Goraksha

National Daily

ज्येष्ठ नागरिकका समस्या र दायित्व

भुवन पोख्रेल
मानव जीवनको उत्तरार्धको अवस्था बृद्ध अवस्था हो । मूलतः ६० वर्षभन्दा माथिको उमेरलाई बृद्ध अवस्था भनिन्छ । यो जीवनको अन्तिम अवस्था भएकाले कालले औँला ठड्याइरहेको अवस्था हो । यो शारीरिक, मानसिक, आर्थिक हरेक हिसाबले कमजोर र शिथिल अवस्था हो । समायोजनको दृष्टिले पनि शरीर कमजोर हुने, आँखा कम देख्ने, कान कम सुन्ने, रोग प्रतिरोधात्मक क्षमता कम हुने, रोग व्याधिले छिट्टै आक्रमण गर्ने समय हो ।

यावत् समस्याहरुले गर्दा यो अवधि अत्यन्त पीडादायी मानिन्छ । बृद्ध अवस्थाका व्यक्तिलाई हेर्ने दृष्टिकोण अलग–अलग हुन्छ । कसैले ज्येष्ठ नागरिकलाई समाजका धरोहर ठानेर सम्मान गर्छन् भने कसैले यो उमेरका व्यक्तिलाई लिढेढिपीको र गनगन गर्ने उमेर पनि भन्ने र उपेक्षा गर्ने गरेको पाइन्छ । हामीले ज्येष्ठ नागरिकप्रति उच्च सम्मान भाव राख्नुपर्छ । ज्येष्ठ नागरिक ज्ञान, अनुभवको भण्डार तथा जिउँदो इतिहासका ठेली हुन् । वि.स. २०७८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या २९ लाख ७७ हजार ३ सय १८ छ । ज्येष्ठ नागरिकको जनसंख्या ३४ प्रतिशतले बढी रहेको छ ।

हिजोको हाम्रो परिवार संयुक्त हुन्थ्यो, आज एकल परिवारको संख्या बढ्दो छ । बेरोजगारी बढ्दो छ । बलिया पाखुरा भएको मजबुद युवा जनशक्ति विदेश पलायन हुँदैछन् । बचेखुचेका युवा सहरतर्फ बसाइँसराई गरेका छन् । अब गाउँका बाँझा खेत र पाखोबारी कुरेर बस्ने भनेकै बृद्ध बुवाआमा मात्रै हुन् । त्यसर्थ बृद्धबृद्धाको संख्या सहरमाभन्दा गाउँमा नै बेसी देखिन्छ । गाउँको उर्भर भूमि बाँझो जंगलमा परिणत भएको छ । ज्येष्ठ नागरिकको पाखुरीमा बल छैन । शरीरमा ऊर्जा छैन, आफ्नो बुढेसकालका सहारा भनेका सन्तान आफ्नो नजिक छैनन् ।

सहारा चाहिने उमेरमा ज्येष्ठ नागरिक बेसहारा छन् । बृद्ध भएका बाआमालाई बृद्धाश्रममा छोडिदिने, उनीहरुको नाममा भएको सम्पत्ति बेचिदिने, घरबाट निकालेर सडकमा पु¥याउने, उनीहरुको स्वतन्त्रताको हनन् गरी बन्धक गराउने, सम्पत्तिको निहँुमा छोराछोरी आपसमा लडी बुवाआमालाई मानसिक विचलनमा पु¥याउने गरेका थुप्रै घटनाहरु सञ्चार माध्यममा दिनहँु सुन्न पाइन्छ । जीवित भगवान्को रुपमा बुवाआमालाई श्रद्धाभक्ति गर्नुपर्छ भन्ने हाम्रो नेपाली समाज विस्तारै व्यक्तिवादी र स्वार्थी बन्दै गइरहेको छ ।

