विप्रेषण र नेपाली अर्थतन्त्र

भुवन पोख्रेल
वैदेशिक रोजगारीबाट प्राप्त हुने रकमलाई विप्रेषण भनिन्छ । यो एक देशबाट अर्को देशमा काम गर्न गएका कामदारहरुबाट प्रवाह हुने रकम हो । यसप्रकार विदेशमा काम गर्न गएका मानिसहरुले उनीहरुको आफ्नै देशमा पठाएको रकमलाई विप्रेषण भनिन्छ । विप्रेषण प्राप्त गर्ने देशको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान त पु¥याएकै छ, त्यसका साथै यस्तो रकमले एकातर्फ उनीहरुको पारिवारिक खर्च पनि धानिरहेको हुन्छ ।

विगत केही समयदेखि विदेश गएका नेपाली कामदारहरुबाट प्राप्त हुने विप्रेषण नेपाली अर्थतन्त्रको आधारका रुपमा अगाडि आएको छ । केही विकासोन्मुख मुलुकहरुमा विदेशी मुद्रा सञ्चिति तथा आन्तरिक एवम् बाह्य क्षेत्र समेतको स्थायित्वलाई कायम राख्न विप्रेषणको प्रमुख भूमिका रहेको हुन्छ ।

नेपालको अर्थतन्त्र अस्तव्यस्त छ । वैदेशिक व्यापार नकारात्मक रुपमा प्रभावित छ । कृषिप्रधान देश नेपाल प्रतिवर्ष अबौँ रुपैयाँको खाद्यान्न आपूर्ति गरिराखेको छ । जलस्रोत र पर्यटन विकासको सम्भावना प्रबल हुँदा अपेक्षित उपलब्धि लिन सकिएको पर्यटन उद्योग विकासका लागि विश्व सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल रहेको देश नेपालको प्रचारप्रसार र पर्यटनका लागि आधारशीला तयार पार्न सक्दा ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्ने स्रोतका रुपमा लिने अवस्था हुँदा पनि हामीले यसलाई अपेक्षित रुपमा विकास गर्न सकेनौँ । नेपालमा कृषिका अतिरिक्त उद्योग, पर्यटन पनि शिथिल भएका छन् ।

विश्वका करिब १ सय ७२ मुलुकमा नेपालबाट दक्ष, अर्धदक्ष र न्यूनदक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ । झण्डै ४५ लाख जनशक्तिले विदेशबाट उनीहरुको श्रम र पसिनाले कमाएको रकम विप्रेषणका रुपमा नेपाल भित्रिने गरेको छ । नेपालमा बेरोजगार र गरिबीको अवस्था अत्यन्त नाजुक छ । देशमा रहेका कलकारखाना उद्योगहरु निजीकरणका नाममा निजी क्षेत्रलाई सुम्पिएको छ । बचेका केही उद्योगहरु पनि उर्जाको कमीलगायत अन्य सरकारी नीतिका कारण धरासायी बन्दै गएका छन् ।

देशभित्र उद्योगहरुको विकास हुने सम्भावना भेटिँदै जानु भनेको बेरोजगारीको अवस्था विकराल बन्नु र गरिबी बढ्नु हो । अतिकम विकसित देश नेपालको सहज गन्तव्य वैदेशिक रोजगारी बनेको छ । विप्रेषणको मात्राका हिसाबले नेपाल विश्वकै सबभन्दा बढी विप्रेषण प्राप्त गर्ने देशहरु मध्येको एक बनेको छ । देशभित्रको आर्थिक दुरावस्थाका कारण निम्न र मध्यमस्तरको आम्दानी भएका देशहरु विप्रेषणको प्रवाह अत्यन्त बढी रहेको छ ।

नेपाली अर्थतन्त्रमा विप्रेषणको प्रभाव सकारात्मक देखिएको छ । यसले जीवनस्तरमा सुधार गरिबी निवारण, साक्षरता दरमा वृद्धि, स्वास्थ्यमा सुधार, ज्ञान र सीप र अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार आएको छ । समग्रमा विप्रेषणले नेपाली समाजमा सकारात्मक र नकारात्मक दुवै खाले प्रभाव परेको छ । यहाँको गरिबी न्यूनिकरण, वित्तीय पहँुचमा वृद्धि, विस्तार, बैंक तथा वित्तीय पहँुचमा वृद्धि हुने देखिन्छ ।

अर्कोतर्फ यहाँको सक्रिय श्रमशक्तिको पलायन, सामाजिक तथा सांस्कृतिक विचलन, राष्ट्रभक्तिमा कमी, स्वदेशी सरकारप्रति अविश्वास, स्थानीय स्रोत, साधनको परिचालनमा कमी, आन्तरिक कृषि तथा औद्योगिक उत्पादनमा ह्रास, निरन्तर मूल्यवृद्धि उपभोगमुखी तथा विलासी जीवनशैलीमा बढ्दो आकर्षण, सम्बन्ध विच्छेद, पारिवारिक विछोड आदि विप्रेषणका नकारात्मक प्रभावहरु हुन् ।

