मेरो खुशी : जनप्रतिनिधि बन्दा …
जीवन भोग्नेलाई नै थाहाँ हुन्छ । कहीले जीवनसँग हिड्दा पहाडले थेच्छ, भने कहिले पहाडको चुचुरोमा पुगीन्छ । पहाडले थिच्दा मन नै दुःख छ । पहाड काटेर चुचोरोमा पुग्दा बेग्लै अनुभव …। सम्भवत २०७३ वैशाख २६ मा उनको जीवनमा ब्रजपात नै आयो । २०४६ फागुनमा विवाह गरेर ल्याएकी श्रीमतीको निधन भयो । त्यसले उनको जीवन केही समय अध्यारो नै भयो । तर वितेको कुरा सम्झेर बस्दा त्यसको अर्थ छैन ।
सायद उनले पनि त्यही बाटो नै रोजे । जीवनलाई फेरि आफ्नै लयमा चलाउन थाले । सायद त्यही भएर कहिले काही मुड चलेको बेला रंगीन र प्रेमिल समेत हुने गरेका छन । उनी भन्छन्, ‘जीवन भोगेर जिउने हो । भोगेर जिएको जीवन बेग्लै आनन्द हुन्छ ।’ गढवा गाउँपालिका वडा न १ को जेठानगाउँमा २०२५ साल मंसिर १५ मा जन्मेका देविलाल थारु कुमालको आफनै पहिचान छ । भन्नेहरू के भन्छन त्यो भन्नेलाई थाहा होला तर जनताले उनको साथ छोडेका छैनन् ।
२०५४ सालदेखिका उनी निरन्तर जनप्रतिनिधि हुन् । जनताको यो अगाढ माया मेरो सबैभन्दा खुसी र आनन्दको क्षण हो’, मंगलवार यो पंक्तिकारसँग गफिँदै भने, ‘जनताको यो माया नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो ।’ जब चुनाव आउँछ गाउँलेहरू उम्मेदवार हुनुपर्छ भनेर खोज्दै आउँछन् र उम्मेदवार बन्नको लागि ऊर्जा दिएर जान्छन् अनी ब्यालेट बक्समा मत समेत दिने गरेको बताए ।
२०५४ सालमा साविक गोवर्डिहा गाविसअन्तर्गत् वडाध्यक्ष भएर राजनीतिमा छिरेका कुमाल कहिलेसम्म पनि पराजय भोगेका छैनन् । २०७४ सालको स्थानीय तहको चुनावमा गढवा गाउँपालिका वडा नं. १ को वडा सदस्यमा उम्मेदवार भए । त्यो बेला पनि उनले च्ुनाव जिते । वडा सदस्य भएर चुनाव जितेका कुमाल चुनाव जितेर वडामा मात्र सीमित भएनन् । उनी जिल्ला समन्वय समितिको सदस्यमा समेत निर्वाचित भए । ‘जिल्ला समन्वय समितिको चुनावमा ९९ प्रतिशत मत ल्याएर चुनाव जिते ।
‘त्यो मेरो अर्को खुसी हो’, उनले भने । चुनावी मैदानमा गएपछि हार जित हुन्छ तर मेरो जीवनमा चुनाव सधैँ जित नै भएको छ । २०७९ बैशाखमा भएको चुनावमा उनले वडा सदस्यमा उम्मेदवार भए । यो पटक पनि उनले धेरै मतान्तरले चुनाव जिते र भन्छन्, ‘चुनावी परिणाम मेरो लागि नै बनेको जस्तो छ ।’ वडा सदस्य जितेका कुमाल अहिले गढवा गाउँपालिकाको न्यायिक समिति सदस्य हुन् । तपाईँ त ‘न्यायाधीश’ पो ? उनले भने ‘जनताको मतको कदर र सेवा नै हो ।’
