प्रियास्मृती गजमेर
दाङ,३२ जेठ । लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक नोद नारायण चौधरीले असुरक्षित गर्भपतनबाट महिलाहरुको स्वास्थ्य जोखिममा रहेको बताएका छन् । उनले स्वास्थ्य जस्तो संबेदनसिल कुरासंग हेलचेक्र्याई नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।
औषधी व्यवसायी संघ दाङ शाखाको समन्वय र नेपाल परिवार नियोजन संघ दाङले बिहिवार लमहीमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्देशक चौधरीले सो कुरा बताएका हुन । ‘सुरक्षित गर्भपतन गराउन कानुनी मान्यता प्राप्त भएको जानकारी ४१ प्रतिशत महिलालाई मात्र छ । उनीहरु अझै पनि असुरक्षित तरिकाले शारीरिक सम्बन्ध राख्ने गर्दछन’,उनले भने,‘गर्भ रहिहालेमा आफुखुशी गर्भपतन गराउने जस्ता गलत कार्य गर्दा लुम्बिनी प्रदेशमा मृत्युदर बढ्दै गएको छ ।’
असुरक्षित गर्भपतन न्यूनीकरणका लागि परामर्श नै मुख्य विकल्प रहेको उनको भनाई थियो । विभिन्न जिल्लामा घटेका असुरक्षित गर्भपतनका घटनाको स्मरण गराउदै निर्देशक चौधरीले गर्भ रहि हालेमा महिलाका अभिभावकसंग समन्वय गर्ने, परामर्श गरेर उनिहरुको ज्यान जोगाउन सक्ने खालको स्वास्थ्यकर्मीले भुमिका खेल्न सक्नु पर्ने उनले बताएका थिए ।
सुरक्षित गर्भपतनका लागि सरकारी स्वास्थ्य संस्थामा लगानी गर्छ, तर धेरै काम निजि मेडिकलहरुले गर्ने भएकोले राज्यले संचालन गर्ने तालिमहरुमा निजि स्वास्थ्य संस्थालाई समेट्न अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
एक दिने अभिमुखिकरण
नेपाल परिवार नियोजन संघ दाङका शाखाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दाङ शाखाका प्रवन्धक वसन्त खनालले कार्यक्रमको विषयवस्तु माथी प्रकाश पारेका थिए ।
दाङ जिल्लामा रहेर औषधी व्यवसाय गर्ने व्यवसायीहरुका लागि सुरक्षित गर्भपतन सम्बन्धि कार्यक्रम गरिएको दाङ शाखाका प्रवन्धक बसन्त खनालले जानकारी दिएका छन् ।
असुरक्षित गर्भपतनले धेरै महिलाको ज्यान जाने गरेकाले उनिहरुले सहि समयमा सहि ठाउँमा पुर्याउनका लागि सल्लाह सुझाव दिनुपर्ने बताए । सुचिकृत भएका स्वास्थ्य संस्थामा मात्र सुरक्षित गर्भपतन गराउनु पर्ने उनको भनाई छ । महिलाको इच्छा विपरीत गर्भपतन गराए कानून लाग्छ ।
नेपाल औषधी व्यवसायी संघ दाङ शाखाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालय स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक नोद नारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रमको संचालन सचिव सुनिलकुमार रेग्मीले गरेका थिए ।