एक सर्जक जसका दुई सय बढी गीतहरू रेकर्ड भएका छन्् । ती गीत चर्चित गायक÷गायिकाले गाएका छन् । जसले गर्दा गायक तथा गायिकाहरू चर्चाको शिखरसम्म पु¥याउने काम गरेको छ तर सर्जक भने गुमनामजस्तै किनारामा छन्, दण्डपानी पाण्डे । शान्तिनगर निवासी पाण्डेयले करिब २५–३० वर्षको अवधिमा तीन सय बढी गीतहरू सिर्जना गरेका छन् ।
ती गीतमध्ये रेडियो नेपालमा पहिलो गीत ‘जाउँ बुढी हाम्रो घरमा, बाटो यतै हो’, बोलको गीत रेकर्ड गर्दाको क्षण जीवनको पहिलो खुसीको क्षण भएको उनी बताउँछन् । जुन गीत लोक गायक स्व. राम थापा र सीता थापाको स्वरमा २०५२ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । ‘गीतसंगीतप्रति मेरो सानैदेखि रुचि थियो । जसले गर्दा पनि मलाई गीत रेकर्ड गर्ने ठूलो धोको थियो तर अहिलेजस्तो सजिलो थिएन’, पाण्डे भन्छन्, ‘निकै मिहिनेत र संघर्ष गरेर गीत रेकर्ड गर्नुपथ्र्यो । मेरो पहिलो गीत रेकर्ड हुँदाको क्षण मेरो जीवनको पहिलो खुसीको क्षण हो ।’
उनले धेरै गीत सिर्जना गरे । अधिकांश गीत रेकर्डेट पनि छन् । ‘तुलसीपुरमा म जाँदाखेरि, हजुर भेटै भयो गजबको तन्नेरी’, ‘ए नानी गाजले म त मरे लाजले’, ‘पोइल जान पाम शिव…पोइल जान पाम’, ‘बिहे भा छैन’लगायतका गीत कोमल वली, ‘चरि चुच्चे च’ लोकदोहारी गीत कोमल वली र राजु परियारले गायका छन्
। बरिष्ठ लोकदोहोरी गायक खड्गबहादुर बुढाको स्वरमा ‘तुलसीपुरमै, माछी भुल्यो तालैमा.. साइली म भुले तिम्रो कुरैमा’, ‘जुल्फी काटेर, लाउ माया आँटेर जोवन साटेर’, ‘पान मीठो चुनाले’ राजु परियार र विष्णु माझी, ‘राप्तीमा पुल’ बिमाकुमारी दुरा र खर्क गर्वुजा, ‘तिम्रो कुरैमा’ गीता देवी र खड्गबहादुर बुढा, ‘कालो कोठी दाहिने गालामा’ राजु परियार र देवी घर्तीलगायतले गाएका दर्जनौँ सफल गीतमा चर्चित कलाकारले स्वर दिएका छन् ।
स्वयम् आपूmले पनि केही गीतमा स्वर दिएका छन् तर ती गीत धेरै नचलेपछि उनी निरन्तर रूपमा सिर्जनामा लागेको बताउँछन् । गाउँघरमा पूजापाठदेखि स्कुलका कार्यक्रममा गाउने गरेका पाण्डेले पहिलो पटक २०४३ सालमा काठमाडौंमा दोहोरी प्रतियोगितामा दोहोरी गीत गाएको बताउँछन् । दाङ निवासी बरिष्ठ लोकदोहोरी गायक स्वर्गीय मधुबाबु थापा, चन्द्रकला शाह, मञ्जु केसी ‘प्युठानी’को टिममा सहभागी भएर रेडियो नेपालले आयोजना गरेको दोहोरी प्रतियोगितामा गीत गाएको पाण्डेय बताउँछन् ।
प्रतियोगितामा विजेता नभए पनि काठमाडौंमा पहिलो पटक मधुबाबु थापाजस्तो कलाकारसँगै टिममा बसेर गीत गाउन पाउँदाको क्षणलाई पनि आफ्नो खुसीको क्षणका रूपमा लिने गर्दछन् ।
पाण्डेले लोक तथा दोहोरी गीतसँगै राष्ट्रिय भावका गीत पनि लेख्ने गरेको बताउँछन् । पाण्डेले माओवादी द्वन्द्वकालमा लेखेको ‘नेपाली माटो पुर्खाको नासो’ बोलको गीत मुरलीधरले गाएका थिए । उक्त गीतमा बरिष्ठ संगीतकार भूपेन्द्रसिंह रायमाझीले संगीत भरेका थिए ।
