खेमराज रिजाल
तुलसीपुर, ३० जेठ । अत्यधिक गर्मी बत्ती रुक्छ, अत्यधिक गर्मी धारामा पानी आउन रुक्छ । यसैगरी सोमवार विश्व बालश्रम विरूद्धको दिवस मनाइरहँदा तुलसीपुर उपमहानगरपालिकाको सभाहलको घडी रुकेको थियो । घडी किन रुक्छ, सायद मैले ठिक एक वर्ष अघि एउटा समाचार लेखेको थिएँ, जुनबेला तुलसीपुर उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधिहरू आएका थिए ।
म सधैँ त्यो सभाहलमा छिर्दिनँ, कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा निम्तो भएमा मात्रै जान्छु । यही क्रममा मैले त्यो घडी फेरि रोकिएको देखेँ । सूचना अधिकारीलाई सुझाएँ, व्याट्री सकिएर होला । किन फेरिएन व्याट्री ? उनले भने कसैको ध्यान नपुगेरै होला । किन ध्यान पुग्दैन ? अरु काममा व्यस्त भएर होला । यी सबै कुरा मलाई चित्त बुझेन । मलाई लाग्यो, तुलसीपुर झिनामसिना काममा अल्झँदैन, महात्वाकांक्षी काम पनि गर्न सक्दैन ।
सायद अघिल्लो स्थानीय तहको नेतृत्वले बोकाएको ६० करोडको दायित्व तिर्नै तुलसीपुरलाई हम्मे–हम्मे परेको छ । पोहर साल त राजस्व कम उठ्यो रे । यसपालि त त्यो भन्दा पनि निकै कम । खर्च यतिसम्म बढ्यो कि एक महिनामा इन्धनमा कति खर्च भयो भनेर सोध्दा लेखा प्रमुख नाजवाफ हुन्छन् । सूचनाको हक मागेर आवेदन गरे पनि थामथुम पार्न खोज्छन् । सादय तुलसीपुर उपमहानगरपालिकाले सबैभन्दा बढी खर्च गरेको छ भने त्यो सवारी इन्धनमा हो । यो अघिल्लै पालाका जनप्रतिनिधिले सिकाएको हो ।
इन्धनमा महिनामै लाख खर्च नघाउने उपमहानगरपालिकाले घडीको ब्याट्री फेर्नेमा किन ध्यान नदिएको होला ? मलाई अनायास लेख्न मन लाग्यो, सायद घडीको समयमा तुलसीपुर चल्दैन, अग्रगामी छलाङको भाषण दिन्छ । घनश्याम पाण्डेको स्मार्ट सिटी, स्पोर्ट सिटी अनि टरिगाउँ विमानस्थललाई पाइलट ट्रेनिङ सेन्टरको दिवा सपना, सातैभरि चलेको विमान सेवा सातामा एक दिन खुम्चिएको छ । स्यानी कराएर मात्रै के गर्ने उपमहानगरपालिकाको घडीले सही समय दिन सकेको छैन ।
तुलसीपुरले डम्पिङसाइटका लागि उपयुक्त स्थल खोज्नै सकेको छैन अनि औद्योगिक ग्रामको संरक्षण गर्नै ससकेको छैन । यावत समस्या त ठुला समस्या हुन् तर घडीको ब्याट्री फेर्न नसक्ने उपमहानगरपालिकाले अरु के स्मार्ट परिकल्पना गर्ने ?
सायद अब तुलसीपुर उपमहानगरपालिकाको साविकको सभाहलको घडी उल्टो चल्नेछ । किनकि रोकिए पछिको गन्तव्य उल्टो चल्ने न हो । त्यो घडीमा लाग्ने ब्याट्री डबल ए साइजको हो । बजार मूल्य दश रूपैयाँ । इन्धनमा लाख रूपैयाँ खर्च गर्न कुनै हिच्किचाहट नगर्ने उपमहानगरपालिकाको सभाहलको घडी रोकिनुको आशय पनि यही हुनसक्छ, अब सानातिना काम तुलसीपुरले गर्ने छैन । ठुला काम मात्रै गर्नेछ ।
त्यही भएर दुई वर्ष अघि एक करोडभन्दा माथि प्रतिवडा बजेट दिने तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलाको दायित्व तिर्नमै अभ्यस्त रह्यो । आगामी आर्थिक वर्षका लागि प्रतिवडा १८ लाख रूपैयाँ बजेट मात्र । १८ लाखले कुनै भौतिक निर्माण हुन सक्दैन, कतै पुलपुलेसा हुन सक्दैनन् । त्यो बजेट त मानव संसाधनमै खर्च हुनेछ ।
नगरबासीले तिरेको कर चुक्ता नगरबासीलाई गर्नुपर्ने होइन र ? यदि त्यस्तो अभियानमा उपमहानगरपालिका छ भने सबैभन्दा पहिले आफ्नै कार्यालयको सभाहलको घडीमा ब्याट्री फेरेर आफू अघि बढिरहेको सङ्केत दिन सकोस्, जसरी घडी कहिल्यै व्याक हुँदैन, इन्धन नपाएर रोकिन्छ मात्रै तर तुलसीपुर उपमहानगरपालिकाको बजेटलाई हेर्दा त्यो घडी सायद उल्टो चल्नेछ ।
यसले बालबालिकालाई कुन शीर्षकबाट सम्बोधन गर्ने, महिलालाई कुन शीर्षकबाट सम्बोधन गर्ने, अल्पसङ्ख्यक र थपिएका अपाङ्गता भएकालाई कसरी सम्बोधन गर्ने ? स्मार्ट छोरीको खातामा हाल्ने पैसा खोइ ? सुत्केरी खर्च खोइ ?, यी यावत समस्याले तुलसीपुर उपमहानगरपालिकालाई थप कठिन छ । किनकि तुलसीपुर उपमहानगरपालिकाले अझै पनि आन्तरिक राजस्वको स्रोत बढाउन कुनै पहल गर्न सकेन । नदीजन्य पदार्थ जनप्रतिनिधिको बाहुल्यताका आधारमा खुलेआम राजस्व नलिइ आयोजनामा प्रयोग भइरहेका छन् । यो अवस्था जारी रह्यो भने अर्को वर्ष तुलसीपुर उपमहानगरपालिकाको घडी रोकिने मात्रै छैन, उल्टो घुम्नेछ ।
