अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशन घोराहीमा हुने

गोरक्ष समाचारदाता
दाङ, १५ जेठ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिवेशन दाङको घोराहीमा हुने भएको छ । सम्मेलन सोमवार र मंगलवार घोराहीको सभागृहमा हुने भएको छ । प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पत्रकार सम्मेलन किसान महासंघ प्रदेश अध्यक्ष आरती पौडेलको अध्यक्षतामा भएको हो ।

पत्रकार सम्मेलनमा महासंघका विभिन्न २२ वटा विषयगत समितिले गर्दै आएका काम र संगठनतात्मक अवस्था सुधार सहित किसान हकहितका सवाल अधिवेशनमा उठाइने जानकारी दिएको थियो । अधिवेशनका बारेमा जानकारी गराउँदै प्रदेश अध्यक्ष पौडेलले लुम्बिनी प्रदेश भरका प्रत्येक पालिकाकाका प्रतिनिधि सहभागिता रहने बताइन् ।

उनले हरेक पालिकाका किसानका मुद्दा उठान् गर्न, ७६ प्रतिशत किसान अहिले पनि कृषि पेसामा आबद्ध रहेको अवस्थामा किसानलाई कृषि पेसामा दिगो रूपमा लाग्न हौसला दिने कार्यक्रम ल्याउन किसान महासंघले उठाउँदै आएको बताइन् । वर्तमान अवस्थामा देखापरेका थप समस्या पनि अधिवेशनका माध्यमबाट पारित गर्दै सरकार समक्ष समाधानका लागि पहल हुने उनको भनाइ छ ।

महासंघले प्रदेशको जल्दाबल्दा समस्या उठान गर्ने हुँदा युवा पलायन रोक्न, सीपको उपयोग देशमै गर्नसक्ने गरी वातावरण बनाउन अधिवेशन सफल हुने महासंघकी केन्द्रीय कमिटी उपमहासचिव सरिता भुसालले बताइन् । उनले हिजोका दिनमा राजनीतिक आन्दोलनले स्थान पाउँदा किसान आन्दोलनपछि परेको बताइन् ।

अब किसानका मुद्दालाई राजनीतिक रूपमा अघि बढाउने, किसानलाई उत्पादनमा जोडिन पहल गर्ने, किसानका अधिकार स्थापनाका लागि पहल गर्ने, खाद्य सम्प्रभुता उठान गर्ने, दाङ घोषणापत्र तयार गरी सरकारलाई ध्यानाकर्षणका रूपमा ज्ञापनपत्र बुझाउने तयारी रहेको उनले बताइन् । सम्मेलनको उद्घाटन एमाले पार्टीको मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले गर्ने भएका छन् ।

अधिवेशनमा हरेक स्थानीय तहको विशेषता झल्कने किसानका स्टल राख्ने, जिल्लाको पहिचान प्रबद्र्धन गर्ने काम पनि हुने बताइएको छ । पत्रकार सम्मेलनको सहजीकरण लुम्बिनी प्रदेश अखिल नेपाल किसान महासंघका सचिव महेन्द्र गिरीले गरेका थिए ।