गोरक्ष समाचारदाता
दाङ, १४ जेठ । व्यावसायिक हकहितका लागि ट्रक व्यवसायीहरू एकजुट हुनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको २०औँ वार्षिक साधारणसभाको अवसरमा बोल्ने वक्ताले आर्थिक मन्दीसँगै अस्वस्थ प्रतिष्पर्धा र बैंकको महँगो व्याजदरले ढुवानीसम्बन्धी यातायात क्षेत्र सङ्कटमा परेको भन्दै यसलाई बचाउन व्यावसायिक एकता आवश्यक रहेको कुरामा जोड दिएका हुन् ।
साधारणसभालाई सम्बोधन गर्दै राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार ध्रुवराज श्रेष्ठ ‘भारी’ले व्यावसायिक हकहितसँगै लगानी सुरक्षाका लागि अस्वस्थ प्रतिष्पर्धा हटाउँदै सरकारले नै निर्धारण गरेको मालवाहक सवारीको वैज्ञानिक भाडा दरलाई कार्र्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
‘सङ्कटमा परेको ढुवानी व्यवसायीलाई माथि उठाउन सरकारले निर्धारण गरेको वैज्ञानिक भाडा दरलाई लागु गर्दै व्यावसायिक क्षेत्रमा देखिएको अस्वस्थ प्रतिष्पर्धा हटाउन आवश्यक छ’, श्रेष्ठले भने, ‘त्यसका लागि सबैभन्दा पहिले व्यावसायिक एकता आवश्यक छ ।’ उनले व्यावसायिक एकता नभएकैले सरकारले निर्धारण गरेको भाडा दर लागु हुन नसकेको भन्दै यस्तो प्रवृत्तिले व्यवसाय बन्द हुने बताए । साथै उनले सङ्कटमा परेको व्यवसायलाई उकास्न राज्यले बैंक व्याज दरलाई घटाउनुका साथै अनिवार्य भाडा दरलाई लागु गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्व उपमहासमिति एवम् राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका सल्लाहकार सुरेश हमालले व्यवसायीका सवालमा राज्य गम्भीर नभएको बताए । यातायात क्षेत्रलाई व्यवस्थित गर्ने र अर्थतन्त्रलाई सङ्कटमा पर्न नदिन राज्यले व्यवसायीसँग गरेका सम्झौताको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
उनले राज्यको गैरजिम्मेवारीपन र यातायात व्यवसायीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवसायी दिनहु धारासायी हुने क्रम बढेको बताए । उनले आर्थिक मन्दीका कारण विकास निर्माण, उद्योगधन्दासँगै यातायात व्यवसायी समेत चल्नै नसक्ने अवस्थामा आइपुरेको भन्दै सङ्कटलाई हटाउन सरकारले पहल गर्न आवश्यक रहेकामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने अन्य जक्ताले आर्थिक सङ्कट देखिएको अवस्थामा तिक्ततालाई बिर्सिएर एकता हुँदै व्यावसायिक हकहितका लागि अघि बढ्नुपर्ने बताएका थिए । साथै उनीहरूले सडकको बिग्रँदो अवस्था, भारतीय यातायातका साधानहरू सञ्चालन हुँदा नेपाली व्यवसायी मारमा पर्नुका साथै सडकको अवस्था समेत दिन प्रतिदिन बिग्रँदै गएको भन्दै यसलाई रोक्न समेत आग्रह गरेका छन् ।
साथै उनीहरूले ट्रक लोड÷अनलोड गर्दा नभइ नहुने लेबरको बिमाको सम्बन्धमा आवश्यक प्रक्रिया सरकारी स्तरबाट हुनुपर्ने, मालवाहक सवारीको वैज्ञानिक भाडा दर सरकारी स्तरबाट हालसम्म निर्धारण भई कार्यान्वयन हुन नसकेकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने, सवारी दुर्घटनामा औषधोपचार वाफत सवारीधनीले व्यहोर्नुपर्ने बिमा रकमको सवारी तवरबाट सरलीकृत हुन नसकी खर्चिलो र झन्झटिलो प्रक्रिया भएको हुँदा यसलाई हटाउनुपर्ने, सार्वजनिक बाटोमा विद्युत, टेलिकम र केबुलका पोलमा जथाभावी तार लत्रँदा सवारी सञ्चालनमा समस्या हुने भन्दै त्यस्ता तारलाई व्यवस्थित गर्नुपर्ने, निजी प्रयोजनमा ल्याइएका मालवाहक साधनले भाडा प्रयोजनका मालसामानहरू बोकी निर्बाध सञ्चलन हुने गरेको भन्दै यसलाई रोक्नु पर्नेलगायतका माग गरेका थिए ।
राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा निवर्तमान अध्यक्ष यादव शाह, समितिका सल्लाहकार भरतनाथ योगी, मिनराज वली, भुपाल रावत, व्यवसायी प्रमोद रायमाझीलगायतले मालवाहक सवारीका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन र समितिलाई बचाउन र व्यावसायिक एकता कायम गर्न सुझाव दिएका थिए । समितिका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र खड्काले धन्यावाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा प्रशासनिक समितिका उमेशचन्द्र मजगैयाँले सांगठनिक तथा कोषाध्यक्ष मनोज बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण प्रशासनिक समितिका उमेशचन्द्र मजगैयाँले गरेका थिए । वार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।