अबैध रुपमा डम्पिङ गरी राखेको ५९४ घनमिटर ढुंगा नगरपालिकाद्वारा जफत

प्रिया स्मृती गजमेर

देउखुरी ,१४ जेठ । लमही नगरपालिका-४ स्थित बुट्कहावा – सेम्रवा राप्ती घाटको नर्सरीमा अबैध रुपमा डम्पिङ गरि राखेको ५९४ घन मिटर ढुङा नगरपालिकाले जफत गरेको छ ।

शनिबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजस्व नतिरी राप्ती नदीबाट अबैध तरिकाले डम्पिङ गरेर राखेको नदिजन्य पदार्थ ढुंगा नापजाँच गरि नगरपालिकाले जफत गरेको उपप्रमुख योगीले बताउनु भयो ।

यो ढुंगा के प्रयोजनका लागि हो, कसले डम्पिङ गर्यो भन्ने केहि जानकारी छैन, केहि महिनायता अनुगमन गर्दै आउँदा यहाँ ढुंगा थुपारेको देखिएयो, लामो समयसम्म पनि प्रयोग गरेको पाइएन त्यसकारण हामीले जफत गरेका हौँ- योगीले भन्नु भयो ।

समयमै नदिजन्य पदार्थको ठेक्का लगाउन नसक्दा राप्ती नदिमा बदमासी भएको छ, यो कुरा सबैलाई ज जाहेर नै छ, नगरपालिकाको क्षेत्र भित्र जहाँ बदमासी भएको देख्नु हुन्छ मलाई जानकारी गराउनुस म कानूनी दायरामा लिएर कारबाही गर्छु’- उहाँले भन्नु भयो । नगरपालिका र प्रशासनको आँखा छलेर राज्यलाई करोडौंको कर छली गर्दै अबैध ब्यापार गर्न कसैलाई छुट नभएको उहाँको भनाई छ ।

उपप्रमुख योगी भन्नु हुन्छ -‘अनुमगन मात्र हैन, हामी कार्यान्वयन पनि गर्छौं, हामीले यसरी राप्ती नदीमा अनुमगन गर्दै गर्दा अबैध रुपमा काम गरिरका ट्याक्टर, टिप्पर, जेसिवी लगायत नियन्त्रणमा लिएर राजश्व अशुल पनि गरेका छौं, जसले गर्दा राज्यलाई लाखौँ रुपैयाँ फाइदा भएको छ, यो अभियान रोकिन्न हामी निरन्तर फिल्डमा खटी रहन्छौ -। ‘

अबैध ढुवानी गर्दै गरेका ३ वटा ट्याक्टर नियन्त्रण
शनिबार अनुमगमन गएको टोलीले लमही नगरपालिका-२ को छिगटपुर घाटबाट अबैध उत्खनन गर्ने ती वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। राप्ती नदीबाट अबैध तरिकाले गिट्टी बालुवा ल्याउँदै गरेका रा १ त ३८०६, रा १ त ४०७३ र रा १ त ४२१९ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा ल्याईएको हो।

त्यस्तै सोहि घाटमा तटबन्धनको काम गर्दै गरेको एक कन्ट्रक्सन कम्पनीको काम रोकेको छ । उक्त कम्पनीले प्रयोग गरेको कच्चा पदार्थको नगरपालिकामा राजश्व नतिरेको भन्दै काम रोक्नु परेको लमही नगरपालिकाका इञ्जिनिएर सौगात ओलीले जानकारी दिनु भयो ।

छलफलको लागि कम्पनीका प्रतिनिधिलाई आज आइतबार नगरपालिकामा बोलाएका छौं, उहाँहरु आएर नगरपालिकामा राजश्व तिर्नु भयो भने आजैबाट काम शुचारु हुन्छ’ इन्जिनिएर ओलीले भन्नु भयो ।

राप्ती नदिमा अबैध तरिकाले उत्खनन गरि ओसारपसार गर्दै गर्दा पक्राउ परेमा प्रति ट्याक्टर वीस हजार जरिवाना तिर्नु पर्ने लमही नगरपालिकाको नगर सभाले पारित गरेको छ । यदि सोहि ट्याक्टर दोस्रो पटक पक्राउ परेमा चालिस हजार जरिवाना तिर्नु पर्ने भनेर समेत नगरसभाले निर्णय गरेको लमही नगरपालिकाका राजश्व शाखाकी लक्ष्मी सुवेदीले जानकारी दिनु भयो । पक्राउ परेका ट्याक्टरबाट लाखौँ रुपैयाँ राजश्व जम्मा भैरहेको पनि उहाँले जानकारी दिनु भयो ।