दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
लिलाधर वली
दाङ,१७ कार्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । दाङमा निर्वाचन क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन थालेको छ । निर्वाचनको तयारी अनुसार दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराएका थिए ।
नेपाल बार एशोसियसन दाङको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतले एक कार्यक्रमका विच औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै दाङमा निर्वाचनका गतिविधिहरु औपचारिक रुपमा सुरु हुने छन् ।
जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार दुई स्थानका लागि हुने निर्वाचनमा जम्मा ७३ हजार एक सय ७२ जना मतदाताले भाग लिनेछन् । क्षेत्र नं. ३ (ख)मा ६८ हजार सात सय १९ जना र घोराही उपमहानगरपालिका वडा नं. १६ मा ४ हजार चार सय ५३ जना मतदाताहरु रहेका छन । क्षेत्र नं. ३ (ख) मा दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, १० र ११ नम्वर वडा गरि २५ वटा वडाहरु रहेका छन । दुई स्थानको निर्वाचनका लागि ३४ मतदान स्थल र ८२ केन्द्रहरु तोकिएको छ । जसमा निर्वाचन क्षेत्र नं. ३ (ख) मा ३२ निर्वाचन स्थल र ७७ केन्द्र र घोराही उपमहानगरपालिका वडा नं. १६ मा दुई मतदान स्थल र पाँच वटा केन्द्र निर्धारण गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्राई, जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्री,सहायक निर्वाचन अधिकारी धनिप्रसाद चपाई, नेकपाका प्रतिनिधि लक्ष्मण आचार्य, नेपाली काग्रेसका प्रतिनिधि निर्मल गौतमलगायतका अतिथिहरुको उपस्थीति रहेको थियो ।