Goraksha

National Daily

बाँकेको नरैनापुरका विद्यालयमा छट्के अनुगमन, विद्यालय नगएरै तलव खादै शिक्षक

बाँके,२४ बैशाख । बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आइतबार छडके चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ ।

गाउँपालिकाको वडा नं. ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले विद्यालयको छडके अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौ दिनसम्म पनि विद्यालयमा उपस्थित नभई तलब लिएको र शिक्षकहरुले हप्तौदिनसम्म हाजिरी नगरेको पाइएको हो ।

अनुगमनका क्रममा नरैनापुर गाउँपालिका वडा नंं. ४ जयरामपूर्वामा रहेको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि मदरसा नआएको पाएको छ । चैत महिनामा पनि शिक्षिका जयमती २ दिन र खाजा व्यवस्थापक रामजी एकदिन मात्रै मदरसा उपस्थीत भएका छन् ।

अचम्म त उनीहरुले मदरसामा नआएपनि तलब भने पाइरहेका छन् । उनीहरु दुवै गाउँपालिकाले राहतमा खटाएका कर्मचारी हुन् । यस विषयमा मदरसाका प्रध्यानाध्यपक इब्राइम खान उहाँहरुलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको बताउँछन् । ‘उहाँहरुलाई हामीले धेरै पटक फोन गरेका छौं । गाउँपालिकामा पनि निवेदन दिएका छौं । तर पनि उहाँहरु मदरसामा आउनु हुँदैन’,प्रध्यानाध्यापक खानले भने,‘तर तलब भने उहाँहरुले पाइरहनु भएको छ ।’

त्यस्तै वडा नं. ५ मा जमुनहामा रहेको मदरसा गौसुलवरा जामिया अहिले सुन्नतमा अनुगमनका क्रममा संयोजक मौर्यसहितको टोली पुग्दा प्रध्यानाध्यापक नै भेटिएनन् भने शिक्षकहरुको हाजिरी रजिष्टर माग्दा आफुहरुलाई थाहा नभएको बताए । तर संयोजक मौर्यले दबाब दिएपछि मात्र शिक्षकहरुले हाजिरी रजिष्टर देखाए ।

तर उक्त हाजिरी रजिष्ट्ररमा कुनै पनि शिक्षकले वैशाख महिनामा हाजिरी गरेको पाइएन । त्यस्तै मदरसामा कति विद्यार्थी अध्ययनरत छन् ? भने प्रश्न गर्दा कोही पनि शिक्षकले त्यसको उत्तर दिन सकेनन् । एक जना शिक्षकलाई किन हाजिरी नगर्नु भएको भनेर संयोजक मौर्यले प्रश्न गर्दा उनले नयाँ वर्षको हाजिरी रजिष्टर नै नबनाएको जवाफ दिए ।

त्यस्तै बेतिथि वडा नम्बर ४, जमुनहामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि देखियो । अनुगमनका क्रममा उक्र विद्यालयमा पनि प्रध्यानाध्यपक भेटिएनन् । कुनै कक्षा कोठा शिक्षक नै उपस्थिति नभएको पाइयो । अचम्म त ३ जना शिक्षकशिक्षिकाले त एकैपटक आएको र गएको हाजिरी लगाएको पनि पाइयो भने केही कक्षामा विद्यार्थीको पनि हाजिरी नगरेको पाइयो । साथै धेरैजसो शिक्षकले हप्तौदिनदेखि हाजिरी नै नगरेको पाइएको थियो ।

यस विषयमा संयोजक मौर्यले प्रश्न गर्दा शिक्षक र शिक्षिकाहरु नयाँ वर्ष भएको, कक्षा भर्खर सुरु भएको, कोही छुट्टीमा भएको जस्ता जवाफ दिएर समस्यालाई लुकाउने खोजे भने केही शिक्षकले अनुगमन कै क्रममा विद्यार्थी र स्वयम् शिक्षक र शिक्षिकाले हाजिरी गरे । सो क्रममा अनुगमनका क्रममा सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटी, समस्या देखिएको संयोजक मौर्यले बताए ।

‘यो पहिलोपटक हामीहरु यसरी छडके अनुमगनमा गएका हौं । त्यसैले सबै विद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौ’, मौर्यले भने,‘अर्कोपटक फेरि अनुमगनमा जाने छौं । यस्तै समस्या देखियो भने कारबाही गर्ने छौं ।’