खडेरीपछि आउन सक्छ डेङ्गुको महामारी

के.पी.सुवेदी
हिन्दीमा एउटो उखान छ, ‘गरिबीमा आटा–गिला’, नेपालीमा त्यस्तै अर्को उखान पनि छ, ‘जहाँ पातलो त्यसैमा प्वाल ।’ यसको सोझो अर्थ के हो भने जो समस्या झेलिरहेको छ, त्यसैलाई थप समस्याले घेर्छ । धेरै बिरामीहरु विशेष गरी महामारीका रुपमा फैलेर एकैपटक सयौँ, हजारौँ बिरामी पर्छन् र समयमा उपचार नपाएर मर्छन्, त्यस्ता सङ्क्रामक रोगहरु पनि हाम्रो जस्तै गरिब तथा विपन्नको सङ्ख्या धेरै भएका मुलुकमा देखापर्छ । कारण के हो भने जहाँ पेटभरि खान पाउने उत्पादन गर्न असमर्थताले हाम्रो शरीरको अत्यावश्यक तत्वको परिपूर्ति हुन सक्तैन ।

त्यसैले कुपोषणबाट ग्रस्त व्यक्ति महामारीबाट सबैभन्दा पहिले थलिन्छ । कारण उसँग रोग प्रतिरोधक शक्ति कम हुने गर्छ । सन् २०१९ को अन्त्यतिर चीनबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस मात्र ठूला–साना सबैलाई लपेट्यो र धेरैको ज्यनै लियो । कोरोना भाइरसको सङ्क्रमण विश्वका विकसित मुलुकका नागरिकको ज्यान लिएर त्रासदी फैलाएको कारणले पनि यसको विरुद्धको भ्याक्सिन आविस्कार भई विश्वका सबै नागरिकलाई लगाउन सम्भव भयो । अरु प्रकारका महामारीजस्तै गरिब तथा विकट बस्तीहरु मात्र ग्रस्त हुन्थ्यो भने खोप यति छिट्टै हाम्रो पहुँचमा आउने सम्भावना थिएन ।

कोरोनाले गरिब र धनी सबैलाई उस्तै सङ्क्रमण देखियो तथापि साधन स्रोत सम्पन्न र विपन्नहरुको सङ्क्रमित भइसकेपछि फरक अवस्था देखियो । त्यसको मुख्य कारण राज्यको जिम्मेवारी कमजोर देखियो । सरकारमा बस्नेले राज्यको कोषबाट खरिद गरिने औषधीमा कमिसन खाने र भ्रष्टाचार गर्ने गरे । सरकारी बेवास्ताका कारण सरकारी स्तरबाट उपचारमा भरपर्दो व्यवस्था गर्न नसकेपछि पैसा हुने धनीहरुले निजी अस्पतालमा राम्रो उपचार गर्न सके, नसक्नेहरु हेरचाह नपुगेर मर्नु प¥यो ।

तीन वर्षको अवधिमा कोरोनाले काया बदलेर झुक्याइरह्यो । मानिसहरु कोरोना भाइरसको विभिन्न अवतारसँग जुझ्दै र जित्दै पछिल्लो चरणमा आइपुग्दा खोपको कारण रोग प्रतिरोधक क्षमतामा प्रचुर वृद्धि हुनुका साथै सचेतनामा आवश्यकता अनुसारका सबै उपाय अवलम्बन गर्न थालियो । बेलाबेलामा कोरोना सङ्क्रमणका छिटपुट बिरामी देखिए पनि विगतमा व्यहोरेको त्रासदी भने इतिहास भइसक्यो । अर्को कुनै महामारी आउँदैन भन्न त सकिँदैन तर अहिले भने मुक्ति मिलेकै ठानी ढुक्क परेको मान्नुपर्छ ।

झन्डै आधाकरोड मानिसको ज्यान लिने गरी विश्वव्यापी महामारी बनेको कोरोनाले स्वास्थ्यमा धेरै राम्रा संहिताहरु सिकाएर गयो । मानिसको स्वास्थ्य प्रतिको यो चेतनालाई महान् उपलब्धि भनेर बुझ्दा पनि फरक पर्दैन । एकप्रकारले कोरोना जित्दै गरेको मानिसलाई अहिले लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु भाइरसको सङ्क्रमण बढेर महामारीको रुप लिन थालेको छ । पहिले–पहिले उष्ण प्रदेशमा मात्र बर्सातको अन्त्यतिर छिटपुट रुपमा देखिने डेङ्गु अहिले हाम्रो प्रायः सबैजसो भागमा र विशेष गरी लामखुट्टेको बासस्थान हुने समसितोष्ण र गर्मी ईलाकातिर गतको बर्साको लगत्तै पछि महामारी बन्यो ।

अहिले यहाँ गर्मी ईलाकाहरुमा मात्र नभएर शीतल तापमान हुने क्षेत्रमा समेत महामारी बनेर त्रसित गराइरहेकोमा हाल हाम्रो देशको विभिन्न भागमा फेरि पनि छिटपुट डेङ्ग देखिन थालिसकेको छ । हुने भाइरल ज्वरोलाई डेङ्गु भनिन्छ । यही लामखुट्टेले सार्ने भाइरसबाट अन्य भाइरस ज्वरोको सङ्क्रमण देखिन्छ । भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो र व्यापक रुपमा फैलिने जातको विषाणु भएकोले छिट्टै सर्ने भए पनि यो रोग अरु भाइरल सङ्क्रमणभन्दा अलि भिन्न र बिरामीको उपचार गर्ने, हेरविचार गर्नेमा जोखिम विल्कुलै हुँदैन । किनभने यो भाइरस बिरामीको सिधा सम्पर्कबाट नसरी लामखुट्टेको टोकाइबाट मात्र सर्नसक्छ ।

