गोरक्ष समाचारदाता
दाङ, २० जेठ । महिलाहरूको प्रजनन् स्वास्थ्य अझै पनि जोखिममा छ । ओरेक दाङ र नेपाल परिवार नियोजन संघ दाङले संयुक्त आयोजना तथा शान्तिनगर गाउँपलिकाको सहयोगमा भएको स्वास्थ्य शिविरको प्रतिवेदनले महिलाहरूको प्रजनन् स्वास्थ्य जोखिममा रहेको देखिएको हो ।
स्वास्थ्य शिविरमा परीक्षण गरिएका ३ सय ४१ जनामध्ये अधिकांश महिलाको पाठेघरको मुख सुन्निएको, पाठेघरको मुखमा घाउ, योनी चिलाउने, संक्रमण, रगत बग्ने, पाठेघरको डिग्री झरेको, तल्लो पेट दुख्ने, सेतोपानी बग्नेलगायतका समस्या अधिकांश महिलामा देखिएको ओरेक नेपाल रुकुम पश्चिम जिल्ला संयोजक दीपा धितालले बताइन् । आयोजक संस्थाहरूले शुक्रवार घोराहीमा महिला स्वास्थ्य प्रजनन्सम्बन्धी अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेर स्वास्थ्य शिविरको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
स्वास्थ्य शिविरमा ३ सय ४१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ५७ जनाको पाठेघरको मुख सुन्निएको पाइएको छ । यसैगरी ४९ जनामा पाठेघरको मुखमा घाउ भएको, २८ जनामा योनी चिलाउने, संक्रमण भएको, ग्याष्ट्रिक २० जनामा, १६ जनामा पिसावको संक्रमण भएको, ३ जनामा रगत बग्ने समस्या, ९ जनामा पाठेघरको पहिलो डिग्री झरेको, ६ जनामा पाठेघरको दोस्रो डिग्री झरेको, ७ जनामा पाठेघरको तेस्रो डिग्री झरेको, १६ जनामा महिनावारी गडबडी, १६ जनामा दुखाइ र ३७ जनामा सेतो पानी बग्ने समस्या भएको पाइएको धितालले जानकारी दिएकी छन् ।
यसैगरी १६ जनामा ढाड कम्मर दुख्ने, २१ जनामा तल्लो पेट दुख्ने, २१ जनामा जोर्नी दुख्ने, १४ जनामा मानसिक स्वास्थ्य समस्या, २ जनामा रक्त अल्पतासम्बन्धी समस्या र १९ जना महिलामा अन्य समस्या देखिएको थयो । ३ सय ४१ जनामध्ये शान्तिनगरको धनौरीमा १ सय ९० र नयाँबस्तीमा १ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
ओरेककी जिल्ला कार्यक्रम संयोजक पद्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी नीतिगत रूपमा व्यवस्था भए पनि कार्यान्वयनमा नहुँदा अहिले पनि महिलाहरू रोग पालेर बस्नुपर्ने बाध्यता रहेको बताएका थिए । उनीहरूले स्थानीय सरकारको नेतृत्वमा बस्नेहरूले महिलाहरूको प्रजनन् स्वास्थ्यको सवालमा गम्भीर बन्न नसकेको बताएका छन् । महिलाहरूलाई समुदायमा प्रारम्भिक स्वास्थ्य सेवा तथा सूचना प्रदान गर्ने उद्देश्यले एकीकृत स्वास्थ्य शिविर गर्ने गर्दै आएको परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन् ।
मेलाको माध्यमबाट महिलाहरूलाई शारीरिक, मानसिक र समाजिक रूपमा कसरी स्वस्थ रहन सकिन्छ भन्ने विषयमा सहयोग पु¥याउनुका साथै सूक्ष्म रूपमा महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्रभाव पार्ने तत्वहरूको उजागर गर्ने एकीकृत प्रजनन् स्वास्थ्य मेलाले काम गर्ने गर्दछ । स्वास्थ्य उपचार सेवा नपाएकै कारण ज्यान गुमाउनु परिरहेको छ । सुरक्षित मातृत्व सेवा, अतिआवश्यक औषधीको निःशुल्क व्यवस्था, २४सै घण्टा प्रसुती सेवा, परिवार नियोजनका साधनको बारेमा परामर्श तथा प्रयोग जस्ता सेवाहरूको नेपाल सरकारले नीतिगत व्यवस्था गरे तापनि प्रभावकारी कार्यान्वयन नहुँदा ग्रामीण क्षेत्रका महिलाहरू अझै पनि महसुस गर्न नपाएको अवस्था छ ।
यौन तथा प्रजनन् स्वास्थ्य समस्या बारेमा खुलेर कुरा व्यक्त गर्न नसक्ने, लुकाएर राख्दा पाठेघर, स्तनको क्यान्सर भइ ज्यान गुमाउनुपर्ने जस्ता समस्या हुन्छन् । महिलाको यौन तथा प्रजनन् स्वास्थ्य र मानसिक स्वास्थ्य समस्या सामाधानका लागि सहजीकरण गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा ओरेक नेपालकी सुनिता मैनाली, पत्रकार शरद अधिकारी, लक्ष्मी आचार्य, बसुन्धरा गौतम, परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनाललगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विन्दु शर्माले गरेकी थिइन् ।