तुलसीपुर बसपार्कमा अचेल ऐतिहासिक जनआन्दोलनको जस्तै अवस्था देखिन थालेको छ । यात्रुको अधिकारका लागि होइन कि बस मालिकहरुको जिउ पाल्नका लागि । यात्रुमाथि गाडीका स्टाफहरुबाट लछारपछार समेत हुन थालेको छ । सुरक्षा निकायको उपस्थिति नाम मात्रैको छ । झोला एउटा गाडीमा, यात्रु अर्को गाडीमा ।
श्रीमान् एउटा गाडीमा लगिन्छन्, श्रीमती अर्कै गाडीमा । सानो छोरा प्रतीक्षालयमा अभिभावक खोजिरहेको अवस्था छ । गाडीहरुलाई यति धेरै मुस्किल भयो कि यात्रु नताने तेल हालेर गन्तव्यसम्म पुग्न सक्ने अवस्था छैन । यसले पछिल्लो समयमा सार्वजनिक यातायात फेरि बेलगाम बन्न थालेको छ ।
सार्वजनिक यातायातलाई गतिशील, क्रियाशील र यात्रुमैत्री बनाउन राज्यका कुनै पनि निकायको उपस्थिति छैन । उपभोक्ता अधिकारकर्मीको कुनै भूमिका छैन । मानव अधिकारकर्मीको ध्यान तुलसीपुर बसपार्कमा पुग्नसकेको छैन ।
सार्वजनिक यातायात पाँच वर्ष अघि जसरी सुध्रन थालेको थियो, त्यसपछिका अवधिमा सार्वजनिक यातायात सेवा लगामविहीन बनेको छ । सरकारले यातायात व्यवसायी समितिलाई सिण्डीकेटको बिल्ला लिएर प्रालिमा लैजाने रणनीति लियो । त्यसपछि दाङमा पनि प्रालिका नाममा धेरै यातायात संस्थाहरु उदाउन थाले ।
पुराना गाडीलाई पेन्ट गरेर नयाँ गाडीको आभास यात्रुहरुलाई दिलाउन थालियो । सडकमा चाहिनेभन्दा बढी गाडी गुड्न थाले । अर्थात् इन्धन खपत पनि अत्यधिक बढ्दै गयो । यसले यात्रुलाई त सुविधा भयो तर गाडी किन्ने व्यवसायीहरु धरासायी बन्दै गए । त्यही बीचमा कोरोना भाइरसले विश्वव्याधिको स्वरुप लियो । नेपालमा पनि कम्तिमा ६ महिना लकडाउन भयो । यसको सबैभन्दा ठूलो मार सार्वजनिक यातायात व्यवसायीहरुमा प¥यो ।
सार्वजनिक यातायात व्यवसायीहरु धरासायी बन्दै गर्दा कोरोना संक्रमणमा निजी प्रयोजनका सवारी साधनले बिरामीको उपचारलगायतका अत्यावश्यक सेवाको पास बनाउँदै सार्वजनिक यातायात व्यवसायीले दिने सेवा महँगो शुल्कमा दिन थाले तर यातायात व्यवसायीहरु आफ्नै बसमा आत्मदाह गर्न समेत बाध्य भए ।
अहिलेको सार्वजनिक यातायात सेवा पनि स्तरीय गाडीसँगै बेलगाम भएको छ । आलोपालो सिस्टमको अवज्ञा प्रालिहरुले गरे । व्यवसायीहरु पनि खुसी थिए तर फेरि प्रालिहरुले आलोपालो स्टिम र एकद्वार प्रणालीलाई अवज्ञा गरे । फलस्वरुप सडकमा यात्रुहरुको चापभन्दा निकै बढी गाडीहरु गुड्न थालेका छन् । यहाँका यात्रुहरुलाई कति सार्वजनिक सवारी चाहिन्छ भन्ने लेखाजोखा नै सडकमा गाडी गुडाइरहँदा अहिले सबैभन्दा बढी मारमा सवारी धनीहरु परेका छन् । उनीहरुलाई नाफारहित अवस्थामा गुड्नका लागि पनि समस्या छ ।
यही कारण यातायात व्यवसायीहरु फेरि संकटमा पर्न थालेका छन् । त्यसको असर यात्रुहरुलाई समेत पर्न थालेको छ । यात्रु कुर्दाकुर्दा यात्रुहरु समयमा गन्तव्यमा पुग्नसकेका छैनन् । यात्रु नपाएपछि अर्को गाडीमा मेल दिने र गन्तव्यमा नपुगेरै व्याक हुने अवस्थामा सार्वजनिक यातायातका सवारी धनीहरु पुगिरहेका छन् । न यात्रुमैत्री यातायात न त व्यवसायीमैत्री यातायात । यही छटपटीमा यातायात व्यवसायीहरु छन् ।
त्यही कारण गिद्धले सिनो लुछेझैँ यात्रुहरुलाई तानिरहेका छन्, यातायात मजदुरहरुले । यो सार्वजनिक यातायातको दुर्भाग्यको कुरा मात्रै होइन, चरम दुःखद् अवस्था पनि हो । यसमा यहाँका प्रालि नेतृत्वहरुबीच वार्ता र सम्वाद आवश्यक छ । यात्रुहरुलाई पनि सहजता र यातायात व्यवसायीलाई पनि मुनाफा हुने गरी सार्वजनिक सवारी साधन सडकमा निकालौँ । अस्वस्थ प्रतिस्पर्धाले आफै ढल्ने काम नगरौँ । यात्रुमैत्री एवम् व्यवसायीमैत्री यातायातको अभियानलाई सँगसँगै लैजाऔँ ।