ज्येष्ठ नागरिकलाई उमेर ढल्दै जाँदा झन बढी पारिवारिक स्नेह, उचित स्याहारसुसार, मायाममता र सम्मानको खाँचो पर्दछ तर दुर्भाग्य ठान्नुपर्छ । ज्येष्ठ नागरिक, शारीरिक, मानसिक, आर्थिक हरेक हिसाबले दुव्र्यवहारको शिकार भएका छन् । नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ तर वास्तविक व्यवहारमा हेर्ने हो भने बृद्ध भत्ता समेत छोराछोरीले खोसेर खाइदिने तथा आफूखुसी प्रयोग गर्ने प्रचलन छ ।

जनस्वास्थ्य सेवा ऐनमा ज्येष्ठ नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक उल्लेख छ । आधारभूत स्वास्थ्य केन्द्रमा ३९ र जिल्ला अस्पतालमा ७२ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने भनिए पनि त्यसबारे बृद्धबृद्धा अनभिज्ञ छन् । कुनै बृद्धबृद्धा त अस्पतालसम्म पुग्न सक्ने अवस्था पनि छैन । ज्येष्ठ नागरिक प्रतिको सम्मान बढाउन विद्यालय तहको पाठ्यक्रममा बृद्धावस्थाको उचित स्याहारसुसारसम्बन्धी सामग्री समावेश गरिनुपर्छ । मानव मूल्य जस्ता विषयहरुमा ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धी विषयवस्तु तल्ला तहदेखि नै पाठ्यक्रममा समावेश गरिनुपर्छ ।

स्थानीय प्रदेश, संघ सरकारले आफ्नो नीति, योजना, कार्यक्रम र बजेटमा ज्येष्ठ नागरिकलाई सम्बोधन गर्नुका साथै गैरजिम्मेवार सन्तानलाई कानुनी दायरामा ल्याउने व्यवस्था गर्नुपर्छ । अहिलेको युगमा सन्तानबाट बावुआमा प्रतिको गर्नुपर्ने दायित्व बहनमा क्रमशः कमी आउँदै गइरहेको छ । राष्ट्रले पनि बृद्धहरुको ज्ञान, सीप, अनुभवलाई पुस्तान्तरण गर्ने किसिमका रणनीति तयार पार्नुपर्छ । अहिले जेनेरसन ग्यापका कारण जिउँदा इतिहास उपेक्षित छन् । ज्येष्ठ नागरिकको स्याहारसुसार, हेरचाह र औषधोपचारमा परिवार, समाज र राज्य उत्तरदायी बन्नुपर्छ ।

प्रत्येक घरपरिवार र समाजका मेरुदण्ड बनेका ज्येष्ठ नागरिक आजको परिस्थितिमा पुरानो क्यालेण्डरझँै भएका छन् । घरको कुनामा, बृद्धाश्रममा, मन्दिर, पाटी, पौवामा, सडकका किनार र गल्लीहरुमा अशक्त र जीर्ण शरीर लिएर बेसहारा भइ भौतारिरहेका छन् । बृद्धबृद्धाहरुलाई अनुत्पादक शक्तिको रुपमा हेरी परिवारले उपेक्षा गर्ने, बोझ देख्ने जस्तो संकीर्ण दृष्टिकोण समाजमा डरलाग्दो दृष्टिकोणले हुर्कँदै जानु चिन्ताको विषय हो । यस प्रकारको कुसंस्कार गाउँभन्दा सहरमा र अशिक्षितभन्दा शिक्षित घरपरिवारमा बढी देखिनु अझ दुःखद् र उदेकलाग्दो स्थिति इंगित गर्छ ।

हामी सबैको उद्देश्य असल परिवार तथा सभ्य समाज निर्माण गर्ने धुनमा हुन्छ, फेरि पनि हाम्रा दैनिक गतिविधि र बाहिरी परिवेशले हामीलाई आफ्ना मूल्य मान्यता विरुद्ध उभ्याएको पत्तो पाउँदैनौ । यसको मूल कारण हो, नयाँ पुस्ता र पुरानो पुस्ताबीचको द्वन्द्वले उब्जाएको विशेष परिस्थित । उसलाई एउटा पुस्ता अन्तरालको रुपमा बुझ्न मनासिव हुनेछ । नयाँ पुस्ताले पनि जन्म दिने आमाबुवाको संघर्ष, योगदान र अतीतलाई नबिर्सी अशक्त तथा बृद्ध आमाबुवाप्रति आफ्नो कर्तव्यबाट विचलित नभइ निरन्तरको सेवा र सहयोग नै असल सन्तानको कर्तव्य हो ।

