नारायणप्रसाद श्रेष्ठ
मानिसको मन पवित्र गङ्गा सरी बगिरहेको हुन्छ । उ कहिले हावाको झोक्कासँग खेलिरहेको हुन्छ भने कहिले सांसारिक गतिविधिसँग रमाइरहेको हुन्छ । उसको स्थिर आसन हुँदैन । सूक्ष्मदेखि अति सूक्ष्मसम्ममा पनि उ रमाउँछ भने उडेको पंन्छीसरह उडी पनि रहन्छ । यसरी उडिरहने क्रममा कहिले उ सुन्दर बगैँचाभित्र रुमलिन पुग्दछ भने कहिले भौतिक चकाचौधको उकुसमुकुस वातावरणमा धुमलिन पुग्दछ ।
तसर्थ चञ्चल मनको त्यो परिवेशलाई बुझेर विद्वान् र ज्ञानी पुरुषहरु मनको त्यो चञ्चलपनलाई एकाग्र गराइ ध्यान जप, तपको माध्यमबाट स्थिर गराउन योग समाधिको सहारा लिन पुग्दछन् । योग र ध्यानको माध्यम सम्यम् र धीर राखी सामाजिक आवरणमा रहेको विश्वास र अविश्वासको दूषित वातावरणमा हुर्केको सामाजिक मूल्य र मान्यतालाई हटाइ सकारात्मक विज विजारोपण गर्दै विश्वासको धरातलमा आफूलाई खरो उतार्न प्रयत्नशील भइरहेका हुन्छन् । त्यसैले विचारको दरिद्रताभित्र लुकेको अहङ्कार र दुःखको कारणलाई बुझेर प्रत्येक व्यक्तिले विश्वासयोग्य बनाउनु पदर्छ ।
विश्वास र भरोसाको तराजुमा तौलेर आफू र जगतको यर्थाथसँग परिचित भइ अघि बढ्ने सङ्कल्प गर्नुपर्दछ । विश्वास मनको पवित्रता हो । यसमा अहंकार र घमण्ड केही हुँदैन । विश्वासमा कहिले प्रश्न चिह्न पनि खडा हुँदैन । न त यसमा धोका र छलकपट नै हुन्छ । तसर्थ ज्ञानरुपी अमृतरस पिई मनको उज्यालो ज्योतिलाई सधैँ एउटै गतिमा चलायमान गराउनु पर्दछ । ज्ञान चम्किलो हिरा हो भने विश्वास हिरा सरी संसारको प्रर्यावरणमा उज्यालो देखाउने आधार हो । कतिपय विद्वान्ले ज्ञान पुरुष हो माया स्त्री हो भन्दै अगाडि भन्छन् –मायाको जालमा फसेको व्यक्ति, समाजको आचरण अन्धो सरी हुन्छ । उनीहरु उज्यालोको महसुस गर्न जान्दैनन् पनि ? फेरि उनै भन्छन् मन त्यस्तो हुँदैन ।
मन पवित्र मन्दिरको त्यो उज्यालो ज्योति हो । जसले मानवलाई मानव भएर बाँच्न, हाँस्न, खेल्न र सत्कर्म गर्न उत्प्रेरणा जगाइरहेको हुन्छ । यो न त मैनबत्तीझैँ पग्लेर बिलाउने उज्यालो हो नत आँधी–हुरीले निभाउन सक्ने दियो नै हो । यो त चम्किलो मणि हो । यसले संसारलाई सधैँ उज्यालोको अनुभूति गराउन लागिपरेको हुन्छ । फरक यत्ति हो यस्तो मनलाई हेर्ने बुझ्ने र परख गर्ने सोच कसरी बढाउन सकिन्छ, यसतर्फ चिन्तन गर्न जरुरी छ ।
यसैले मनको पवित्रतालाई नबुझी सोचको दरिद्रताको कारण उत्पन्न हुने दुःख, सुख, लाभ, हानी ठूलो, सानो तेरो, मेरोजस्ता भ्रमित विचारहरु मनको तरेलीमा आउन सक्ने परिस्थितिलाई आँकलन गरी प्रत्येकले आफूले आफैलाई बुझेर अघि बढ्ने सङ्कल्प गर्न सक्नु पर्दछ । सङ्कल्पले मानिसलाई दृढ र निश्चिन्त बनाउँछ । सोच र चिन्तनमा यदि सकारात्मक भाव जागृत हुने गरी मनलाई पवित्र सागरमा डुबुल्की मार्ने परिस्थिति सिर्जना गर्न चाहन्छन् भने मानिस स्वयम्ले आफूले निश्चित गरेको गोरेटोमा पर्ने परिस्थितिको आँकलन गरी अघि बढ्ने सङ्कल्प गर्नु पर्दछ । कुनै पनि विचार प्रवाहमा पर्ने अप्ठेरो सप्ठेरो परिवेशको आँकलन गर्न सक्षम हुनुपर्दछ ।
भौतिक चकाचौधमा देखिने सकारात्मक वातावरणलाई अनुशरण गर्ने साहस र क्षमताको विकास गर्न सक्नु पर्दछ । दौडिरहने मनको गतिलाई सांसारिक सुख भोगको विलाशी पनमा नअल्मल्याइ सदा बसन्तको अनुभूति हुने कर्म र चिन्तनतर्फ आकृष्ट गर्नु पर्दछ । धन दौलत केवल भौतिक आडम्बर भित्रको क्षणिक सोपान हो भनी यसको सदुपयोग गर्न जान्नु पर्दछ । कर्म र व्यवहारमा एकरुपता ल्याइ जीवनको पूर्वार्धदेखि उत्तरार्धसम्म आफ्नो सोच र चिन्तनलाई वशुधैव कुटम्बकम्को सिद्धान्तभित्र परिचालित गर्ने सोच बढाउनु पर्छ ।
