सुत्केरीको मृत्युपछि प्रतिष्ठानमा तनाव, दोषीलाई कारवार्हीको माग गर्दै पीडित पक्षद्वारा आन्दोलन

घोराही, २९ बैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि उनका आफन्तजनले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी मधु बुढाथोकी केसीको विहीवार प्रतिष्ठानमा मृत्यु भएपछि घट्नाको उचित अनुसन्धानसहित क्षतिपूर्तिको माग राख्दै शुक्रवार बिहानैदेखि आफन्त तथा पीडितहरु आन्दोलनमा उत्रिएका छन् ।

२८ वर्षीया मधु केसीको विहीवार दिउँसो १ बजे सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान शेरबहादुर केसीले बताउनुभएको छ । उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनैपनि जानकारी नगराई आफू खुशी सुत्केरीको उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान केसीले जानकारी दिनुभएको छ ।

मृतकका श्रीमान केसीले भन्नुभयो, ‘प्रतिष्ठानको रिपोर्ट अनुसार डेलीभरीका लागि विहीवार विहान ९ बजे आइपुगेका थियौ । दिउँसो १ बजे नर्मल डेलीभरी भयो भन्नुभयो । तर बच्चा जन्मिएपछि साल निस्किएको रहिन्छ । जसका कारण महिलाको मृत्यु हुन पुग्यो ।’ बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागजमा हस्ताक्षर गर्न लगाएको श्रीमान बताउनुहुन्छ ।

‘पहिले राम्रै छ भनेका थिए, तर बिरामीको अवस्था सिरिएस भएपछि पाठेघरको अप्रेसन गरेर साल निकाल्ने भनेर मलाई हस्ताक्षर गर्न लगाउनु भयो । त्यसको केही क्षणमै बिरामीको मृत्यु भयो भन्नुभयो ।’ सुत्केरी हुनुअघि प्रतिष्ठानमै सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको अवस्थामा प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकी बताउनुहुन्छ । शिशुको अवस्था भने सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

मृतकले उचित क्षतिपूर्ति, लापरवार्ही गर्नेलाई कारवार्हीसँगै शिशुको पालनपोषण र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नुपर्नेलगायतका माग राख्दै विहानैदेखि आन्दोलनमा उत्रिएका छन् । शरीरको सबै अंक परिक्षण हुनुपर्ने उनीहरुको माग छ । सुत्केरीको मृत्युको विषयमा प्रतिष्ठानले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर पीडितहरु समक्ष सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रतिष्ठानले प्रारम्भिक जवाफ दिएको मृतकका श्रीमान केसी बताउनुहुन्छ ।

घट्नाका विषयमा निकास खोज्न बिहान प्रतिष्ठान र पीडित पक्षबीच छलफल भएपनि निकास निस्कन नसेको पीडित पक्षले जनाएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले चासो लिँदै प्रतिष्ठान र पीडित पक्षलाई राखेर समस्याको निकास खोज्ने प्रयास भैरहेको बताउनुभएको छ ।