गोरक्ष समाचारदाता
दाङ, ३०जेठ । जिल्लाका औषधी व्यावसायीलाई सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखीकरण गरिएको छ । नेपाल परिवार नियोजन सङ्घ दाङको आयोजना तथा औषधी व्यावसायी सङ्घ दाङ जिल्ला शाखाको समन्वयमा कार्यक्रम भएको हो । सुरक्षित गर्भपतन गराउन औषधी व्यवसायीहरूको पनि महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूलाई अभिमुखीकरण गरिएको हो ।
औषधी पसलबाट औषधी लगेर असुरक्षित रूपमा गर्भपतन गराउन सक्ने भएकाले व्यवसायी सचेत हुनुपर्ने नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा प्रबन्धक बशन्त खनालले बताए । सानो कमजोरीले ठूलो समस्या आउनसक्ने भएकाले सचेत हुनुपर्ने उनको भनाइ रहेको थियो । औषधी पसलमा आउनेलाई सुरक्षित रूपमा गर्भपतन गराउन सम्बन्धित ठाउँमा पठाएर सहयोग गर्न समेत उनले आग्रह गरे ।
‘मान्यता प्राप्त स्वास्थ्य संस्थामा पठाउन तपाईँहरूको महत्वपूर्ण भूमिका रहन्छ’, उनले भने । असुरक्षित रूपमा गर्भपन गराउँदा विभिन्न प्रकारका समस्या हुने भएकाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनु पर्ने उनको भनाइ छ । जिल्लामा ७ वटा स्वास्थ्य संस्थालाई सुरक्षित गर्भपतन गराउन मान्यता प्राप्त गरेका छन् । गर्भपतन गराउनेमध्ये सबैभन्दा बढी निजी क्षेत्रमा गराउने गरेको खनालले बताए ।
निजी क्षेत्रमा ३६.३ प्रतिशत, गैरसहकारी क्षेत्रमा ३४.४ प्रतिशत, सरकारी निकायबाट १८.७ प्रतिशत, घरमा ९.७ र अन्यमा १.४ प्रतिशतले गर्भपतन गराउने गरेको उनले जानकारी दिए । गर्भपतन गराउनुका कारणमध्ये बच्चाको चाहना नभएर २० प्रतिशत, श्रीमान् वा यौन साथी बच्चा नचाहेर १२ प्रतिशत, जन्मान्तरको लागि १० प्रतिशत, गर्भधारण ढिलो चाहाना ७ प्रतिशत, स्वास्थ्यका कारण १२ प्रतिशत र बच्चाको स्याहारसुसारका लागि पैसा नभएर १२ प्रतिशतले गर्भपतन गर्ने पाइएको प्रबन्धक खनाल बताउँछन् ।
महिलाको १२ हप्ता भित्रको अनिच्छत गर्भ, बलात्कार तथा हाडनाता करणी भएर रहेको १८ हप्ता सम्मको गर्भ, बच्चा अपाङ्ग हुने अथवा आमालाई गम्भीर शारीरिक तथा मानसिक स्वास्थ्य जोखिम भएको अवस्थामा योग्य चिकित्सकको राय भएमा जुनसुकै अवधिको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरिएको छ ।
गर्भवती महिलाको स्वीकृतिबिना करकाप, धम्की, ललाइफकाइ वा प्रलोभन दिई गरेमा, गर्भपतन गर्ने उद्देश्यले भ्रुणको लिङ्ग पहिचान गरी गरेमा, गर्भपतन गर्ने कानुनले तोकेको अवधि र अवस्थामा बाहेक अन्य अवस्थामा गर्भपतन गराएमा सजाय हुने व्यवस्था रहेको समेत प्रबन्धक खनालले बताए ।
औषधीको प्रयोगद्वारा गर्भको अवधि ९ हप्ताभन्दा कम छ भने महिलाको इच्छाअनुसार औषधीको प्रयोग गरेर, उपकरणको प्रयोगद्वारा, गर्भको अवधि १२ हप्तासम्म भएमा महिलाको इच्छाअनुसार प्रविधिद्वारा र गर्भको अवधि १२ हप्ताभन्दा बढी भएमा महिलाको इच्छा र चिकित्सकको रायअनुसार कानुनले तोकेको अवस्थामा मात्र यी दुईमध्ये कुनै एक प्रविधिद्वारा गर्भपतन गराउन सकिने व्यवस्था छ ।
पछिल्लो समय सुरक्षित गर्भपतनभन्दा पनि असुरक्षित गर्भपतन गराउनेहरूको सङ्ख्या बढ्दै गएको बताइएको छ । सचेत समुदायबाटै यस प्रकारको कार्य हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ रहेको छ । डा अमिद लामगादेले आकस्मिक रूपमा खाने औषधीलाई नियमित बनाउन नहुने बताए । पछिल्लो समय आकस्मिक रूपमा प्रयोग गर्ने औषधीलाई नियमित बनाउने गरेको पाइएको उनको भनाइ थियो । असुरक्षित गर्भपतन गराउन आफै औषधी किनेर खाने गरेको पाइएको समेत उनले बताए । यस प्रकारको व्यवहार परिवर्तन हुनुपर्ने बताए ।
औषधी आफै किनेर खाने र समस्या देखापरेपछि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताए । गर्भपतन गराउनै परे पनि सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनु पर्ने उनी बताउँछन् । औषधी व्यवसायी सङ्घ दाङ जिल्ला शाखाका सचिव सुनिलकुमार रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रम औषधी व्यवसायी सङघ दाङ शाखाका जिल्ला अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।