बालाराम खड्का
तुलसीपुर, ९ जेठ । आँखा स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरी दृष्टिविहीनतालाई न्यूनिकरण गर्न आँखाको उपचारात्मक, पुनःस्थापना र सचेतना कार्यक्रममा साझेदारी आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत् सञ्चालित राप्ती आँखा अस्पतालको आयोजनामा तुलसीपुरमा भएको छलफलमा जनप्रतिनिधिहरूले सो कुरा बताएका हुन् । उनीहरूले नेपाल नेत्रज्योति संघको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूल नारा सहितको कार्यक्रमलाई अगाडि बढाई दृष्टिविहीनतालाई न्यूनिकरण गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘उज्यालो अभियान कार्यक्रम’ अन्तर्गत् निःशुल्क आँखा उपचार सेवाको लागि साझेदारी कार्यक्रम सञ्चालन गर्ने, अस्पताललाई अति आवश्यक उपकरण व्यवस्थापनमा सहयोग र उपचारबाट निको नहुने न्यूनदृष्टि तथा दृष्टिविहीनहरूको पुनःस्थापना कार्यक्रममा साझेदारी गरी आर्थिक वर्ष २०८०÷०८१ मा दृष्टिविहीनता न्यूनिकरणको लागि साझेदारी कार्यक्रमको योजनाहरू अस्पतालले अगाडि सारेको कार्यक्रममा प्रमुख प्रशासक शम्शेर थापाले बताए ।
थापाले सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९÷०८६ को विषयमा सहभागीलाई प्रकाश पारेका थिए ।नेपाल, लुम्बिनि प्रदेश र जिल्लाको बंगलाचुली, बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका, तुलसीपुर र घोराही उपमहानगरपालिकाको दृष्टिविहीनताको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता, समन्वय समितिका उपप्रमुख चेतना चौधरी, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा शर्माले नेपाल नेत्रज्योति संघ दाङ शाखाले स्थापनाकालदेखि नै नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवम् बाह्य सहयोगको माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, पुनःस्थापना तथा सचेतनात्मक सेवा गर्दै आइरहेको बताए ।
उनले नेपाल नेत्रज्योति संघ दाङले तीनवटै आँखा अस्पतालहरू र उपचार केन्द्रहरू सञ्चालन गरी लुम्बिनी प्रदेशअन्तर्गत्को जिल्लाहरूका साथै कर्णाली प्रदेशमा समेत उपचारात्मक र सचेतनात्म कार्यक्रम सञ्चालन गरेको बताए । ‘आँखाका विशिष्टिकृत सेवाहरू सम्पूर्ण उपचार सेवा प्रदान गरी घरआँगनमै जनतालाई सर्वशुलभ सेवा अस्पतालले दिएको छ’, उनले भने । शर्माले सबै पालिकाहरूको सहकार्यले मात्र अन्धोपन न्यूनिकरण गर्न सकिने भन्दै सहयोग गर्न आग्रह गरे ।
नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालमा मित्रराष्ट्र भारतका जनताले पनि सेवा लिइरहेको भन्दै यो सबै दङालिबासीको गौरवको कुरा भएको सुनाए । ‘यसले गर्दा दाङको यो गहनाको रूपमा रहेको अस्पतालको विकासमा हामी सबै लाग्नुपर्छ । सहयोग सबैको भयो भने हामी पक्कै पनि सबै सेवा यहीँ पाउनेछौँ’, शर्माले भने ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्यबिना कुनै पनि विकास सम्भव नरहेको भन्दै आँखा झनै संवेदनशील रहेको बताए । उनले ग्रामीण क्षेत्रका भन्दा सहरी क्षेत्रका नागरिक सबैभन्दा बढी समस्यामा रहेको भन्दै अब आँखामा आइरहेको समस्यालाई परीक्षण गरी स्थानीय पालिकाले विशेष अभियान चलाउनुपर्ने बताए । ‘पछिल्लो तथ्याङ्क हेर्दा सहर–बजारमा बस्ने नागरिकमा आँखाको समस्या धेरै देखिएको छ, के–कति कारणले उनीहरूमा यस्तो समस्या देखिएको हो भनी परीक्षण गरी प्रदूषण कम गर्ने अभियानमा जुट्ने छौँ’, उनले भने ।
चौधरीले राप्ती आँखा अस्पतालसँग गरिएको उज्यालो अभियान साझेदारी कार्यक्रमअन्तर्गत् यस आर्थिक वर्षमा घोराहीका १ सय ६३ जनाले निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो दिएको भन्दै आगामी दिनमा पनि सेवा दिने बताए । ‘कमजोर र गरिबवर्गका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षमा पनि आवश्यक बजेट विनियोजन गर्ने छौँ, यो हाम्रो प्रतिबद्धता हो’, उनले भने ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले साझेदारी कार्यक्रमअन्तर्गत आफूहरूले कार्यक्रम सञ्चालन गरिहेको बताए । उनले विपन्न परिवारका व्यक्तिहरू अझै पनि आँखा उपचारको पहुँचमा आउन नसकेको भन्दै उनीहरूलाई उपचारको पहुँचमा ल्याउन आँखा स्वास्थ्य कार्यक्रमलाई गाँउ–गाँउसम्म पु¥याउनुपर्ने बताए । ‘हामीले गर्नसक्ने सहयोग र साझेदारी कार्यक्रममार्फत् अन्धोपन न्यूनिकरणमा सहयोग र साथ छ’, उनले भने । उनले कोही पनि आँखा उपचारबाट वञ्चित नहुने गरे सेवा दिनका लागि आफूहरू तयार रहेको बताए ।
कार्यक्रममा संघका सभापति गिरीले राप्ती तथा बहादुरगञ्जको कार्यक्रमलाई सन् २०३० (वि.स २०८७) सम्ममा आत्मनिर्भर बनाउने लक्ष्य रहेको भन्दै मेसिन औजार खरिद तथा भौतिक निर्माणका लागि साझेदारी हुँदै आएको बताए । उनले राप्ती आँखा अस्पताल ट्रर्सरी लेवलबाट सेण्टर एक्सलेन्टमा स्तरोन्नति गर्ने, छन्द (कालेबाबु) आँखा अस्पताल बहादुरगञ्जलाई ट्रर्सरी लेवलमा स्तरोन्नति गर्ने, दृष्टिविहीन पुनःस्थापना कार्यक्रमलाई सुदृढ गर्ने र आँखा अस्पतालमा ४ वटा विशिष्टिकृत सेवाहरू आँखाको पर्दा, आँखाको नानी, अकुलोप्लाष्टिक र बालआँखा रोगसम्बन्धी सम्पूर्ण उपचार सेवा प्रदान गरेको भन्दै थप सेवा विस्तार गर्ने बताए । ‘हामीले स्थानीय, प्रदेश सररकार स्थानीय दाताहरूसँगको साझेदारीमा केही कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ, थप साथ र सहयोग आवश्यक छ’, उनले भने ।
एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, बबई गाउँपालिका अध्यक्ष कूलबहादुर खत्री, शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी, घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य सहसंयोजक बिमल केसी, शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनलगायतले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गरी अन्धोपन न्यूनिकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।