आफू जन्मिएको भूगोल छाडेर अरु देशमा गइ काम गर्नुपर्ने बाध्यता संसारभर छ । खास गरी औद्योगिक क्रान्तिपछि परम्परागत कृषिमा निर्भर जनशक्ति विस्तारै उद्योगधन्दातर्फ लाग्न थाल्यो । औद्योगिक गतिविधि विस्तारले बैंक, वित्त, यातायात, सञ्चार, होटल, पर्यटन जस्ता अनेकौँ अर्थतन्त्रका आयाम विस्तार हुन थाले । यसले श्रमिकलाई काम खोज्नका लागि विकल्प देखिन थाल्यो र राम्रो कामका लागि संसारभर भाँैतारिनुपर्ने अवस्था आयो । नेपाल विगत दुईदशकदेखि विप्रेषणमा बढी निर्भर हुँदै गएको छ ।

यसको असर समयमै विश्लेषण गरी विकल्प खोजी गरिएन भने अर्थतन्त्र मात्र होइन, मुलुकको आर्थिक विकासमै अझ प्रतिकुल प्रभाव पर्न सक्नेछ । नेपालको अर्थतन्त्रमा विप्रेषणको निर्भरता निरन्तर बढ्दो क्रममा भएको देख्न सकिन्छ । आर्थिक वर्ष २०७८÷७९ मा विप्रेषण आप्रवाह दश खर्ब ३१ करोड रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको आँकडा हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ प्रतिशतले मात्र विप्रेषण वृद्धि भएको हो । विगत दश वर्षमा नेपालको विप्रेषण कम्तिमा पनि ६ प्रतिशतले बढ्दै आएको हो ।

बढीमा वार्षिक विप्रेषण ९÷१० प्रतिशतसम्म बढेको छ । कूल गाह्यस्थ उत्पादनमा ३० प्रतिशत हाराहारीको योगदान रहेको विप्रेषणले कृषि क्षेत्रलाई उछिनेको छ । यो तत्काल हेर्दा राम्रो देखिए पनि अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि गम्भीर हो । नेपालमा बर्सेनि मलेसिया र खाडी मुलुकमा जाने युवाको विप्रेषण आइरहेको छ । अमेरिका, क्यानाडा, अष्टे«लिया जस्ता देशमा गइरहेका युवाले अध्ययनका नाममा ठूलो धन उतै लगेका छन् ।

तिनीहरुबाट देश भित्रिने विप्रेषणमा ठूलो योगदान छैन र अझ कम हुँदै जानेछ । उताको सम्पत्ति बेचेर उतै जाने प्रवृत्ति बढ्दै छ । खाडी, मलेसिया, कोरियाबाट आउने विप्रेषण सधैँ नेपाली अर्थतन्त्रको दिगो माध्यम बन्न सक्दैन । देशभित्रै उत्पादन बढाउने नीति पैसाले फेरि विदेशी वस्तु तथा सेवा खरिद गरी अर्थतन्त्र चलाउने अहिलेको प्रवृत्तिमा आमूल परिवर्तन गर्नुपर्छ ।

करिब डेढदशक यता नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको रेमिट्यान्स अर्थात् विप्रेषण आम्दानीमा अझै पनि अत्यधिक निर्भर भइरहँदा अन्य क्षेत्रमा विकास हुन नसकेको कतिपय अर्थविद्हरुले चेतावनी दिँदै आएका छन् । पछिल्लो समय नेपालको अर्थतन्त्रमा नराम्रोसँग प्रभाव पर्ने अनुमान गरिएको छ । नेपालमा भएका उद्योगधन्दा बन्द हुँदै गइरहेका छन् । उद्योग क्षेत्रको विकास गर्दै रोजगारका अवसर सिर्जना गर्ने र नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने वातावरण समेत निर्माण गर्न सकेनाँै ।

आर्थिक कुटनीतिको विषय सिद्धान्तमा सीमित बनेको छ । मुलुकमा भ्रष्टाचार व्याप्त भइराखेको छ । सुशासनको दिशामा उल्लेखनीय सुधारका सङ्केतसम्म पनि अनुभूति गर्न सकिएको छैन । मुलुकमा राजनैतिक अस्थिरता छ । विप्रेषणबाट प्राप्त रकम र यसले पारेका समग्र प्रभावबाट दीर्घकालीन रुपमा देशलाई कस्तो प्रभाव पर्ला ? यो अस्थायी, प्रकृतिको स्रोतमा सङ्कुचन आउँदा देशले सामना गर्नुपर्ने समस्या बारेमा चिन्ता गर्न ढिला भइसकेको छ । नेपालमा वैदेशिक लगानीको वातावरण बन्न सकेको छैन ।

