Goraksha

National Daily

नेत्रज्योति संघको साधारणसभा तथा अधिवेशन,आँखा स्वास्थ्य सेवाको स्तरवृद्धि गरिने

गोरक्ष समाचारदाता
तुलसीपुर, २३ बैशाख । नेपाल नेत्रज्योति संघअन्तर्गत चलेका अस्पतालले समुदायमा रहेको आँखा तथा कान स्वास्थ्यको समस्यालाई न्यूनिकरण गर्न थप योजना अगाडि सारेको छ । नेपाल नेत्रज्योति संघ दाङको १९औँ साधारणसभा तथा अधिवेशनमा संघद्वारा सञ्चालित अस्पतालहरूले विभिन्न विशिष्टिकृत सेवा दिएको र अझै यसलाई थप गर्न सहभागीको सुझाव थियो ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्शेर थापाले आफूहरूको परिकल्पना दृष्टिका लागि सहकार्य ध्येय आँखा स्वास्थ्य सेवा तथा पहुँचलाई गुणस्तरीय सेवाको माध्यमबाट सुदृढ गर्ने र लक्ष्य आँखा स्वास्थ्य (कार्यक्रम राप्ती तथा बहादुरगञ्जको कार्यक्रमलाई–विसं २०८६) सम्ममा आत्मनिर्भर बनाउने भएको बताए । उनले नेपालमा दृष्टिविहीनताको अवस्था, हालसम्म अस्पतालले दिएका सेवा तथा भावि योजनाको बारेमा जानकारी गराएको थिए ।

अधिवेशनमा प्रस्तुत गरिएको प्रतिवदेनमा आँखा स्वास्थ्य सेवालाई स्तरोन्नति गरी आधुनिक प्रविधिबाट जलविन्दु सेवा सञ्चालन गर्ने, अस्पतालमा थप विशेषज्ञ सेवा वृद्धि गर्ने, थप अत्याधुनिक उपकरणहरूको माध्यमबाट आँखा उपचार सेवा विस्तार गर्ने उल्लेख गरिएको छ ।

यसैगरी आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरेर ग्रामीण भेगहरूमा सञ्चालन गर्दै आइरहेको आँखा शिविरका कार्यक्रमलाई वृद्धि गरिने भएको छ । संघका सचिव सुरेन्द्रबहादुर खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा सल्यान र रुकुम पश्चिमका उपचार केन्द्रलाई सर्जिकल सेण्टरका रूपमा विकास गर्नुका साथै तुलसीपुर, लमही र बहादुरगञ्जमा सञ्चालनरत आँखा अस्पतालमा बालबालिका र महिलामैत्री बनाएर सेवाको पहुँचमा वृद्धि गर्ने गरी २० वटा योजना अघि सारिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङ शाखाको स्थापनाकालदेखि यसले नेपालमा अन्धोपन निवारणका विभिन्न कार्यहरू गरी सेवा दिएको र तीनवटा आँखा अस्पताल र उपचार केन्द्रबाट लुम्बिनी प्रदेशअन्तर्गत्को जिल्लाहरू कपिलवस्तु, दाङ, रोल्पा, प्युठान, रुकुम पूर्व र कर्णाली प्रदेशअन्तर्गत्को जिल्लाहरू सल्यान, पश्चिम रुकुममा आँखा पचार सेवा, निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य तालिम, विद्यालय आँखा जाँच तथा स्वास्थ्य शिक्षा कार्यक्रम दिँदै आएको सहभागीको भनाइ थियो ।

संघका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा संविधान सभा सदस्य बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै भण्डारीले संघद्वारा सञ्चालित अस्पतालले दिएको सेवाहरू निकै प्रभावकारी रहेको भन्दै यसको विकासका लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताए । ‘सरकारको लगानीबिना जनतालाई यस्तो सेवा दिएको छ, अब हामी सवैको सहयोगले यसको विकास हुन्छ’, उनले भने ।

जिल्ला समन्वय समितिका उपसंयोजक चेतना चौधरीले अस्पतालले दूरदराजका जनतालाई गुणस्तरी सेवा दिइ अन्धोपनमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले यस क्षेत्रको गहनाको रूपमा रहेको आँखा अस्पतालको विकासका लागि आफूहरू लागिपरेको बताए । ‘नेपाल नेत्रज्योति संघअन्तर्गत् सञ्चालित अस्पतालहरूले राम्रो सेवा दिएका छन्, हामीले पनि अन्धोपन न्यूनिकरणका लागि साझेदारी गरेका छौँ’, उनले भने ।

कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष द्रोण गुरागाइँले संघद्वारा सञ्चालित अस्पतालले विभिन्न दातृ निकाय र स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँगको सझेदारीमा अन्धोपन न्यूनिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । उनले नेपाल सरकारको दायित्वलाई आफूहरूले पूरा गर्न सफल भएको समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति कीर्तिबहादुर खड्का, लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य लीलाराम खनाल, नेकपा एमाले दाङका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, नेकपा समाजवादीका भुपबहादुर गिरी, राष्ट्रिय जनमोर्चाका ढुण्डिराज खनाललगायले अस्पतालको विकास र विस्तारका लागि सबै लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संघका सभापति कृष्णकुमार गिरीले आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत् हाल राप्ती आँखा अस्पतालमा ४ वटा विशिष्टिकृत सेवाहरू सञ्चालन गरी लुम्बिनी प्रदेशको अब्बल अस्पतालको रूपमा विकास गर्न–गराउन लागेको बताए ।

कार्यक्रममा पूर्व नगर प्रमुख ढुण्डीराज लामिछाने, मानवअधिकार तथा शान्ति समाजका पूर्व बरिष्ठ उपाध्यक्ष सुशील बस्नेत, प्रेस युनियनका उपाध्यक्ष नारायण खड्का, नेपाल रेडक्रस सोसाइटीका मदन धिताल, नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लीला शाह, लायन्स क्लवका समाजसेवी ध्रुव गौतम, नेपाल नेत्रज्योति संघका आजीवन सदस्य गोविन्द रेग्मी, चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपसभापति रेशमबहादुर खड्काको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासक शम्शेर थापाले अस्पताले प्रदान गरेका सेवाहरूको बारेमा प्रकाश पारेका थिए भने सचिव सुरेन्द्र खड्काले प्रगति र संघका कोषाध्यक्ष श्यामप्रकाश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा चिफ मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवालाई सम्मान गरिएको थियो ।

यसैगरी चिकित्सकहरूको तर्फबाट कर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटा, प्रशासकको तर्फबाट किरण पौडेल, नेत्र सहायक सुरज शाहु, सिनियर आई–वर्कर सावित्रा केसी र कार्यालय सहयोगी तुलारामी चौधरीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । यसैबीच संघको शनिवार हुने अधिवेशनले आगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ । कार्यक्रमको सहजीकरण सचिव सुरेन्द्रबहादुर खड्काले गरेका थिए ।