लामखुट्टेको एक प्रजाति जसलाई अल्वोपिक्टस् लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा भाइरस प्रवेश गरेर देखापर्ने लक्षणलाई डेङ्गु ज्वरो भनिन्छ । यो किटाणु हाम्रो शरीरमा प्रवेश गरिसकेपछि उच्च ज्वरो, शरीर काम्ने, हात खुट्टा, अनुहार फुलेको जस्तो देखिने, जटिल सङ्क्रमण भएमा बान्ता हुने चक्कर लाग्ने, भोक खानामा रुचि एकदम कम हुने हुनसक्छ । यसका साथै पिडौलाहरु धेरै दुख्ने, आँखाको माथिको भित्र दुख्ने, टाउकोको पछाडिपट्टि दुख्ने, जिउ दुख्ने, वाकवाकी अथवा बान्ता हुने र हातगोडाहरु चिसो हुने आदि लक्षणहरु देखिन्छन् ।

डेङ्गुको सङ्क्रमण प्राणघातक हुनसक्ने कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य सङ्गठनले सामान्य डेङ्गु र असामान्य वा गम्भीर प्रकारको डेङ्गु भनेर दुई भागमा राखेर त्यसको गाम्भिर्यता अनुसन्धान गरेको र त्यसैअनुसार सावधानी अपनाउन सबैलाई सचेत गराएको छ । डेङ्गु पत्ता लगाउन आरडिटी वा पिसिआर दुवै विधिबाट परीक्षण गरिने भए पनि भरपर्दो परीक्षण पिसिआर विधिले रगत जाँच गरेर पत्ता लगाउनुलाई मानिन्छ ।

डेङ्गु रोगको विषाणु मानिसमा सार्ने लाम्खुट्टे भएकोले त्यसको टोकाइबाट बच्नु नै यसको सङ्क्रमणबाट बच्ने एक मात्र उपाय हो । यो अरु प्रजातिको लाम्खुट्टे भन्दा फरक छ । कसरी भने अरु लाम्खुट्टे फोहर पानीका नाली वा ढल तथा झाडीहरुमा बस्छ तर डेङ्गुको भाइरस सार्ने लामखुट्टे सफा पानी जम्ने ठाउँमा बस्छ र त्यही फूल पार्छ, बच्चा पार्छ । त्यसैले लाम्खुट्टेबाट टाढा रहन त्यस्ता ठाउँहरु पुरेर सम्याउनु पर्छ । यो भाइरसबाट लाग्ने बिरामी भएकोले यसको औषधी छैन । अन्या भाइरसले लाग्ने रोगहरुमा काम गर्ने औषधी जस्तो यसको विरुद्ध औषधी छैन ।

यसको उपचार सामान्य अवस्थामा घरमै गर्न सकिन्छ तर जटिल भयो, धेरै ज्वरो लगातार आइरह्यो भने सङ्क्रमण जटिल भयो भन्ने बुझेर अस्पताल जानुपर्छ । अन्यथा घरैमा ज्वरो कम गर्ने औषधी खाने, झोल र पोषिलो खाने कुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ । गम्भीर भएमा भने रक्तकोशिका नष्ट हुने हुँदा शरीरमा डाबर आउने, नीलडामहरु देखिने हुन थालेमा रगतको कोशिका गणना गर्न रक्त परीक्षण गरी नशाबाट औषधी दिने अवस्था हुनसक्छ ।

यो रोग ३ देखि १४ दिन लक्षण देखिन लाग्छ भनिएकोछ । धेरै मानिसहरु केही अघि सामान्य ज्वरो आएर सिद्धिएकोमा भ्रममा पर्नसक्ने सम्भावना हुन्छ तर यसको जटिलता अलि पछि पनि देखिनसक्ने हुँदा रगतमा प्लाज्माको परीक्षण गरेर हेर्दा पछि हुने जटिलता कम गर्न सकिन्छ ।
अहिले लामो खडेरीको सम्भावना बढिरहेको मौसमविदहरुको विश्लेषण छ । खडेरीको पछि हुने बर्सासँगै लामखुट्टे निकै बढ्ने र लामखुट्टेको टोकाइबाट लाग्ने रोगको महामारी बढनसक्छ । अहिले नै डेङ्गु अलि–अलि देखिने गरेको छ ।

स्थानीय सरकारले समयमा लामखुट्टे मार्ने र डेङ्गु नियन्त्रण गर्न जनस्तरबाट माग गर्नुपर्छ । निश्चित क्षेत्रहरु जहाँ डेङ्गुका एकाध बिरामी देखिन सुरु हुन्छ, त्यहाँ तत्कालै लामखुट्टे मार्ने अभियान थालिहाल्नु पर्छ । लामखुट्टेको बासस्थान उन्मुलन गर्नमा ठूलो भूमिका हाम्रो आफ्नै हुने हुँदा जनस्तरबाट पनि सचेतना अभियान चलाऔँ । घर वरपर पानी जम्न नदिन सानातिना खाडल पुरिदिनुपर्छ । टायर, भाँडाकुँडा हटाउनु पर्छ ।