आमाबुवाको सेवाको अवसर पटक–पटक जीवनमा आउने होइन । जसमा थोरै मात्र संस्कार छ भने पनि उसले आधापेट खाएर वा संघर्ष झेलेर पनि जन्मदिने आमाबुवाप्रति सामाजिक दायित्व निर्वाह गरेको हुन्छ । सबैथोक भएर पनि आमाबुवाको सेवा र सहयोगमा मुन्टो बटार्ने सन्तान बिनापुच्छरका पशु हुन् । आजका छोरानाति भोलिको पुस्ताका बुवा, हजुरबुवा हुन् भन्ने यथार्थलाई मनन् गरी सभ्य समाजको निर्माणका खातिर घरपरिवार, समाज र राज्यले ज्येष्ठ नागरिक प्रतिको सम्मान र उत्तरदायित्व लिन कत्ति पनि विचलित नहोऔँ । प्रेम र दयाभाव सबैका लागि भन्ने मूलमन्त्रका साथ अघि बढौँ ।

मातृ देवो भवः पितृ देवो भवः व्यवहारका नभएर एक आदर्शमा मात्र सीमित हुन पुगेको छ । पाश्चात्य जीवनशैलीकै प्रभाव बढ्दो छ । संयुक्त परिवारको अवधारणा लगभग समाप्त हुँदै गएको छ । बदलिँदो जीवनशैली, वैदेशिक रोजगारीमा जाने क्रम बढेका र अन्य कारणले हेलामा परेर बृद्धाश्रम बस्ने क्रम बढेको छ । कतिपय ज्येष्ठ नागरिकको शेष जीवन घरआँगन वा पर्खालभित्र खुम्चिएको छ भने कतै कैदीको रुपमा पनि व्यवहार गर्ने गरिन्छ । यस्तो अवस्थामा घरमा कोही पाहुना, छोरी, ज्वाई, चेलीबेटी आएमा बृद्धबृद्धाहरु मनका वेदना पोख्न खोज्छन् तर घरमा छाडिएका सुराकीहरुका कारण मनको कुरा मनमै गुम्स्याएर कुण्ठापूर्वक बाँच्न बाध्य हुन्छन् ।

नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ बमोजिम ६० वर्ष उमेर पूरा गरेकालाई ज्येष्ठ नागरिकका रुपमा परिभाषित गरेको छ । विकासात्मक मनोविज्ञानले वर्गीकरण गरेअनुसार ६० वर्ष वा त्योभन्दा बढी उमेर समूहका व्यक्तिलाई ज्येष्ठ नागरिकको श्रेणीमा राखिन्छ । यस उमेरमा व्यक्तिहरुको विभिन्न विशेषताहरुमा ह्रास हुन्छ । यस उमेरमा व्यक्तिहरुको मानसिक क्षमतामा जस्तै सिकाइ, तर्क गर्ने, रचनात्मक, स्मृति, पुनःस्मरण, आनन्दमय स्वभाव र शब्द भण्डारमा कमी आउँछ ।

आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको भन्ने हाम्रो उखानले ज्येष्ठ नागरिकलाई सल्लाहकार, जिउँदो इतिहास र पुस्तकालयको रुपमा समेत लिन सकिन्छ भन्ने दर्शाएको छ । हाम्रो समाजमा कम उमेर भएकाहरुले आफूभन्दा जेठा व्यक्तिलाई श्रद्धाका रुपमा हेर्ने र सोही अनुरुप व्यवहार एवम् सम्बोधन गर्ने चलन रहँदै आएको छ । उमेर बढ्ँदै जाँदा शरीरमा विभिन्न खाले परिवर्तनहरु हुँदै जान्छ । आफू कमजोर छु, अब केही गर्न सक्दिन भन्ने हीनताबोध हुन थाल्छ । यस प्रकारको चिन्ता धेरै मात्रामा बढिरहँदा र मनमा हीनताबोध भइरहँदा प्रायः ज्येष्ठ नागरिकहरुमा मानसिक समस्याहरु हुन सक्दछन् ।

