बालाराम खड्का
तुलसीपुर, १२ जेठ । तुलसीपुर उपमहानगरपालिका विभिन्न नक्सापासबिनै धमाधम गगनचुम्बी महल बनेका छन् । तर ती घरहरूको नक्सा डिजाइन भने छैन । नक्सापासबिनै घरहरू धमाधम निर्माण हुँदा कति घरहरू कच्ची छन्, कति घरहरू पक्की छन् भन्ने एकीन समेत हुन सकेको छैन् ।
केहीले घरको नक्सापास गरी घर बनाएका छन् भने धेरैजसोले घर नक्सापास नै नगरी स्थानीय ठेकेदारको भरमा घरहरू निर्माण गरेका छन् । यसले गर्दा जोखिमसँगै निर्माण बलियो नहुने र अर्कोतिर लाखौँको राजस्व समेत गुमेको छ । निकाश नै नभएको स्थानमा पनि घरहरू नक्सापासबिनै बनिरहेका छन् ।
नक्सापास गर्दा कम्तिमा पनि ५०÷६० हजार खर्च गर्नुपर्ने लोभले ६०÷७० लाखका घरहरू नक्साबिना नै निर्माण गर्ने प्रचलन बढेको प्राविधिकहरू बताउँछन् । तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले वडाका विभिन्न स्थानमा बनेको घरहरू नक्सापासबिनै बन्ने गरेको यथार्थ भएको बताए । ‘केहीले नबुझी नक्सापास गरेका छैनन् भने केहीले जानी–बुझी पनि नियम र कानुनलाई नमानेको अवस्था छ’, उनले भने । तुुलसीपुरका–१९ वटा वडाका सबै स्थानमा अहिले धमाधम घरहरू निर्माण भएका छन् ।
‘केहीले नक्सापास गर्नुभएको छ, केहीले नक्सापासबिनै घर निर्माण गर्नुभएको छ’, इन्जिनियर योगीले भने । उनले नक्सापास गरी घर निर्माण गर्दा धेरै कुराहरूमा फाइदा हुने भन्दै नक्सापास नगरी घर निर्माण गर्नु राम्रो नभएको बताए । यो सँगै बाटोको मापदण्ड कायम भए पनि बाटो नै नभएको स्थानमा ठुल्ठुला महलहरू बनेका छन् । भएका बाटोको पनि निकाश नदिने प्रचलन छ । यो कार्यले कुनै पनि समयमा आउने विपदलाई टार्न कठिन हुने इन्जिनियर योगीले बताए ।
‘कम्तिमा पनि एम्बुलेन्स, दम्कल जाने बाटो छोडेर घर बनाउनु राम्रो हुन्छ, त्यसो भएन भने भैपरी आउने विपदमा समस्या हुन्छ’, उनले भने । त्यस्तै नियमन निकायहरूको लापराबाहीले गर्दा पनि यस्तो अवस्था हुन गएको सरोकारवाला बताउँछन् । ‘वडा तथा नगरले यसलाई कडाइ गर्नुपर्छ, जसले जे गरे पनि भएको छ’, स्थानीय चन्द्रा वलीले भनिन् । उनले भएका बाटोघाटो समेत नदिने र दिए पनि सबै अतिक्रमण गर्ने भएकाले यस्तो समस्या आउने बताइन् । त्यस्तै नक्सापास नगरी हुने निर्माणलाई स्थानीय तहले रोक्नुपर्ने उनको सुझाव छ ।
तुलसीपुरमा जेठ ५ गतेसम्म ७ हजार ३५ वटा घर नक्सापास र १ हजार ५ सय ९६ घरहरू अभिलेखीकरण भएको इन्जिनियर पवन योगीले बताए । तुलसीपुर उपमहानगरपालिकाले घर नक्सापासबिना निर्माण गरेका घरको अभिलेखीकरण नगर्नेलाई सेवाबाट वञ्चित गर्ने बताएको छ । हरेक नागरिकलाई करको दायरामा ल्याउन सहरदेखि गाउँसम्म नक्सापासबिना निर्माण गरिएका पक्की वा कच्ची घरको अभिलेखीकरण असार मसान्तसम्म अनिवार्य गर्न भनेको छ ।
आर्थिक वर्षको साउन–भदौसम्म सबैको नक्सापास अभिलेखीकरण गरिसकेर असोज महिनादेखि वडाले कुनै पनि सिफारिस दिँदा घर नक्सापास वा घरको अभिलेखीकरण गरेको प्रतिलिपी अनिवार्य माग्ने भएकाले सबै नागरिक करको दायरामा आउने नगर प्रवक्ता माधव वलीले बताए । ‘सिफारिस लिन आउने नगरबासीले घर नक्सा वा घरको अभिलेखीकरण पुष्टि हुने कागजात नल्याएमा सेवा दिइने छैन’, उपमहानगरका आर्थिक अध्ययन समितिका संयोजक समेत रहेका वलीले भने ।
तुलसीपुर उपमहानगरपालिकाले विभिन्न समयमा नगरबासीको सहजताको लागि घर नक्सापास र अभिलेखीकरणलाई सहज बनाउन म्याद थप गरी पटक–पटक सार्वजनिक सूचना जारी नै गर्ने गरेको छ । अनिवार्य रूपम भूकम्प प्रतिरोधी घर निर्माणका लागि घर नक्सापास कार्यविधि वमोजिम गर्न गराउन भने पनि अटेर हुँदै आएकाले नगर कार्यपालिकाको बैठकले त्यसमा कडाइ गर्न ५ सदस्यीय अध्ययन समिति गठन समेत गरेको छ ।
गाउँका करिब ७० प्रतिशत घरहरू नक्सापासबिना निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका राजस्व शाखा प्रमुख ललित घर्तीले बताए । ऐलानी जग्गामा घर बनाएकालाई भने घरको अभिलेखीकरण गर्नु नपर्ने राजस्व शाखा प्रमुख घर्तीले बताए ।