स्वास्थ्य सेवाको थप सुधारमा ध्यानदिन मन्त्री खनालको निर्देशन

गोरक्ष समाचारदाता
दाङ, १७ जेठ । ल्ुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रादेशिक आयुर्वेद अस्पताल बिजौरी र प्रादेशिक राप्ती अस्पताल तुलसीपुरको अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री खनालले प्रदेश सरकार अन्तर्गत् रहेका दाङका दुई अस्पतालहरूको मंगलवार अनुगमन गर्दै स्वास्थ्य सेवाको अवस्था र भौतिक पूर्वाधारको अवस्था बारेमा जानकारी लिएका हुन् ।
अनुगमनका क्रममा स्वास्थ्यमन्त्री खनालले नागरिकको आधारभूत अधिकारभित्र पर्ने स्वास्थ्य सेवालाई थप सुदृढ गर्दै सहज रूपमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएका थिए । मन्त्री खनालले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै घट्दो बजेटलाई ध्यान दिएर अस्पतालहरूलाई मितव्ययी ढङ्गले सेवाग्राहीलाई सेवा प्रवाहलाई प्रभावकारी बढाउन आग्रह गरेका थिए । ‘कमजोर आर्थिक अवस्थाका कारण बजेटको आकार घट्ने अवस्थामा छ’, मन्त्री खनालले भने, ‘यी कुराहरूलाई ध्यानमा राखेर गुणस्तरीय स्वास्थ्य सेवाका लागि ध्यानदिनुहोस ।’

मन्त्री खनालले प्रदेशको प्राथमिकतामा आयुर्वेद स्वास्थ्य सेवा रहेको भन्दै आयुर्वेद अस्पताल बेलभुण्डीलाई प्रदेशभरि नै आयुर्वेद औषधी निर्यात गर्ने निकायका रूपमा विकास गर्न सकिने बताए । त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको भन्दै मन्त्री खनालले आवश्यक तयारीमा जुट्न अस्पताललाई आग्रह गरेका थिए । साथै मन्त्री खनालले पश्चिम क्षेत्रको महत्वपूर्ण स्वास्थ्य सस्थाका रूपमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई जनताको मन जित्ने गरी स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन आग्रह गरेका छन् ।

अनुगमनका क्रममा स्वास्थ्यमन्त्रीलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा, भौतिक पूर्वाधारलगायतका बारेमा जानकारी दिदै अस्पतालका मेसुहरूले स्वास्थ्य सेवालाई थप विस्तार गर्न जनशक्ति आवश्वयक रहेको भन्दै सहयोग गरिदिन मन्त्री खनाललाई आग्रह गरेका थिए ।