आजदेखि मुलुकभर तीन दिनसम्म सोह्रौ गणतन्त्र दिवस मनाइँदै छ । नेपाल सरकारले माताहतका सरकारी कार्यालयहरुलाई तीन दिनसम्म गणतन्त्र दिवस मनाउन आह्वान गरेसँगै मुलुकभर फरक–फरक शैलीमा गणतन्त्र दिवस मनाउने तयारी भइरहेको छ ।
कसैले फलफूल वितरण गरेर गणतन्त्र दिवस मनाउने छन्, कसैले बजार तथा कार्यालय परिसर सफाई गरेर त कतै दीप प्रज्ज्वलन र प्रभातफेरी गरी गणतन्त्र दिवस मनाइन्छ । कसैले राजनीतिक सम्वाद तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवसको स्मरण गर्ने गरेका छन् ।
मुलुकमा निरन्तर चलेका विभिन्न चरणका राजनीतिक आन्दोलनले राजसंस्था फालेर संघात्मक गणतन्त्र स्थापना गरेको दिनलाई गणतन्त्र दिवसमा रुपमा मनाउन थालिएको अहिले ठिक सोह्र वर्ष पुगेको छ । यस बीचमा मुलुकले लोकतान्त्रिक संघात्मक संविधान समेत पाइसकेको छ । दुई–दुई पटक भएको संविधान सभाले नयाँ संविधान जारी गर्न सफल भएको छ । अहिले संघात्मक संविधान कार्यान्वयनको चरणमा छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली नागरिकहरुले निरन्तर सात दशकसम्म आन्दोलन गर्नुप¥यो । विसं २००७ सालमा नेपालमा जहानिय राणा शासनलाई अन्त गरी प्रजातन्त्र स्थापना भयो तर यो धेरै समय टिक्न सकेन । राजा महेन्द्रले पञ्चायती व्यवस्था मुलुकमा स्थापित गरे । एक दलीय पञ्चायती व्यवस्था निरन्तर चलिरह्यो । यसका विरुद्ध फेरि विभिन्न चरणका आन्दोलनहरु भए । यसकै फलस्वरुप विसं २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना भयो । राजसंस्था संवैधानिक बन्यो ।
संवैधानिक राजतन्त्र चल्दै गर्दा विसं २०५२ सालदेखि तात्कालीन नेकपा माओवादी पार्टीले सशस्त्र आन्दोलन सुरु ग¥यो । करिब दश वर्ष सरकार माओवादी सशस्त्र विद्रोह भयो । त्यसपछि मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन तात्कालीन नेपाली कांग्रेस, एमाले र माओवादीबीच वार्ता र सम्वाद भए । सोही अनुरुप बाह्रवुँदे सम्झौता भयो अनि मुलुकमा विसं २०६२÷०६३ सालमा ऐतिहासिक जनआन्दोलन भयो । त्यो आन्दोलनले संवैधानिक राजतन्त्रलाई समेत फाल्न सफल भयो । मुलुकमा गणतन्त्र स्थापना भयो ।
हो, मुलुकमा विभिन्न चरणका आन्दोलनले व्यवस्था बदल्न सफल भयौँ तर हामी जनताको अवस्था बदल्न अझै सकेका छैनौँ । सोह्रौँ गणतन्त्र दिवस मनाइरहँदा हामीले आन्तरिक रोजगारी पाउन सकेका छैनौँ । लाखौँ नेपालीहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुकहरुमा पलायन हुन बाध्य छन् । नागरिकको प्रतिव्यक्ति आम्दानीमा वृद्धि हुन सकेको छैन । निर्यातमुखी अर्थतन्त्रको विकास हुनसकेको छैन । कृषिप्रधान मुलुक भएर पनि हामीले बर्सेनि अर्बौंको कृषि उपज आयात गरिरहेका छौँ ।
हामीले बेच्न सक्ने भनेको आफ्ना नागरिक मात्रै हो । सोह्रौ गणतन्त्र दिवस मनाइरहँदा मुलुकका तीनै तहका सरकारहरु अब नागरिकको अवस्था बदल्न प्रतिबद्ध हुन आवश्यक छ । आन्तरिक रोजगारीका लागि औद्योगिकीकरण र वैदेशिक लगानीका पूर्वाधारहरु बनाउन आवश्यक छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा अनि रोजगारको प्रत्याभूति दिएमा मात्र यति ठुलो बलिदानीले प्राप्त गणतन्त्र संस्थागत हुनसक्छ । यसका लागि तीनै तहका सरकारहरु गम्भीर बन्न सकून् । सोह्रौँ गणतन्त्र दिवसको यही शुभकामना व्यक्त गर्दछौँ ।