हेर्ने र परख गर्ने दृष्टिकोणमा सकारात्मक भाव जागृत हुने चिन्तन गर्नुपर्छ । मनलाई चङ्गा सरी स्वच्छ र पवित्र विचार धाराको सुन्दर बटवृक्षको शीतलताको अनुभूति गराउने गरी खुसी र आनन्दतर्फ आकर्षित गर्ने सोच बढाउनु पर्छ । मनमा द्विविधा, विचारमा साँघुरोपन, कर्ममा स्वार्थ यही चिन्तनको घेराभित्र रही दुःखको समुद्रमा डुबुल्की मार्दै गरेको शोकको बाटिकामा होइन, अशोकको बाटिकामा जहाँ स्वच्छ, सफा र सुन्दर भविष्यको कल्पनासँगै प्राकृतिक सम्पदाले भरिपूर्ण आनन्दको सागरमा डुबुल्की मार्न सकिन्छ, जहाँ सुन्दरताले भरिपूर्ण सामाजिक परिवेशमा रमाउन खोज्ने चिन्तन र विचार प्रवाह हुन्छ त्यहाँ रमाउन जान्नुु पर्दछ । हुन त वर्तमानको परिस्थितिमा यस्तो अवस्था सिर्जना गर्न कठिनाइ नपर्ला भन्न सकिन्न ।
स्वार्थ र सत्ता, भत्ता र विलाशिताको मोहले धपक्कै ढाकेको वर्तमानमा मनको इच्छा र आकांक्षा मोहतर्फ आकर्षित नहोला भन्न सकिन्न । तथापि जीवनको उद्देश्य स्वइच्छाचारी विचार प्रतिपादन गर्न अघि बढेको होइन, जीवन भनेको सांसारिक गतिविधिलाई सकारात्मक दिशा उन्मुख बनाइ सेवा र समर्पणमा आधारित कर्म र व्यवहार गरी जीवनलाई सार्थकता दिनु हो । सदावहार बसन्तको छहारीमा शीतलताको अनुभूति गर्दै अघि बढ्ने हो । त्यसैले भौतिक चकाचौधमा आउने दूषित वातावरणलाई पन्छाउँदै मनको गतिलाई अरुको भलो चिताउनेतर्फ सधैँ तत्परता देखाउने गरी सङ्ल्पित रहनु पर्दछ । मनलाई स्वच्छ वातावरणमा गतिशील बनाउनु पर्दछ ।
वर्तमान अवस्थामा जति पनि धार्मिक सहिष्णुता छन् । ती सबैले प्रत्येक प्राणीमा ईश्वरको बास हुन्छ भनी स्वीकार देखिन्छ । अरुलाई पीडा दिनु पाप हो । त्यो पनि स्वीकारको देखिन्छ तर पनि हामी मानव जातिले अरुको पीडाप्रति त्यति ध्यान र चासो नदिरहेको अवस्था छ । आफूले कुनै वास्ता प्रयोजन नगर्ने तर आफूलाई सबैले सहयोग गरोस् भन्ने चाहना राख्नु वास्तवमा यो मनको भावमा आएको स्वार्थ केन्द्रित विचार हो । तसर्थ रोटी एकोहोरो पाक्दैन भन्ने चिन्तन बढाई सेवा र समर्पणमा आधारित जीवन शैली अपनाउनु पर्दछ ।
मनको मझेरीभित्र लुकेको स्वार्थलाई परित्याग गरी सर्वे भवन्तु सुखिनः को सिद्धान्तभित्र जीवनलाई गतिशील बनाउनु पर्दछ । मनमा उठ्ने जति पनि स्वार्थी चिन्तन छन् । यो केवल भौतिक आडम्बरभित्र लुकेको भ्रम हो भन्ने ठानी आफूलाई सधैँ विचारशील बनाउनु पर्दछ । बोल्न पाए प्याच्च नबोल्नु, बस्न पाए थ्याच्च नबस्नु भन्ने उखानलाई सम्झी आफ्नो बुद्धि र विवेकले भ्याएसम्म राम्रो सोच र चिन्तन गर्नु पर्दछ । क्षणिक स्वार्थ र मोहमा फसी स्वयम् पापी हुनबाट आफूलाई जोगाउनु सक्नु पर्दछ ।
अहिले आत्मको सगुन साकार पवित्र विचार त्यागी दृष्टि भ्रमको कारण क्षणिक आत्म सन्तुष्टितर्फ मानिसको विचार दौडिरहेको छ । तसर्थ त्यसलाई परित्याग गरी तर्क विज्ञान हो, आस्था विश्वास र भरोसा जीवनको आधार हो भन्ने बुझी मनलाई पवित्र नदीको स्वच्छ वातावरणमा डुबुल्की मार्दै अघि बढ्ने दृढता देखाउनु पर्दछ । मन सफा त कठौतीमा गङ्गा भनेर आफू र आप्mनो परिवेशलाई सत्प्रवृत्ति उन्मुख गराउनु पर्दछ । यो आजको आवश्यकता हो ।