पद्मोदयले मनायो वार्षिकोत्सव

गोरक्ष समाचारदाता
दाङ, १७ जेठ । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय घोराहीले ७६औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवम् प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले व्यावहारिक, सीपयुक्त र रोजगारमा सहजै जोडिनसक्ने सिकाइ अहिलेको मुख्य आवश्यकता भएको बताएका थिए । उनले शैक्षिक विकासको लागि शिक्षक, विद्यार्थी एवम् अभिभावकको दायित्व भएको बताए । साविक राप्ती अञ्चलकै जेठो विद्यालयको विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यालय संस्थापकको तर्फबाट किशोरचन्द्र गौतम, निवर्तमान प्रधानाध्यापक रामप्रसाद जैशी, शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराज आचार्य, विद्यार्थी बिना दाहाल र एलिना घर्ती मगरले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट शीर्षक सम्मानबाट हरिहर आचार्य, इन्दिरा शाह, पिमा गौतम, बसन्त बिसी, मदन पौडेल, प्रतीक्षा न्यौपाने, रोशन देवकोटा, चुडामणि शर्मा, श्याम सुवेदी, भक्तिराम बसेल, कर्मचारी बसन्त विसी, रमा पाण्डे, सन्तोष चौधरी, दृष्टि चौधरीलाई सम्मान गरिएको थियो ।

यसैगरेर २० वर्ष सेवा गरेका शिक्षक र कर्मचारीलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा शिक्षकहरू अमरबहादुर खड्का, प्रभात पोख्रेल, यशोदा भट्टराई कर्मचारी फूलमान चौधरी र हरिबहादुर पाण्डे छन् ।

अक्षय कोष स्थापना

विद्यालयमा पद्मा आचार्य र बसन्त डिसीले अक्षयकोष स्थापना गरेका छन् । डिसीले ५१ हजार ५ सय ५१ र आचार्यले ४० हजार रूपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनकुमार अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक लोकबहादुर बस्नेतको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक निशान्त आचार्यले गरेका थिए ।