परिवारका सदस्यहरुले पर्याप्त समय दिन नसक्ने हुँदा उनीहरुमा एक्लोपन महशुस हुने गर्दछ । एक्लै घरमा बस्दा मनमा नकारात्मक कुरा खेल्ने भएकाले विभिन्न खालको मानसिक समस्याहरु उत्पन्न हुने हुन्छ । अवकास पछिको समयलाई सदुपयोग गर्न उपयुक्त योजना नहुनुले ज्येष्ठ नागरिकहरुमा अन्योलता सिर्जना हुन थाल्छ । अबको खाली समयमा के गर्ने भन्ने कुराको अन्योलले सताउन थाल्छ । ज्येष्ठ नागरिकहरुमा अनावश्यक रुपमा चिन्ता लिने बानी हुन्छ । परिवारका सदस्यहरु बारेमा सानो–सानो कुराहरुमा धेरै चिन्ता लिनुले उनीहरुलाई तनाव हुन्छ ।

यस्ता बानी पुरुषको तुलनामा महिलामा बढी देखिन्छ । विशेष गरी उनीहरुलाई आफ्नो बृद्धावस्थामा परिवारका सदस्यहरुले हेरचाह गर्लान् कि नगर्लान् भन्ने चिन्ता धेरैजसोमा पाइन्छ । जेनेरेसन ग्यापमा आएको परिवर्तनलाई आत्मसात गर्न नसक्दा उनीहरुका श्रीमान् वा श्रीमती गुमाउँदा आफ्ना कुरा सुन्ने एक्लो सहारा पनि गुम्ने कारणले उनीहरुमा नैराश्यताका लक्ष्णहरु देखा पर्दछन् । यसरी निराश हुँदै जाँदा धेरैजसोले आत्महत्या गर्ने गरेको पाइन्छ ।

ज्येष्ठ नागरिकहरुमा मानसिक समस्याहरु आउन नदिन घरपरिवारका सदस्यहरुको पनि महत्वपूर्ण भूमिका रहन्छ । घरमा भएका नयाँ किसिमका प्रविधि र साधनहरुसँग उनीहरुलाई परिचित गराउँनुपर्छ । उनीहरुको मनोभावना बुझेर उनीहरुलाई मन लागेको काम गर्न दिनुपर्छ । यसो गर्दा ज्येष्ठ नागरिकहरुमा मानसिक समस्या कम हुने सम्भावना हुन्छ ।

नेपालको जनगणना २०६८ अनुसार नेपालमा ज्येष्ठ नागरिकहरुको संख्या २१५४००३ (कुल जनसंख्याको ८.१३%) रहेको छ । २०७५ मा आइपुग्दा यो संख्या बढेर ३० लाख पुगेको अनुमान गरिएको छ । यीमध्ये झण्डै २००० संख्यामा ज्येष्ठ नागरिकहरु घरपरिवार बाहिर पराश्रित छन् । परिवारबाट हेला गरिएका, मानसिक सन्तुलन गुमाइ परिवारबाट विच्छेद भएर बृद्धाश्रम पुगेकादेखि अध्यात्मिक सन्तुष्टिका लागि स्वइच्छाले घर छोडी धार्मिक स्थलहरुमा सञ्चालित बृद्धाश्रममा आश्रय लिइ बसेका छन् ।

परिपक्व ज्येष्ठ नागरिकका ज्ञान, सीप, अनुभवलाई वर्तमान पुस्तामा हस्तान्तरण गरिनुपर्छ । सरकार स्वयम्ले ज्येष्ठ नागरिकलाई दिइएको सुविधा र सुरक्षा पर्याप्त छैन, उनीहरुको ज्ञान र सीप अर्को पुस्तामा हस्तान्तरण गर्न सकिएको छैन, अशक्तको सेवा गर्न सकिएको छैन भनी समस्याको पहिचान गरिएको सन्दर्भमा अब यसको निदानतर्फ जानुपर्छ । सबै ज्येष्ठ नागरिक राज्यले वा परिवारले सहयोग गर्नुपर्ने अवस्थामा छैनन् । पाको उमेरमा पनि स्वाभिमानपूर्वक आफ्नै खुट्टामा उभिन खोज्नेको संख्या ठुलो छ ।