सबै आर्थिक क्षेत्रका सूचकहरु कमजोर हुँदै गर्दा पनि नेपालीको जीवनस्तरमा सुधार आउँदै गएको छ । यसको निर्णायक कारण वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण हो । यसले राष्ट्रिय अर्थतन्त्रमा केही हदसम्म तरलताको अभाव रोकेको छ । कूल गाह्यस्थ उत्पादनमा करिब एकतिहाइको योगदान विप्रेषणको रहेको छ । वैदेशिक मुद्राको सञ्चितिमा राम्रो योगदान पु¥याएको छ । भुक्तानी सन्तुलनमा उल्लेखनीय सुधार हुन सकेको छ ।

विप्रेषणबाट प्राप्त रकमले प्रतिव्यक्ति आयमा उल्लेखनीय सुधार गर्दै शैक्षिक विकासलगायत समग्र क्षेत्रको विकासका लागि सरकारलाई सहज अवस्था सिर्जना, सुविधा, पौष्टिक आहार, आवासको अवस्थामा सुधारका साथै शिक्षाको गुणस्तरमा समेत विकास हुँदै आएको छ । नेपाल पनि विप्रेषणको प्रभावबाट अलग रहन सकेको छैन । रोजगारका अवसर नगन्य हुँदै गएको अवस्थामा वैदेशिक रोजगारबाट अदक्ष र अर्धदक्ष जनशक्ति आफ्नो उर्जावान् जीवन विदेशी भूमिमा सेवारत रहन बाध्य बनेका छन् ।

नेपालमा विप्रेषण रकम नभित्रिएको भए अधिकांश परिवारको आर्थिक स्थिति दयनीय हुन्थ्यो । विदेशबाट आयात गरिँदै आएका अत्यावश्यक स्थिति कमजोर हुन्थ्यो । बेरोजगारी अझ बढ्थ्यो । सामाजिक विकृति बढ्ने सम्भावना हुन्थ्यो । देशमा पूर्वाधार विकासमा बाधा पुग्थ्यो । देशको राष्ट्रिय आय तथा गाह्यस्थ उत्पादनमा नकारात्मक प्रभाव पथ्र्याे । देशमा उद्योग शिक्षा, स्वास्थ्य सञ्चार, यातायात आदि सेवाहरुमा नकारात्मक प्रभाव पर्दथ्यो । देशको आर्थिक अवस्था दयनीय हुन्थ्यो ।

नेपालमा भित्रिएको विप्रेषण रकमको अधिकांश भाग उपभोगमा खर्च हुन्छ । यस कारण यसले मुलुकको आर्थिक विकासमा खेल्नु पर्ने जति भूमिका खेल्न सकेको छैन । विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा लगानी गरेमा यसले देशको आर्थिक स्थितिमा सुधार ल्याउँछ । विप्रेषण रकमलाई जनताको दैनिक आवश्यकताका वस्तुहरु उत्पादन गर्ने उद्योगहरुको स्थापनामा लगानी गर्नुपर्छ । यसले गर्दा देशको आयात घट्छ र बचत वृद्धि हुन्छ । विप्रेषण रकम युवा जनशक्तिलाई दक्ष, सीपयुक्त बनाउन तालिम दिन प्रयोग गर्नुपर्छ ।

यसबाट युवाजनशक्ति स्वरोजगारमा संलग्न हुन्छन् र विदेश पलायन रोकिन केही हदसम्म भए पनि सहयोग पुग्दछ । विप्रेषणको रकमलाई साना जलविद्युत आयोजनामा निर्माणमा उपयोग गर्न सकिन्छ । यसबाट उर्जाको सहज आपूर्ति भइ उद्योगहरु सहजरुपमा सञ्चालन हुन सक्दछन् । यसबाट पनि रोजगार सिर्जना हुन्छ । साहसिक पर्यटक तथा मनोरञ्जन केन्द्रको स्थापना लगानी गर्नाले पर्यटकहरु आकर्षित हुन्छन् र आय वृद्धि हुन्छ । स्वास्थ्य सेवा सुदृढीकरण, औषधी, निर्माण, जडिबुटी उत्पादन वृद्धि आदि कार्यमा पनि विप्रेषण रकम लगानी गर्न सकिन्छ ।

वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स स्थायी आयको स्रोत नभएकाले यसबाट दिगो आर्थिक विकासलाई टेवा पुग्दैन । देशको युवाशक्ति विदेशको विकासमा संलग्न हुँदा आफ्नो देशको प्रगतिमा बाधा पर्छ । परिवारको आय बढ्नाले विलासिताको वस्तु, उपयोग गर्ने प्रवृत्ति बढ्छ । आफ्नो काम गर्ने जाँगर घट्छ । विप्रेषणबाट प्राप्त रकमका आफ्नै प्रभाव र असर छन्, यस चुनौतीलाई चिरेर अघि बढ्नका लागि मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्ने, उद्योगधन्दा कलकारखाना स्थापना, गुणस्तरीय सीपमूलक शिक्षा, स्रोतसाधनको अधिक्तम परिचालन गर्न सक्नुपर्छ ।