calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

समस्या पहिचान गरेर कामको थालनी गरेका छौं : अध्यक्ष गिरी [अन्तर्वार्ता]

स्थानीय तहको निर्वाचन भएको करिब एक वर्ष पूरा हुन लागेको छ । शिक्षाको विकासमा उज्यालो ज्योति बाँड्न तीनदशक आफ्नो जीवन बिताएका दंगीशरण–४ सुकदेवामा जन्मिएका शम्भु गिरी वि.सं. २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट दंगीकरण गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि आफ्नो जन्मथलोलाई नै कर्मथलो बनाएका छन् । त्यससँगै गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनमा तल्लीन छन् ।

दंगीशरण गाउँपालिका कृषिका लागि उर्वर भूमि हो । यहाँका धेरैजसो मानिस कृषिमा आधारित छन् । पश्चिम दाङको अन्नभण्डारदेखि थारुको बाहुल्यता रहेको गाउँपालिकामा कृषिदेखि विभिन्न ऐतिहासिक थारु सङ्ग्र्रहालय भएको गाउँपालिका हो । गाउँपालिकामा कृषिको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने यस अघि नै बताएका थिए । एक वर्षमा शिक्षा स्वास्थ्य, विकास निर्माण र अन्य कुरामा भएका महत्वपूर्ण उपलब्धिबारे अध्यक्ष शम्भु गिरीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षप ।
 गोरक्षको सातावार्तामा यहाँलाई स्वागत छ ?

 जनतामाझ केही कुरा राख्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको लोकप्रिय पत्रिकालाई हृदयतः धन्यवाद ।

 निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा तपाईंले देखेका सपनाहरू र तपाईंले जनतालाई भनेका कुराहरू कति पूरा भए ?

 हामी निर्वाचित भएको करिब–करिब एक वर्ष पुग्नै लागेको छ । मैले हिजो गरेको लगानी र हिजोका दिनमा बाँडेका शिक्षा र जनसम्पर्कका कारण सबैले मलाई विश्वास गरेर यसले गाउँपालिकामा समृद्ध र विकास गर्नसक्छ भनेर मलाई यो गाउँपालिकामा जिताउनुभएको हो । मैले यो जितलाई पहिले पनि भनेको थिएँ अवसर र चुनौती दुवै रूपले लिन्छु । यो गाउँपालिकालाई समृद्ध र नमुना गाउँपालिका बनाउन जनताले मलाई चयन गर्नुभएको थियो ।

मलाई जनताले जिताएर ठूलो अभिभारा दिनुभएको छ र सोहीअनुसार मैले काम गरिरहेको छु । जसरी मैले जनताको मत पाएर निर्वाचित भएँ, त्यसरी नै पालिकाबाट उपलब्ध सेवासुविधा र मबाट हुनसक्ने सहयोग मैले पनि गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर मैले कार्य गरेको छु । सबै कुरा एकै वर्षमा पूरा हँुदैन । अझै ४ वर्ष बाँकी छ तर हामीले एक वर्षमा धेरै कुराको थालनी गरेका छाँै । चाहे त्यो शिक्षा होस् या त्यो स्वास्थ्य अथवा विकास निर्माणमा । निर्वाचित भएर आएपछि चुनाव अगाडि जनतामाझ भनेका वा गरेका प्रतिबद्धताहरू क्रमिक रूपमा पूरा गर्ने दौडानमा छु । केही कामहरू निरन्तर कार्यान्वयनको चरणमा बढिरहेका छन् ।

जस्तै यहाँको प्रमुख समस्याको रूपमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न जग्गा नापजाँचको काम भइरहेको छ । दलित भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा प्रदान गर्न भूमिको कामलाई तीव्रताका साथ अघि बढाइएको छ । यस्तै थुप्रै कामहरू अगाडि बढिरहेका छन् । विद्युत र सञ्चारको सेवा पुग्न नसकेका र अघिल्लो कार्यकालका जनप्रतिनिधिले सेवा पु¥याउन नसकेका ठाउँहरूमा विद्युत, सञ्चार तथा सडकको लागि काम अगाडि बढिरहेका छन् ।