‘त्यो गीत कुनै दिन राजाको सवारी र सार्वजनिक कार्यक्रममा खुबै बज्थ्यो । त्यति मात्रै नभएर पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका दिन पुस २७ गते विभिन्न भाषाभाषीका गीत बजाएर कार्यक्रम गरिन्थ्यो’, उनी भन्छन, ‘वर्ष याद भएन तर एउटा कार्यक्रममा मेरो गीत पहिलो गीतका रूपमा बजेको थियो । त्यो कार्यक्रममा धेरै मेरो प्रशंसा भएको थियो । त्यो क्षण पनि मेरो खुसीको क्षण हो ।’
सानैदेखि गीतसंगीतप्रति रुचि राख्ने ६१ वर्षीय पाण्डे गीत रेकर्डकै लागि पहिलो पटक २०३६ सालमा १५ दिन हिडेर दाङबाट काठमाडौं पुगेको बताउँछन् ।
‘काठमाडौं जानलाई बाटो थिएन, गाडी चल्ने कुनै भएनन् । जसले गर्दा म हिड्दै कोइलाबासबाट भारतको बलरामपुर हुँदै भैरहवा पुगेँ’, पाण्डे भन्छन्, ‘त्यहाँबाट पोखरा बस जाने रहेछ । २७ रूपैयाँ भाडा तिरेर पोखरासम्म गएँ । त्यहाँबाट काठमाडौं जानलाई भाडा नभए पनि फेरि हिड्दै आधा बाटो गएँ । त्यहाँ पाइन्ट बेचेर त्यो पैसाले बसमा चढेर १५ दिनपछि काठमाडौं पुगेको थिएँ ।’ दुःख र संघर्ष गर्दै काठमाडांै पुगे पनि गीत रेकर्ड भने गर्न नपाएको उनी बताउँछन् ।
‘गीत रेकर्डका लागि रेडियो नेपाल मात्रै थियो, अन्त हुँदैन थियो’, उनले भने, ‘त्यहाँ गीत रेकर्डका लागि स्वर परीक्षा पास गर्नुपर्ने रहेछ तर मलाई थाहा नै भएन । त्यसैले गीत रेकर्ड हुन सकेन ।’ पहिलो पटकको मिहिनेत खेर गएपछि उनलाई लाग्यो जसरी भए पनि रेडियो नेपालमा घुस्नुपर्छ र गीत रेकर्ड गर्नुपर्छ । त्यही सोचका कारण उनी आपूmले चिनेका मान्छेलाई भनेर बासुरी बजाउने भनेर बाद्यवादनबाट रेडियो नेपालमा करारमा जागिरे भए । उनलाई लागेको थियो पछि त्यही जागिरे हुने तर लोकसेवा खुल्न नसकेका कारण त्यहाँ स्थायी जागिरे हुन सकेनन् ।
लोक दोहोरी, मौलिक तीज गीत तथा ठट्यौली गीत धेरै लेखेका छन् तर उनीसँग कुनै पनि गीतको संग्रह भने छैन । पाण्डेले गाउँघरका ठेट भाषा सङ्कलक हुन् । गाउँघरमा चलनचल्तीमा रहेका ठेट भाषा सङ्कलन गरेर गायकलाई दिए पनि लिपिबद्ध गरेर उनले कुनै पनि गीत राखेका भने छैनन् ।
‘गीत लेख्नका लागि म कहिल्यै कापी कलम समातेर बसिनँ । मैले लेखेका गीत संग्रह गरेर राखिनँ’, उनी भन्छन्, ‘अहिले समय बदलिएको छ । गीत संग्रह गरेर राख्नुपर्ने रहेछ । पहिलो त्यस्तो समय थिएन ।’ सान्त र एकान्त पाए भने पाण्डेले मनमनै कल्पेर गीत सङ्कलन गर्थे । एक्लै बाटोमा हिँड्दा वा कुनै एकान्त ठाउँमा बस्दा गीत रचना गर्ने गरेको बताउँछन् ।
सर्जक पाण्डे साक्षर मात्रै छन् । उनीसँग औपचारिक शिक्षाको कुनै प्रमाणपत्र नभएको बताउँछन् । ‘मैले औपचारिक शिक्षा पढिनँ । घरमा बुवाले चण्डी, सत्यनारायण र वेद पढेर सामान्य पढ्न, लेख्न जानेको हुँ’, उनले भने, ‘बुवाको चाहना मलाई पण्डित बनाउने भएकाले स्कुल गएर अध्ययन गर्न पाइनँ ।’ पाण्डेको औपचारिक पढाइको अनुभव त्यो भन्दा बढी छैन । ‘मैले कखरा घरमै सिकेँ, बुवाले घरमै चण्डी, सत्यनारायण र वेद पढाउनुभयो’, उनले भने, ‘त्यो बाहेक मैले औपचारिक शिक्षा लिइनँ ।’
