गुलमोहरको रूखमुनि टिकटक उत्सव …

टिकटक डायरी
खेमराज रिजाल
दाङ, ८ जेठ । टिकटकको छटपटी थियो वा चरम गर्मीको हुटहुटी । अधिकांश महिलाहरू पारदर्शी हल्का कपडा लगाइरहेका देखिन्छन् । हल्का अर्थात् हावाले उडाइदिने बस्त्रको पहिरन । काखे–नानी च्यापेरै पनि धेरैले जिल्ला समन्वय समितिको पर्खालभित्र लगाइएका गुलमोहरको मनोरम दृश्यमा नाचिरहेका छन् । लिपसिङ् सँगै गाइरहेका छन् ।

फोर, थ्री, टु, वान गो …। कक्षा बाह्रको परीक्षा सकिने अन्तिम दिन त जिसस गेट अगाडि निकै ठूलो जमघट थियो, टिकटक बनाउनेहरूको । मानौ त्यहाँ कुनै भव्य मेला महोत्सव चलिरहेको थियो । ‘वान टु थ्री गो’ भन्दा एउटा भाकाको गीतमा महिलाहरू लाइन लागेर अघि बढिरहन्छन् । फोटो खिच्ने प्रोफेश्नल फोटो ग्राफरहरू बिहानैदेखि जुम क्यामेरा लिएर त्यहाँ हाजिर भइसकेका हुने रहेछन् । एउटा टिकटक फोटोको ५० रूपैयाँ लिने गरेको ती प्रोफेश्नल क्यामेराम्यानले बताए । यो अवधिमा उनले ३० हजार रूपैयाँ कमाइसकेको बताए ।

अर्थात् टिकटक महोत्सव । विगत केही वर्षदेखि बैशाख र जेठ महिनाभर जिसस दाङको अगाडि टिकटक मेला लागिरहन्छ । जिल्लाभरमा युवायुवती मात्र होइन, पोखरादेखि धरानसम्मका नागरिकले यो स्पटमा टिकटक बनाएका छन्, गुलमोहरको बोटमुनि । ‘कति सुन्दर फूल रहेछ, अझ बाह्रैमास फुल्ने कुनै फूल रोपिदिएको भए हामी जुनसुकै बेला यहाँको फूललाई पर्मोट गर्न दाङ आउने थियौँ’, कास्की पोखराबाट आएका आनन्द शर्माले भने । आनन्दको जोडी पनि आनन्दको थियो ।

हिपपप, टिपटप । श्रीमान–श्रीमती थिए, उनीहरू ।साथमा बच्चा समेत लिएर आएका थिए । जब स्कूल छुट्टी हुन्छ, गुलमोहरको रूखमुनि टिकटक बनाउने भिड एकाएक वृद्धि हुन्छ । अर्थात् कुनै बेला ट्राफिक जाम समेत भैदिन्छ, जिविस रोडमा । कति सुन्दर गुलमोहर ? यसको प्रश्न खोतल्दै जाँदा तात्कालीन जिल्ला सभापति खिमबहादुर शाहका पालामा रोपिएका थिए, ती गुलमोहरका बोट । चाँडै हुर्कने विरूवा भएकाले अहिले रूख बनिसकेका छन् । सय वर्षसम्म फुलिदिन्छन् रे गुलमोहर …। त्यसपछि बूढा धोध्रा हुन थाल्छन् ।

जब गुलमोहर फूलले पातै छोपिदिन्छ, बिहान र साँझपख फूललाई मान्छेले छोपिदिन्छन् । क्या भाइरल बनेको रहेछ यो सडक भन्दै एक जना घोराही उपमहानगरपालिकाका एकजनाले भनिरहेका थिए । यस्तै विरूवा निजी क्षेत्रले रोपेर हुर्काउन सके गुलमोहर एउटा पर्यटन बन्न सक्ने पनि उनको भनाइ थियो । टिकटक पार्क बनिरहेछ पछिल्ला केही वर्षदेखि जिसस गेट । पछिल्लो समयमा जिसस सुनसान भएपछि टिकटक बनाउनेहरू अनायसै कार्यालय प्राङ्गणभित्रै छिरेर भिडियो बनाउने पनि गर्नथालेका छन् ।