त्यस्तै यस आर्थिक वर्षको साउनदेखि जन्मिएका दुईवटासम्म छोरीहरूलाई छोरी सम्मान कार्यक्रमअन्तर्गत मासिक ३०० का दरले १८ वर्षसम्मका छोरीहरूको खातामा पैसा जम्मा गरिदिने व्यवस्था गरेका छौँ । यो वर्ष कार्यकालको पहिलो वर्ष भएकाले शिक्षा, स्वास्थ्य र कृषिलाई महत्वका साथ अगाडि बढाएका छौँ ।

 तपाईंहरूले एक वर्षमा प्राप्त गरेका महत्वपूर्ण उपलब्धि के–के हुन् ?

 हामीले कृषितर्फ किसानहरूलाई बिउविजन तथा कृषिजन्य यान्त्रिकीकरणका सामग्रीमा पचास प्रतिशत अनुदानमा वितरण गर्दै मागका आधारले कृषि सामग्री वितरण गरिरहेका छौँ । विपन्न किसान तथा व्यावसायिक खेती गर्ने किसानलाई राहत हुने किसिमका कार्यक्रमहरू अगाडि सारेका छौँ । किसानहरूले उत्पादन गरेका विउविजनलाई सुरक्षित भण्डारण गर्न निर्माणाधीन कोल्डस्टोरलाई सञ्चालनमा ल्याउन पर्याप्त बजेट विनियोजन गरेको छौँ ।

स्वास्थ्यतर्फ हामी निर्वाचित भएर आइसकेपछि अपाङ्गताको क्षेत्रमा अपाङ्ग न्यूनिकरणका लागि अपाङ्गहरूको तथ्याङ्क संकलन गरी न्यूनिकरण गर्न कार्यक्रमहरू अगाडि सारेका छौँ । सुत्केरी प्रोत्साहन कार्यक्रमअन्तर्गत् राज्यले दिएको २ हजार ८०० रूपैयाँमा गाउँपालिकाले ३ हजार २ सय थप गरी ६ हजार पु¥याएका छौँ । दीर्घरोगका बिरामीका लागि निःशुल्क औषधी वितरण गर्न ती बिरामीका विवरण संकलनको काम भइरहेको छ ।

त्यस्तै मोतियाविन्दु भएका बिरामीका लागि राप्ती आँखा अस्पतालको समन्वयमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरेका छौँ । श्रवण शक्ति गुमाएका व्यक्तिहरूका लागि निःशुल्क एयरफोनको व्यवस्था गरेका छौँ । लगत्तै बालबालिका तथा महिलाहरूका लागि छुट्टाछुट्टै स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको छौँ । यस्तै बागर अस्पताललाई १५ बेडको अस्पताल बनाएर सञ्चालनको तयारीमा रहेको छ । शिक्षातर्फ, शिक्षाअन्तर्गत् हामीले यो वर्ष एसइई दिएर बसेका विद्यार्थीका लागि ब्रिजकोर्शको व्यवस्था गरेका छौँ ।

कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने विद्यार्थीका लागि मासिक १५ सय रूपैयाँ छात्रावृत्ति प्रदान गरेका छौँ । विद्यार्थी भर्ना वृद्धि गर्न शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाएका छौँ । जसअन्तर्गत् विद्यार्थीको उपलब्धि परीक्षण गरेका छौँ । विद्यालयमा भौतिक पूर्वाधारको पर्याप्त विकास भएको छ । अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक थप गरी गाउँपालिकाबाट अनुदानको व्यवस्था गरेका छौँ । शिक्षकहरूको नियमितता प्रभावकारिताका लागि ई–हाजिरीको व्यवस्थासँगै दरबन्दी मिलानलाई अगाडि बढाइ शिक्षण सिकाइ गुणस्तरीय बनाउन लागिपरेका छौँ ।

त्यस्तै खानेपानीतर्फ, खानेपानीअन्तर्गत हामीले अपूरा, अधुरा रहेका खानेपानी टेङ्की सञ्चालन तथा सरसफाई स्वच्छतासम्बन्धी कार्यहरूलाई महत्वका साथ अगाडि बढाएका छौँ । खेलकुद अन्तर्गत्, हामीले युवाहरूको खेलकुदको माध्यमबाट खेलाडीहरूको सर्वाङ्गीण विकास गर्न प्रथम पटक अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरी उत्कृष्ट खेलाडीको पहिचान तथा खेलाडीहरूको प्रोत्साहन गर्न विभिन्न खेलकुद प्रतियोगिताहरू संचालन गरेका छौँ ।

 दंगीशरण गाउँपालिकामा महत्वपूर्ण र दीर्घकालीन योजना के–के हुन् र कुन–कुन सुरु भए ?