कुमालसँग सन्तान प्रातिको पनि बेग्लै खुसीको क्षण छ । सन्तानको रूपमा दुईवटा छोरा थिए तर छोरी जन्मँदा उनमा बेग्लै खुसीको क्षण भएको सम्झना छ । ‘टेक्नीकलेजमा पढ्दै थिए । छोरीको चाहना थियो । संयोग नै भन्नु पर्छ छोरीकै जन्म भयो । त्यो दिन मैले कलेजमा साथीहरूलाई चिसो र मिठाइ नै खुवाएर खुसी मनाएको थिएँ । त्यो पनि जीवनको मेरो अर्को खुसीको क्षण हो ।’ माटोको भाँडा बनाउने उनी कालीगढ नै हुन् ।
काचो माटोलाई मजाले मनपरेका भाँडाका आकार र साइज दिने गर्छन् । गाउँमा मात्र होइन जिल्ला बाहिर समेत उनको त्यत्तिकै नाम चलेको थियो । उनले माटोको भाँडा बनाउनेमा ‘बेष्ट टे«नर’को उपाधि नै पाएका छन् । ‘यो कर्ममा मैले बेष्ट ट्रेनरको उपाधि पाएको छु । धेरैलाई यो कर्म सिकाउने काम भएको छ’, उनले भने, ‘यहाँ पनि मैले धेरै खुसी भेटेको छु ।’ बेष्ट ट्रेनरको रूपमा जनकपुरमा जाँदा त्यहाँ मैले धेरै सम्मान र माया पाएँ, सायद त्यो मेरो जीवनमा अझै पनि सम्झना लायक छ ।
बाबु नारायणप्रसाद थारु कुमाल र आमा सुधिन थारु कुमालका ८ सन्तानमध्ये उनी छैठौँ सन्तान हुन् । उनका ६ वटा दाजुभाइ र एउटा दिदी छन् । गाउँकै विद्यालयबाट औपचारिक शिक्षा थालेका कुमालले मावि गोवर्डिहाबाट २०४८ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि औपचारिक शिक्षामा भने पूर्णविराम नै लगाए । बहुदलकै सेरोफेरोमा उनलाई राजनीतिप्रति मोह जागेको थियो । त्यहीबेला उनले एमालेको सदस्यता लिएका थिए । बाउ, बाजे पनि गाउँका अगुवा नै थिए । आप्mनो समुदायले मानेको परिवार थियो । त्यो कारण पनि राजनीतिक क्षेत्र र सामाजिक क्षेत्रमा आउन उनलाई कुनै समस्या थिएन ।
घरपरिवारको साथको कारण पनि उनी यो क्षेत्रमा मजाले जम्न सके । एमाले नेता रेवतीरमण शर्मा र शम्भु गौतमले राजनीतिक क्षेत्रमा आउन उनलाई ऊर्जा दिएका थिए । ‘उहाँहरूको ऊर्जाले म यहाँसम्म आएको छु । यो क्षेत्रमा आउन उहाँहरूको ठूलो भूमिका छ’, उनले भने । कुमाल राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । सामुदायिक वन, कुलापानी र थारु समुदायको बडघरको जिम्मेवारीमा पनि छ । यहाँका सबैले तिमीले नै नेतृत्व गर्नुपर्छ भन्छन् ।
कहिले अब म हुँदैन भन्दा पनि मान्दैनन्’, उनले भने, ‘यो मप्रतिको विश्वास र माया हो ।’ उनको जीवन पनि सरल र बवक्र दुवै रेखामा चलेको छ । जीवनमा मदिरासँग उनको गहिरो प्रेम छ । ‘जीवनसाथीले छोडेर गयो तर मदिराले छोड्न सकेको छैन । ‘मनले मागेको बेला मज्जाले खान्छु । आजसम्म खाएको एकिन हिसाब छैन । त्यो हिसाब निकाल्न खोजे भने यो अङ्कगणित नै कमजोर हुन्छ । मापन गर्ने साध्य छैन’, उनले भने ।
प्रस्तुती : इन्द्र डिसी