रोजगार मेला, परामर्शदेखि स्थानीय उत्पादनसम्म

गोरक्ष समाचारदाता
दाङ, २० जेठ । घोराहीमा सञ्चालन गरिएको रोजगार मेलामा परामर्शदेखि स्थानीय उत्पादनसम्म प्रदर्शनी गरिएको छ । मेलामा आउनेहरूले परामर्श लिनुका साथै स्थानीय उत्पादन समेत अवलोकन तथा खरिद गरेका थिए । अल्लोका सामग्री एवम् अचार, मस्यौरा, सिन्की, मासुको अचार समेत राखिएको थियो । स्थानीय उत्पादन कसरी भइरहेका छन् । सम्भावना कस्तो छ भनेर सहभागीले जानकारी समेत लिएका थिए ।

घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाको तथा रोजगार सेवा केन्द्र घोराहीको आयोजनामा एकदिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिएको थियो । मेलाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले रोजगार खोजी गर्ने र रोजगार प्रदान गर्नेहरूलाई जोड्न यस प्रकारको कार्यक्रमले सहयोग पु¥याउने बताए । उनले युवाहरू सीप सिकेर उद्यमशीलतामा जोडिनुपर्ने बताए । ‘सीप सिकेर उद्यमी बन्न लाग्नु पर्छ’, उनले भने, ‘रोजगारीका लागि युवा जनशक्ति विदेशिने गरेको भन्दै यसलाई रोक्न यस्ता कार्यक्रमले सहज पु¥याउने छ ।’

अहिले पनि दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको भन्दै युवाहरूलाई सीप प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्न लाग्नुपर्ने बताए । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले स्वदेशमै धेरै रोजगारका अवसरहरू रहेको बताए । यसको सदुपयोग गरेर अगाडि बढ्न समेत उनले आग्रह गरे । ‘रोजगारका लागि विदेशिने मात्र नभइ स्वदेशको सम्भावनाको सदुपयोग गर्न सक्नुपर्छ’, नगर प्रमुख चौधरीले भने ‘यसका बारेमा सचेत गराउन जरुरी छ ।’ मेलाले जिल्लामा रोजगारको अवसरको बारेमा जानकारी लिन सहयोग पु¥याउने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले दैनिक युवाहरू विदेशिने क्रम बढेको भन्दै यसलाई रोक्न लाग्नुपर्ने बताए । युवाहरूलाई सीप सिकाएर स्वदेशमै रहने वातावरण बनाउनु पर्ने बताए । सीप र गुणस्तरीय शिक्षा प्राप्त गरेमा विद्यार्थीहरू हरेक क्षेत्रमा बिक्न सक्ने उनको भनाइ थियो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डे, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, क्यान महासंघका अध्यक्ष माधव अधिकारी, निर्मला मैनालीलगायतले भनाइ राखेका थिए ।

कार्यक्रम नगर प्रमुख चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सामाजिक विकास महाशाखाका विपना बर्तौलाले गरेकी थिइन् । मेलामा ३० वटा स्टल राखिएका थिए । मेलामा वृत्तिविकाससम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र तालिम बारेमा जानकारी दिने रोजगारसम्बन्धी सूचना दिनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिने, रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनको समेत प्रदर्शनी गरिने, विद्यार्थी तथा युवाहरूले वृत्ति परामर्श सेवा प्राप्त गर्ने अपेक्षा सहित मेला आयोजना गरिएको हो ।

बेरोजगार युवाहरूले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने, उद्योग तथा व्यवसायीले उपलब्ध ज्ञान शक्तिबारे जानकारी पाउने, बेरोजगार युवाहरूले स्थानीय स्तरमा रहेका उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसर बारेमा जानकारी पाउने, तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमूलक तालिम र अवसरको जानकारी पाउने अपेक्षा सहित मेलाको आयोजना गरिएको आयोजकको भनाइ रहेको थियो । मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो । आयोजकले लक्ष्यअनुसार कार्यक्रम सफल भएको दाबी गरेको छ ।