सडकभन्दा बढी आकर्षण अहिले जिल्ला समन्वय समितिले सडक किनारामा बनाएका व्यावसायिक भवनका छतमा देखिन्छ । घुम्दै–घुम्दै म छतमा पनि पुगेँ । सोधे यहाँ कसरी आएको ? टिकटक बनाउने त्यो जोडीलाई क्यामरा म्यानले त्यहाँ पु¥याइदिएको रहेछ । छतमा पुगेर फोटो लिएपछि पूरै सुन्दरता क्याप्चर हुने भन्दै त्यो जोडी क्यामेरा–म्यान सँगै छतमा भिडिओ रेकर्डमा तल्लीन थियो ।

दूरदशी थियो होला सायद, त्यो बेलाको जिल्ला विकास समितिमा । त्यसैले परिषरभरि फूलैफूल छन् । स्थानीयबासी धार्मिक कार्यक्रमका बेला फूल टिप्न समेत जिल्ला समन्वय समितिभित्र छिर्ने गरेका छन् । फूल भगवान्लाइ चढाउनकै लागि त हो नि भनेपछि कार्यालय सहयोगी पनि कसीकसाउ गरेर जोगाउन सक्दैनन् । बगैँचाका कार्यालय बनेको छ, दाङ जिल्ला समन्वय समिति । आँप, अमला, कटहर, सिसौलगायतका दर्जनाँै विरूवाको हरियालीले जिल्ला समन्वय समितिको प्राकृतिक सौन्दर्यता बढाएको छ । नागरिकलाई शीतलता प्रदान गरिरहेको छ ।

‘यो प्राकृतिक सौन्दर्यतालाई दिगो राख्न चाहन्छौँ, यो सुन्दर बगैँचाको संरक्षण र प्रबद्र्धनलाई हामीले आफ्नो दायित्वका रूपमा लिएका छौँ’, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले भने । अहिले जिससलाई चिनाउने भनेकै यी गुलमोहरका सुन्दर फूलहरूले हो । जिल्ला समन्वय समिति परिषरमा कम्तिमा एक दर्जन जति गुलमोहरका रूखहरू छन् । यति सुन्दर फूल जिल्लाका अन्य पार्कहरूमा भने छैनन् । जिल्ला समन्वय समितिको प्राङ्गणभित्रै बर्सातको मौसममा सयौँ विरूवा समेत उम्रने गरेका छन् तर ठूलो वृक्ष भएर फुल्ने भएकाले निजी क्षेत्रले यसलाई ग्रहण गर्न सकिरहेको छैन ।

धारापानी, बाह्रकुने, राप्ती शान्ति उद्यानजस्ता धार्मिक एवम् पर्यटकीय क्षेत्रमा यो फूल लगाउन सकिने अगुवाहरूले बताएका छन् । फूल एउटा सुन्दरताको स्वरूप हो । प्रेमको प्रतीक हो । त्यसैले गुलमोहर फूललाई सबैले स्वीकार गर्ने रूख हो । यो वातावरणसँग पनि जोडिएको छ । वातावरणविदकाअनुसार गुलमोहरको रूखले सामान्यतया त्यस क्षेत्रमा अक्सिजनको मात्रा समेत वृद्धि गर्दछ । जसका कारण त्यस क्षेत्रमा गर्मीको मौसममा पनि शीतलताको अनुभूति हुनसक्छ । अहिले टिकटक पर्यटन बनेको छ, जिविस रोड । अन्य पार्क तथा पर्यटकीय क्षेत्रभन्दा जिसस रोडमा मानिसको घुइँचो बढी देखिन्छ, अचेल ।