बाख्रा पाउँदा महिलाहरू खुसी

शिवराज खनाल
लमही, १२ जेठ । राजपुर गाउँपालिका–४ मुङ्ग्रेठा खोला निवासी २३ वर्षीया समीक्षा बुढा गृहणी हुन् । उनको दैनिकी घरकै कामकाजमा बित्ने गर्छ । उनको घरमा लोकल जातका एक–दुईवटा बाख्रा छन् । ती बाख्रा पुरानो तरिकाबाट पाल्दै आएकी थिइन् । उनी केही समय अगाडि गाउँमै स्वावलम्बन छहरा महिला कृषि समूहमा आबद्ध भएकी थिइन् ।

गाउँपालिकाबाट दिएको बाख्रापालन तालिममा समेत सहभागी भएकी बुढाले तालिमबाट धेरै कुरा सिक्ने मौका पाइन् । तालिमसँगै उनको सोच फेरिएको छ । उनी भन्छिन्, ‘बाख्रापालन नयाँ र उन्नत तरिकाले गरेमा राम्रो आम्दानी हुने रहेछ ।’ बालकुमारी पोख्रेल पनि राजपुर गाउँपालिका निवासी हुन् । उनी मिलनचोल स्वावलम्बन महिला कृषि समूहमा आबद्ध छिन् । उनले पनि गाउँपालिकाले उपलब्ध गराएको दुईवटा बाख्रा पाउँदा खुसी भइन् ।

राजपुर गाउँपालिकाले स्थानीय क्षेत्रका महिलालाई आत्मानिर्भर बनाउने उद्देश्यले महिला कृषकलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । पालिकाले गाउँपालिका भित्रका ३ वटा महिला कृषक समूहलाई ६२ वटा बाख्रा वितरण गरेको हो । राजपुर गाउँपालिका बाख्रापालनको लागि उपुक्त छ ।

कृषि र पशुपालन क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेले बताए । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले निम्न स्तरमा रहेका महिलाको जीवनस्तर उकास्न पालिकाले विभिन्न योजना ल्याएको र त्योमध्ये बाख्रापालन भएको समेत बताए ।

‘यो बाख्रा पाल्नुहोस्, सक्नुहुन्छ भने घरबाट पनि बाख्रा थप्नुहोस् । यो घरमै आय आर्जनको राम्रो स्रोत बन्नसक्छ । यसबाट एकल महिलाको जीवनस्तरमा सुधार ल्याउनसक्छ’, उनले भने ।