मैले यो समाचारको परिकल्पना गरिरहँदा विश्व बालश्रम विरुद्ध दिवसको प्रवचनमा थिएँ । त्यसो त तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको दिवसमा तुलसीपुर उपमहानगरपालिका लगायतका निकायले बालश्रम उन्मुलन गर्न प्रतिबद्धता जनाए । यातायात व्यवसायी सुरेश हमाल कार्यक्रम आयोजकमध्येका एक थिए । उनले कार्यक्रममा गहन अभिव्यक्ति दिए । बालश्रम उन्मुलनका लागि राज्यको विशेष पहलको पनि उनले स्वागत मन्तव्यकै क्रममा ओकले ।
आफू अध्यक्ष रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले हरेक वर्षको साधारणसभामा एकजना विपन्न बालबालिकालाई १० कक्षासम्म पनि निःशुल्क शिक्षा दिने प्रतिबद्धता मात्रै जनाएन, यस अघि पनि कार्यान्वयनमा ल्याइसकेका छन् । बालश्रमको मुद्दालाई स्थानीय निकाय मात्रै नभएर स्थानीय सरकारले सहजीकरण गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा बालश्रमिकको सङ्ख्या घट्दै गएको बताइए पनि समग्रमा भने बालश्रमिकको अवस्थामा सुधार आएको छैन । होटल व्यवसायमा लुकिछिपी बालबालिका श्रममा छन्, यातायात व्यवसायमा पनि छन्, अनि इट्टाभट्टामा त बालबालिका मात्र होइन, चल्ला बाख्रा समेत लिएर परिवारै श्रममा आउने गरेका छन् । यसलाई कुन सरकारले सम्बोधन गर्ने ? बालश्रम विरुद्धको दिवसको प्रमुख चुनौती यही हो ।
सोमवार विश्व बालश्रम विरुद्वको दिवस दाङ सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ‘सबैका लागि सामाजिक न्याय ः बालश्रमको अन्त्य’ भन्ने मूल नाराका साथ तुलसीपुरमा पनि बालश्रम विरुद्धको दिवस मनाइएको छ । कार्यक्रममा बाल अधिकारकर्मी नवराज लामिछानेले विगतको तुलनामा श्रमिक बालबालिकाको सङ्ख्या घटेको पाइएको बताए । उनले तुलसीपुरमा कूल जनसङ्ख्या १ लाख ६९ हजार ७ सय ५५ मा करिब ३५ प्रतिशत बालबालिका रहेको बताए ।
त्यस्तै हाल सोही कार्यक्रमअनुसार २०१८ को तथ्याङ्कमा जम्मा ३७ जना बालश्रमिक भेटिएकोमा विभिन्न सरोकारवालाको सक्रियतामा पारिवारिक तथा सामाजिक पुनःस्थापना गरिएको उनले बताए । त्यस्तै अहिले तुलसीपुरमा बालश्रमको अवस्था हेर्दा तुलसीपुर उपमहानगरपालिका युनिुसेफ नेपाल, विभिन्न वडा कार्यालय र अन्य सरोकारवालाको सहयोगममा तुलसीपुर उपमहानगरपालिकाभित्रका वडा नं. ६, २, १, १८ र १६ गरी ५ वटा वडा बालश्रममुक्त घोषणा भइसकेका छन् । अब तुलसीपुर उपमहानगरपालिका बालमैत्री नगरोम्मुख रहेको बताइएको छ । हालसम्म देशभर ६ वटा स्थानीय तहमा मात्र बालमैत्री घोषणा भएको छ तर उनले परिकल्पना गरेजस्तो स्थानीय सरकार छैन ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा, त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुर, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसिपिसी)को संयुक्त आयोजना भएको कार्यक्रममा बोल्ने वक्ताले स्थानीय सरकार आएसँगै श्रममा लाग्ने बालबालिकाको पहिचान गर्न सहज भएको बताएका छन् । उनीहरूले वडा कार्यालयको सहयोगमार्फत् भेटिने श्रमिक बालबालिकाको पहिचान गरी घरपरिवारमा पुनःस्थापन गर्ने वा विभिन्न संघसंस्थाको सहकार्यमा संरक्षण गर्ने गरेका कारण पनि अहिले होटेल, यातायात, इट्टाभट्टालगायतका क्षेत्रमा बालबालिकाको प्रयोग निकै कम भएको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले अनाथ तथा बेसहारा बालबालिकाको सुनौलो भविष्यको लागि राज्यले अभिभावकत्व बहन गर्नसके जो कुनै बालबालिका श्रमममा लाग्न बाध्य नहुने बताइन् । कार्यक्रमको सहजीकरण नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसिपिसी) का महासचिव नानीमैया वलीले गरेकी थिइन् । जब रोकिएको घडी उल्टो चल्ने दिशामा छ, यी सबै अधिकार सुनिश्चित होलान् ?