शैक्षिक सुधारका लागि घोराही–१५ द्वारा पहल

दाङ, १७ जेठ । वडामा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि घोराही उपमहानगरपालिका वडा नं १५ ले प्रयास थालेको छ । वडा कार्यालयले विद्यालयको अवस्था पहिचानसँगै विद्यालयमा रहेका समस्याहरु समाधानका लागि वडामा रहेका विद्यालयहरुको बारेमा जानकारी लिएको छ ।

जनप्रतिनिधि, वडाका प्रशासनका कर्मचारी, विद्यार्थी संघसंगठनका प्रतिनिधि, पत्रकारहितको टोली बुधवार घोराहीमा रहेका सरस्वती माध्यामिक विद्यालय काठेकोहल, शान्ति निकेतन स्कुल र ज्यातिपुञ्ज बोर्डिङ स्कुलमा पुगेर विद्यालयको अवस्थाका बारेमा जानकारी लिन सुरु गरेको छ ।

वडामा रहेका विद्यालयहरुको कस्तो अवस्थामा सञ्चालन भइरहेका छन् भनेर जानकारी लिन सुरु गरिएको घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा सदस्य तथा अनुगमन समितिका संयोजक लेखनाथ वुढाथोकी (उत्तम) ले जानकारी दिएका छन । ‘विद्यालयका आधारभूत आवश्यकताहरु पुरा हुन सकेका छन कि छैनन’, वडा अध्यक्ष बुढाथोकीले भने,‘त्यसबारेमा बुझ्ने र सुधाका लागि प्रयास गर्ने उद्देश्य अनुसार अनुगमन सुरु गरेका छौ ।’ विद्यालयमा नै पुगेर अध्ययन गर्दा विद्यालयको वास्तविक अवस्था आउने भएकाले अनुगमन गर्न सुरु गरिएको छ ।

वडा कार्यालयवाट हुन सक्ने काम, वडावाट गरिने, वडावाट हुन नसक्ने काम उपमहानगरपालिका तथा अन्य निकायसंग सहकार्य गरेर भएपनि शैक्षिक गुणस्तर सुधारका लागि प्रयास गरिने उनल ेबताएका छन् । वडामा रहेका सम्पूर्ण विद्यालयहरुको अनुगमन गरिसकेपछि योजना वनाएर अगाडि वढने वडा कार्यालयको भनाइ रहेको छ ।

अनुगमनका क्रममा सामुदायिक विद्यालयहरुमा सन्तोषजनक अवस्था नपाइएको संयोजक वुढाथोकीले बताए । ‘अनुगमनका क्रममा संस्थागत विद्यालयहरुको अवस्था ठिकै पाइएको छ । तर सामुदायिक विद्यालयहरुमा आधारभुत आवश्यकता पनि पुरा हुन नसकेको देखियो’,वडा सदस्य बुढाथोकीले भने,‘यसरी शैक्षिक गुणस्तर वृद्धि हुन सक्दैन ।’ त्यसैगरी प्रयाप्त खेल सामग्री नभएको, सौचालयको अवस्था नभएको अनगुमनका क्रममा पाइएको थियो ।

अनुगमन टोलीले विद्यालयको सरसफाइको अवस्था, बालमैत्री शौचालय भए नभएको, छात्रामैत्री शौचालय भए नभएको, अपाङगमैत्री शौचालय भएनभएको, आराम कक्ष भएको नभएको, प्राथमिक उपचार कक्ष, स्वास्थ्य स्वयसेवक भए नभएको, खेलकुद सामग्री, खेल मैदान, प्रशिक्षक भएनभएको, सूचना वोर्ड, सहायता कक्ष भएनभएको, अतिरिक्त क्रियाकलाप हुने गरेनगरेको विषयमा अनुगमन गरिएको हो ।

त्यसैगरेर सुझाव तथा गुनासो पेटी भएको वा नभएको, चमेना गृह भए नभएको, पिउने पानी भएको नभएको, छात्रवासको व्यवस्था भएको नभएको, छात्रबृतिको अवस्था तथा पुस्तकालको व्यवस्था भएको वा नभएको लगाएतका विषयमा विद्यालयमा अनुगमन गरिएको संयोजक वुढाथोकीले बताए ।

अनुगमनमा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गिरवहादुर महरा, अखिल विप्लवका प्रतिनिधि दीपक केसी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका मुस्कान पोख्रेल, वडा कार्यालयका प्रशासन प्रतिनिधि आशकुमार रानालगायतको सहभागीता रहेको थियो । वडा कार्यालयले अनुगमनलाई निरन्तरता दिने भएको छ ।