 हाम्रा महत्वपूर्ण र दीर्घकालीन योजनाहरू त्यति ठूला केही छैनन् । त्यही शिक्षा, स्वास्थ्य कृषि र विभिन्न पार्कहरू निर्माणदेखि वहुवर्षीय योजनाहरू रहेका छन् । तिनै योजना पूरा गर्न हामी तल्लीन छौँ ।

 धेरैजसो युवाहरू विदेशिएका छन्, कृषिको पकेट क्षेत्र गराउँछु भन्नुहुन्छ, के यो सम्भव छ ?

 हो, हामीले किसानलाई बिउविजन तथा कृषिजन्य यान्त्रिकीकरणका सामग्रीहरूमा पचास प्रतिशत अनुदानमा वितरण गर्दै मागमा आधारित कृषि सामग्री वितरण गरिरहेका छौँ । विपन्न किसान तथा व्यावसायिक खेती गर्ने किसानलाई राहत हुने किसिमका कार्यक्रमहरू अगाडि सारेका छौँ । किसानहरूले उत्पादन गरेका बिउविजनलाई सुरक्षित भण्डारण गर्न निर्माणाधीन कोल्डस्टोरलाई सञ्चालनमा ल्याउन पर्याप्त बजेट विनियोजन गरेको छौँ ।

हामीले युवायुवतीहरूलाई स्वरोजगार बनाउन विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने छौँ । जो अहिले पनि भइरहेका छन् । सीपको विकास गरी विदेशमा गएका र गएर आएकालाई जो पैसाको अभावमा यहाँ केही पनि गर्न नसेकाहरूलाई सहुलियतमा ऋण दिने व्यवस्था गर्ने योजना छ । यो गाउँपालिका कृषिका लागि उर्वर क्षेत्र हो । कृषिलाई नै हामीले अगाडि बढाउने र समृद्ध बनाउने कुरामा हामी जोडतोडले लाग्ने छौं ।

 यो पाँच वर्षमा जनताका माग र योजनाहरू पूरा गर्न सक्नुहुन्छ त ?

 जनताका ठूला आशा तथा मागहरू केही छैनन्, सामान्य दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकता अधिकांश माग छन् भने न्यून मात्रामा ठूला योजना छन् । त्यो हामी आफैले पूरा गर्न नसके पनि सानातिना गाउँपालिकाबाट र अलि ठूला योजनाहरू प्रदेश, केन्द्रबाट पक्कै पनि पूरा हुनेछन् । एकै पटक सबै विकास तथा मागहरू पूरा हुने पनि होइन । विस्तारै सबै मागहरू सम्बोधन हुने छन् र हामी त्यसतर्फ लागिरहेका पनि छौँ ।

 अन्त्यमा केही भन्नु छ कि ?

 हामीले चुनावताका गरेका प्रतिबद्धताहरू एक वर्षमा के–के समेटिए, त्यो जानकारी दिने अवसर दिनुभएकोमा तपाइँ हाम्रो लोकप्रिय पत्रिकालाई धन्यवाद दिन चाहन्छु । जनताका माग हामीले एकै वर्षमा पूरा गर्नसक्ने अवस्था छैन । विस्तारै चुनावमा बोलेका कुराहरू विकास निर्माणदेखि सबै कुराहरू हामीले पूरा गर्नेछौँ । त्यो जनतालाई विश्वास दिलाउन चाहन्छौँ । त्यसका लागि सकारात्म सल्लाह सुझावको अपेक्षा गर्दछु । अन्तमा सबैलाई धन्यवाद दिन चाहन्छु ।