षा पाउनु उनीहरुका बालबालिकाको नैसर्गिक अधिकार भए पनि त्यसबाट बञ्चित छन् । स्वास्थ्योपचार गर्न गराउन धामी–झाँक्रीका घरमा पुग्नुपर्छ । स्वास्थ्योपचारको समस्याबाट बढी मात्रामा गर्भवती महिलाहरु र बालरोगीहरु धेरै पीडित छन् । रोजगारका अवसर पाउन भारतीय बजारहरुमा जानुपर्छ । वर्षा यामपछि दसैँ–तिहार पर्वहरु मानेर विदेशिने गाउँलेहरुको चलन पुरानो हो ।

नेपाल विद्युत प्राधिकरणले गाउँलेहरुलाई सर्वसुलभ विद्युत उपलब्ध गराउने सरकारी नीति भए पनि मासिक रुपमा ३० (तीस) रुपैयाँ कायम भएको सुनिन्छ तर गाउँमा भएका मिटर बिग्रेर हो या मिटर रिडरको मेसिन बिग्रेर हो ? धेरैले तीस रुपैयाँ भन्दा बढी तिर्नुपर्ने मिटर रिडरको बिल देखाउँछ । यसको निरीक्षण गरेर मूल्याङ्कन गर्ने निकाय देखिन्न । समस्याको समाधान गर्ने इकाई पनि छैन । तीस रुपैयाँ तिर्न पनि चार सय रुपैयाँ आवतजावत गर्नमै खर्च हुन्छ । एरिया–एरियामा रकम उठाउने प्रबन्ध गर्नुपर्ने समस्या छ ।

समयमा पैसा तिर्नका लागि गाउँलेहरु उत्सुक भए पनि वातावरण नभएपछिको समस्या समाधान गर्न स्थानीय सरकारलाई पनि विद्युत प्राधिकरणको अधिकार प्रत्यायोजन पाइन्न । आखिर सबै रकम राजस्वमा जम्मा हुने होला । अहिले गाउँलेहरुले विद्युतमा भोगेका समस्यालाई केलाउँदा मिटर रिडिङको तथ्य फरक कार्य छ भने शुल्क तिर्न सदरमुकाम वा विद्युत कार्यालय पुग्नुपर्ने अवस्था छ । यो कार्य गाउँलेका लागि समस्या बनेको छ । यस्ता कार्यहरुमा सुधार गरेर नागरिकलाई सुविधा प्रदान गर्नु राज्यको कर्तव्य पनि हो । राज्य सञ्चालकहरु कर्तव्य र दायित्वविहीन हुनु हुँदैन । समयमा ध्यान पुग्नुपर्छ ।

नेपाल विद्युत प्राधिकरणका मिस्टर रिडिङ गर्नेहरु गाउँ–गाउँमा मिटर जडान भएका घर–घरमा प्रायः जादैनन्, गए पनि मिटर रिडिङ नगरेर न्यूनतम रसिदमा रकम देखाउँछन् । कहिलेकाहीँ गए पनि रिडिङ गरेर मिटरमा रकम बढाएको देखाउँछन् । गाउँलेलाई मिटरको बारेमा ज्ञान हुँदैन । मिटर रिडरले जे–जति रकमको रसिद दिन्छन् सोही आधारमा विद्युत प्राधिकरणको कार्यालय गएर रकम बुझाउँछन् । विद्युत प्राधिकरणको काम रकम उठाउने मात्र भएको छ ।

विद्युत गाउँमा नियमित नआएको समय–समयमा झ्याप्प निभ्ने गरेको मिटर बिग्रे वा ठिक अवस्थामा भएको मिटर रिडरले नियमित मिटर चेक गरे नगरेको जस्ता चेकजाँच नभएको पाइन्छ । यस्ता कार्यलाई चेकजाँच गर्ने निकाय पाइएन । यसले गाउँलेहरुलाई धेरै आर्थिक र सामाजिक समस्या विद्युतमा भोग्नु परेको गुनासो गाउँलेहरुले गर्छन् । उनीहरुका समस्याहरुको निराकरण विद्युत प्राधिकरण कार्यालयले गर्नुपर्छ । गाउँमा बस्नेहरु सरल र शान्त स्वभावका हुनुपर्ने हो ? तर त्यस्तो पाइन्न ।

कूल जनसङ्ख्याको ३६ प्रतिशत नागरिक गाउँमा बस्छन् तर ३४ प्रतिशत मानिसहरु सहरबजारमा बस्छन् । उनीहरुलाई पर्याप्त सुविधाहरु सरकारले जुटाइदिएको छ । जसमा ठूला नेता, दलीय कार्यकर्ता, सङ्घसङ्गठका पदाधिकारीहरु सबै सहरबजारमा बस्ने हुँदा सहरबजारमा विद्युत झ्याप्प–झयाप्प गर्दैन । बत्ती निभ्ने काम पनि हुन्न । अझ भनौँ भने बिचौलिया, तस्कर, दलाल, गुण्डा, तस्करीहरुको जमघट थलो पनि सहरबजार भएको छ । सबैले ठग्ने पनि गाउँलेहरुलाई नै हो ।

धेरैको नजरमा उपेक्षित, अपहेलितवर्गमा गाउँलेहरु पर्छन् । उनीहरुलाई बोल्न पनि नजान्ने पाखे, काठा, भोद भन्नेहरु नै सहरबजारमा बस्नेहरु हुन् । उनीहरुलाई सरकारले चिने जानेको हुन्छ । गाउँको खाँचो विद्युत पनि हो । दिनभर काम गरेर घरमा आउँदा खानाखाने समयमा साँझ ७ बजेदेखि १० बजे रातीसम्म बिजुली बल्दैन । अन्धकारमा बस्नुपर्छ । गाउँमा विद्युत लाइन प्रसारण बिहान ३ बजेदेखि ८ बजेसम्म र बेलुकी ६ बजेदेखि राती १० बजेसम्म विद्युत आवश्यक पर्छ ।

बिजुली बत्तीको उज्यालोमा खाना खाएर घरेलु काम गर्छन् । खेतीपातीको समयमा, ऊन काट्ने, धुने, सफा गर्ने गर्छन् भने नाम्लो, दाम्लो, बाँस चोयाको काम गर्छन् । उनीहरुका यस्ता कामले आर्थिक जोहो गर्छन् । कतिपय गाउँलेहरुले घरबुना कपडा बुन्ने काममा तान पनि भलाउँछन् । यस्ता कार्य गर्न विद्युतको महत्व हुन्छ । यसतर्फ विद्युत प्राधिकरणको ध्यान जानुपर्ने थियो । यद्यपि गएको पाइएन । यो समस्या जटिल बनिरहेको छ । गाउँमा विद्युत समस्या समाधान हुनुपर्छ भनाइ गाउँलेहरुको सुनिन्छ ।