यसर्थ ज्येष्ठ नागरिकलाई उनीहरुको अनुभव र सीपका आधारमा काम गर्न सक्ने वातावरण राज्यले बनाइदिनुपर्छ । नेपालमा ज्येष्ठ नागरिकलाई मासिक तीन हजार भत्ता दिने बाहेक अन्य ठोस सुविधा दिएको अनुभूति हुँदैन । यसर्थ ज्येष्ठ नागरिकलाई छुट सुविधाको प्याकेज घोषणा गरिनुपर्छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार, सुरक्षा गर्न बृद्धाश्रम, दिवासेवा केन्द्र, यातायातमा सुविधा, औषधोपचार तथा सामाजिक सुरक्षा भत्ता दिइ आएको कुरा योजनामा लेखिएको छ ।

ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित हुनुपर्ने सरकारको मान्यता छ । यसलाई कार्यान्वयन गर्न कानुनी व्यवस्था गर्नुपर्छ । सरकार स्वयम्ले ज्येष्ठ नागरिकलाई दिइएका सुविधा र सुरक्षा पर्याप्त छैन, उनीहरुको ज्ञान र सीप अर्को पुस्तामा हस्तान्तरण गर्न सकिएको छैन । अशक्तको सेवा गर्न सकिएको छैन । विभिन्न रोगको उपचार गर्न सकिएको छैन भनी समस्याको पहिचान गरिएको छ । अब यसको निदानको उपायमा जानु पर्दछ ।

प्रकृतिको नियमानुसार हामी सबै एक दिन ज्येष्ठ नागरिकमा रुपान्तरित हुनुपर्ने हुँदा समयसँगै यस विषयमा संवेनशील हुन जरुरी छ । ज्येष्ठ नागरिक मुलुकका अमूल्य सम्पत्ति हुन् । उमेर पाको भएपछि प्रत्येक मानिसलाई आइपर्ने आपत्विपत् भनेकै स्वास्थ्यमा गडबडी हो । उमेर ढल्किँदै गएपछि अनेक रोगले अचेट्छ । यस बखत पैसा र परिवारको आवश्यकता बोध हुन्छ । यसर्थ प्रत्येक अस्पतालमा ज्येष्ठ नागरिकको उपचारको विज्ञ, चिकित्सक, उपकरण, वार्ड र बेडको व्यवस्था गरिनुपर्छ ।

यसरी हामीले जेरियार्टिक वार्ड खडा गर्न ढिला गर्नु हुँदैन । यस विषयमा विज्ञ चिकित्सक उत्पादन गर्न छात्रवृत्ति दिन जरुरी छ । हाल मुलुकका १६ वटा अस्पतालमा मात्रै यो सुविधा उपलब्ध छ । नेपाल सरकारले ७५ वर्ष माथिका उमेर समूहका मुटु रोगी विपन्न भएमा निःशुल्क अप्रेसन गरिदिने व्यवस्था गरेको छ । यसैगरी अल्जाइमरमा एक लाखको सहयोग उपलब्ध हुने व्यवस्था छ । यस अतिरिक्त सरकारले ज्येष्ठ नागरिकका लागि एक लाखको बिमा गरिदिएको छ तर यी सबै महँगीका अगाडि हात्तीको मुखमा जिरा साबित भएका छन् ।

सरकार स्वयम्ले ज्येष्ठ नागरिकलाई दिएको सुविधा पर्याप्त छैन । उनीहरुको ज्ञान र सीप अर्को पुस्तामा हस्तान्तरण गर्न सकिएको छैन । अशक्तको सेवा गर्न सकिएको छैन भन्ने समस्याको पहिचान गरिएको सन्दर्भमा यसको निदानतर्फ लाग्नुपर्ने देखिन्छ ।