पछिल्लो समय गुमनामजस्तै बनेका पाण्डेले जीवनयापनका लागि गाउँघरमा छोरासँगै घरहरूमा पेन्टिङको काम गर्ने गर्छन् । गाउँघरमा कहिलेकाहीँ आयोजना गरिने सप्ताहा, महापुराण आदिमा निम्त्याउँदा बाँसुरी बजाएर र गीत गाएर केही रकम आर्जन गर्ने गरेको उनी बताउँछन । आर्थिक अवस्था कमजोर भए तापनि पाण्डेको गीतसंगीतप्रतिको मोह भने भङ्ग भइसकेको छैन । उनले अझै हार मानेका भने छैनन् । ‘कसैले गीत लेख्न आग्रह गरे लेख्ने थिएँ’, पाण्डेले भने, ‘गीत लेखेर चाङ लगाएर मात्रै काम छैन ।’
गीत रेकर्ड गर्न, भिडियो बनाउन तथा प्रचारप्रसार गर्नसक्ने आर्थिक अवस्था आफ्नो नरहेको हुँदा आफ्ना लागि भन्दा पनि कसैले गीत लेख्न आग्रह गरे गीत लेखिदिने उनले बताए । पाण्डेले गरिबीकै कारण आफूले धेरै गीतहरू ५ देखि १० हजार सम्ममा बिक्री गरेको बताउँछन् । एकातर्फ पाण्डेले लेखेका गीतहरू गाउने कतिपय गायक÷गायिका आज चर्चाको शिखरमा पुगे पनि गीतकार पाण्डे भने आज ‘गुमनाम’जस्तै बन्न पुगेका छन् ।
‘तर, लामो सयमसम्म स्थायीका लागि लोकसेवा नखुलेपछि फर्केर घर आउनु प¥यो’, उनले भने, ‘म मात्रै होइन धेरै बाद्यबादक कलाकार घर फर्किएका थियौँ ।’ घरमा हुने नाचगान तथा लोकदोहोरी गीत गाउँदै आएका गीतकार पाण्डे एक राम्रो बाँसुरी बादक पनि हुन् । सानैदेखि मेलापात जाँदा उनले बाँसुरी बजाउन र गीत गाउन सुरू गरेको स्मरण गर्छन् ।
कला क्षेत्रमा लागेर नाम कमाएकोप्रति खुसी प्रकट गरेका गीतकार पाण्डेले आर्थिक उपलब्धि भने हासिल गर्न सकेनन् । राज्यले कला र कलाकारलाई सम्मान गर्न ध्यान नदिँदा समस्या उत्पन्न हुने गरेको सर्जक पाण्डेको मत छ । उनले नबुझेर गीतसंगीतमा लाग्दा धोका पाएको तथा आर्थिक उपलब्धि हासिल गर्न नसकेको बताए ।
‘सबैभन्दा ठूलो कुरा पैसा कमाउनुपर्ने रहेछ’, उनले भने, ‘गीतसंगीतका क्षेत्रमा लागेर धेरैको मन जिते, प्रशंसा पाएँ तर पैसा कमाउन सकिनँ ।’ पछिल्लो समय सिर्जना संगीत नामक युटुव च्यान खोलेर पैसा कमाउने प्रयास गरे पनि राम्रो हुन नसकेको बताए ।
२०१९ साल असोजको १० गते शान्तिनगर गाउँपालिका–३ हिरापुर बयालेमा बुवा महलाल पाण्डे र आमा नन्दकली पाण्डेको कोखबाट जन्मिएका पाण्डे ज्येष्ठ सुपुत्र हुन् । पाण्डेका चार भाइ र चार दिदीबहिनी गरेर ८ दाजुभाइ तथा दिदीबहिनी छन् । २०३९ सालमा शान्तिनगरबाटै निमकली पाण्डेसँग मागी विवाह गरेका पाण्डे दम्पत्तिबाट एक छोरा र एक छोरी छन् ।
करिब दुई सय बढी लोक तथा दोहोरीसँगै राष्ट्रिय भावका गीत सिर्जना गरेका पाण्डेलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट स्व. मथुराप्रसाद श्रेष्ठ प्रतिभा पुरस्कार र अमृत विद्या मन्दिरबाट सम्मान प्राप्त गरेको बताउँछन् । प्रस्तुती : लिलाधर वली