राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढाई सुरु

घोराही, ३२ जेठ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । स्थापना भएको ६ बर्षपछि प्रतिष्ठानले बि.ंएस.सी. नर्सिङ र बि.एन.एस. कक्षामा भर्ना भएका विद्यार्थीहरुलाई पठनपाठन सुरु गरेको हो ।

प्रतिष्ठानमा पहिलो बर्ष बि.एस.सी. नर्सिङ र बि.एन.एस.तर्फ २०÷२० जना विद्यार्थीहरु गरेर ४० जना भएका छन् । ४ बर्षीय बि.एस.सी. नर्सिङ र ३ बर्षीय बि.एन.एस. कक्षामा हरेक बर्ष १५ जना नेपाल सरकारको छात्रबृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने विद्यार्थीहरु भर्ना हुन पाउने व्यवस्था गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विकास लामिछानेले जानकारी दिएका छन् ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ असोज १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरिएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेसँगै नर्सिङ अध्ययन अध्यापनको चर्चा चलेपनि लामो समयसम्म अध्ययन हुन सकेको थिएन ।

प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणसँगै यस बर्षदेखि पठनपाठन सुरु भएको उपकुलपति प्रा.डा. लामिछानेले बताए । उपकुलपति डा. लामिछानेले भने,‘प्रतिष्ठान स्थापना भएको लामो समय भैसक्दा पनि शैक्षिक कार्यक्रमहरु संचालन हुन सकेको थिएनन् । जस्ले गर्दा पढाई हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । त्यही अन्योललाई चिर्दै हामीले पढाई सुरु गरेका छौ ।’

पूर्वाधार विकास अभावका कारण हालसम्म शैक्षिक कार्यक्रमअन्तर्गत बिं.एस.सी. नर्सिङ र बि.एन.एस कक्षा मात्रै सुरु गरेको भन्दै उपकुलपति डा. लामिछानले पूर्वाधार थप भएसँगै विशेषज्ञ चिकित्सक शिक्षा अध्ययन पनि सञ्चालन गर्ने बताए । प्रतिष्ठानका उपकुलपति प्रा.डा.लामिछानेले भने,‘विशेषज्ञ चिकित्सक शिक्षा अध्ययन कक्षा सञ्चालनका लागि हामीसँग भवन छैन । भवन निर्माणका लागि सरकारले बजेट बिनियोजन गरेको छ । प्रतिष्ठानको गुरुयोजना अनुसार ४ सय बेडको ८ तले भवन निर्माणसँगै एमविविएस कक्षा पठनपाठन सुरु गछौ ।’