Goraksha

National Daily

उपभोक्ता अधिकारमा खेलवाड, उवासंघ भन्छ : ‘गुनासो आए कारबाही’

दाङ बैशाख १ । आफुले खरिद गर्ने चिजको गुणस्तरीयता र ताजापन जाँच गर्न पाउने अधिकार हरेक उपभोक्ताको आधारभूत अधिकार हो । तर, लकडाउनको व्यापारमा उपभोक्ताहरु यस्तो अधिकारबाट बञ्चित हुँदैछन् ।

कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउन लम्ब्याईरहेको छ । लकडाउनको समयमा नागरिक बाहिर निस्कन नपाउने भएपछि खाद्यान्न तथा तरकारी एबं फलफूल उपलब्ध गराउन ‘होमडेलिभरी’ सेवा सुरु भएको छ । घरमै यी सामान उपलब्ध हुनुले आम सर्वसाधारणहरुका लागि निकै सहज हुने नै भयो । तर तरकारी तथा फलफूल व्यवसायिहरुले भने होमडेलिभरी सेवाका नाममा उपभोक्ताको आधारभूत अधिकारलाई पूर्ण रुपमा बेवास्ता गर्न थालेका छन् ।

‘हामीले तोकेको भन्दा बढी मूल्यमा बेचेको पाइएमा र गुणस्तरहिन सामग्री उपभोक्तालाई दिएमा हाम्रो अनुगमन समितिले सिफारिस गर्छ, त्यसपछि हामी कारबाही गर्छौं’, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले भने,‘अहिलेसम्म गुनासो आएपछि केही व्यवसायीलाई सचेत समेत गराइसकेका छौ ।’

उपभोक्ताले तरकारी तथा फलफूल व्यवसायीहरुबाट अमानवीय व्यहार सहनु परेको गुनासो गरेका छन् । ‘गाडीमा फलफूल तथा तरकारी बोकेर आउने व्यापारीहरुले तरकारी छान्न समेत दिँदैनन्’ उपभोक्ताहरुको साझा गुनासो हो यो । व्यवसायीहरु आँफैले हालिदिने भएका कारण कुहिएका तरकारी तथा फलफूल खान बाध्य हुनु परेको एक उपभोक्ताले जानकारी दिए । ‘छुन पाइन्न भनेर तरकारी छान्न पनि दिँदैनन्,’ ति सर्वसाधारणले भने,‘आँफै हालिदिन्छन्, कुहिएका तरकारीसमेत हालिलिएका हुन्छन् ।’ ती व्यापारीको व्यवहार समेत रुखो हुने गरेको गुनासो उपभोक्ताहरुको छ । ‘उनिहरुले जस्तो दियो, हामीहरुले त्यस्तै खानु पर्ने भएको छ,’ घोराही १५ कि बिन्दू रोकाले भनिन्, ‘हामी केहि बोल्यो कि झपार्छन् ।’

घरघरमा सेवा दिने नाममा व्यवसायीहरुबाट गरिएको यो ज्यादती रोकिनु पर्ने सर्वसाधारणहरुको माग छ । ‘घरघरमा सेवा दिने नाममा आफ्नो व्यापार व्यवसायलाई मात्रै हेरिएको छ,’ रोकाले भनिन्, ‘अहिले बजारमा देखिएको यो समस्या समाधानका लागि पहल गरियोस् ।’

यता दाङ उद्योग बाणिज्य संघले भने कोही व्यवसायीले त्यस्तो काम गरेमा जानकारी दिन आग्रह गरेको छ । ‘हामीले तोकेको भन्दा बढी मूल्यमा बेचेको पाइएमा र गुणस्तरहिन सामग्री उपभोक्तालाई दिएमा हाम्रो अनुगमन समितिले सिफारिस गर्छ, त्यसपछि हामी कारबाही गर्छौं’, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले भने,‘अहिलेसम्म गुनासो आएपछि केही व्यवसायीलाई सचेत समेत गराइसकेका छौ ।’ उनले सबैले सामान छोएर लिंदा संक्रमणको जोखिम हुन्छ भनी प्याकेटमा राखेर बिक्रिवितरण गर्ने व्यबस्था मिलाइएको जानकारी दिदै भने, ‘ती पोकाहरुमा कस्तो सामान छ भनेर हामीले निरन्तर अनुगमन पनि गरिरहेका छौं ।’