नदीजन्य पदार्थको दोहन : पालिका घेर्न पुगे स्थानीय
प्रियास्मृति गजमेर
लमही, १७ जेठ । स्थानीयले राजपुर गाउँपालिका कार्यालय घेराउ गरेका छन् । नदीजन्य वस्तुको अवैध उत्खनन् कार्यमा गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले संरक्षण गरेको आरोप लगाउँदै स्थानीयले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
नदीजन्य पदार्थको उत्खनन् बन्द गर, विधिको शासन, सुशासन कायम गर, अवैध रूपमा उत्खनन् भएको नदीजन्य पदार्थको राजस्व जम्मा गरलगायतका माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए । ‘अवैध उत्खनन् रोक्नुको साटो संरक्षण गरिएको छ’, स्थानीय लेखराज डाँगीले भने, ‘गाउँपालिकाका जनप्रतिनिधिले सुशासन कायम गर्न सकेनन् ।’ गाउँपालिका घेराउ गर्न वडाध्यक्ष र कार्यपालिका सदस्य समेत पुगेका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि गाउँपालिका घेराउ गर्न पुगेका हुन् । गाउँपालिका घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । स्थानीयले पालिकामा ताला लगाउन खोजेका थिए तर प्रहरीले रोक्न खोजेको थियो । पालिकामा बिहानैदेखि प्रहरीले सुरक्षा दिएको थियो । पालिकाले राप्ती नदीको विभिन्न घाटबाट लाखौँ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको स्थानीयको आरोप छ । जथाभावी उत्खनन्मा पालिका अध्यक्षको संलग्नता भएको आरोप स्थानीयको छ । स्थानीयले जनप्रतिनिधिको विरोधमा नाराबाजी समेत गरेका थिए ।
पालिकाको मुख्यद्वारबाट भित्र पस्न प्रहरीले रोकेपछि प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो । राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले इआई गरेको स्थानभन्दा बाहिर गएर उत्खनन् गराएको, उत्खनन् गरी डम्पिङ नगराइ सिधै क्रसर कम्पनीमा लागेको, १८ हजार घनमिटरबाट नदी जन्यपदार्थ निकाल्नु पर्ने ठाउँमा त्यो भन्दा तेब्बर ढुङ्गागिट्टी निकाली राज्यलाई कर छली कार्य गरेको जस्ता स्थानीयले आरोप छ ।
राजपुर गाउँपालिका–२ बेलाका गोविन्द विक र वडा नं. ५ का लेखराज डाँगीले नदीजन्य पदार्थको सत्य–तथ्य कुरा बाहिर ल्याउनु पर्ने माग गरे । ‘हाम्रो माग सुनुवाइ भएन भने हामी चरणबद्ध तरिकाले आन्दोलन गछौँं’, डाँगीले भने, ‘सार्वजनिक पद धारण गरेर जनताको सेवा गर्न पुगेका जनप्रतिनिधि आफै अवैध काम गर्न हुन्छ या हुँदैन ?’
पालिका अध्यक्षले जथाभावी राप्ती नदीमा जेसिभी प्रयोग गरी उत्खनन् गरेको, मापदण्डभन्दा बढी उत्खनन् गरी सार्वजनिक पदको दुरूपयोग गरेको जस्ता आरोप स्थानीयले लगाएका छन् । मटेरिया घाटबाट उत्खनन् भएको सबै नदीजन्य पदार्थको नापजाँच गरेर राजस्व जबसम्म पालिकामा जम्मा हुँदैन तबसम्म आन्दोलन जारी राख्ने स्थानीय भीम वलीले बताए । राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले नियम भन्दा बाहिर गएर कुनै पनि काम नभएको दाबी गरेका छन ।
नदीजन्य वस्तुको उत्खनन्को ठेक्का वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टको आधारमा लगाइएको र कतै बदमासी नभएको जिकिर गरे । गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवले आन्दोलनको कुनै अर्थ नभएको बताइन् । ‘आफै कार्यपालिकामा बसेर निर्णय गर्ने अनि अहिले आफै यो भएन त्यो भएन भनेर बखेडा निकाल्नु भनेको कसैको बहकाउमा लागेको प्रष्ट छ’ उनले भनिन्, ‘हामीले इआई गरेर ठेक्का लगाएर नदीजन्य पदार्थ निकालेका छौँ, पालिकाले सबै काम वैधानिक तरिकाले गरेकोले यो जनताको आँखामा छारो हालेर आन्दोलनमा सहभागी गराउनु मूर्खता हो ।’