भुवन पोख्रेल
वि.स. २०७९ सँगै दशक पनि सकिएको छ । सहत्तरीको दशकले हामीलाई राजनैतिक रुपमा उपलब्धि छोडेर गएको छ । एउटा संविधान, तीन तहका सरकार, निर्वाचन संघीय, प्रदेश र स्थानीय तहका महत्वपूर्ण उपलब्धि भए ।
सात प्रदेश, सात सय ५३ गाउँपालिका सहितको संघीय व्यवस्था कार्यान्वयन भयो । यही वर्षको दशकभित्रै मुलुकले प्राकृतिक विपत्तिका धक्का सहन गर्नुप¥यो । वि.स. २०७२ मा गोर्खा बारपाकलाई केन्द्रविन्दु बनाइ भूकम्प गयो । भूकम्पको खाटा बस्न नपाउँदै भारतले नेपालमा गरेको नाकाबन्दीको पनि भार खेप्नुप¥यो । त्यस्तै यही दशकमै कोभिड १९ महामारी जस्ता विपत्ति र प्रकोपका कारण मुलुक आतंकित बन्न पुग्यो ।
कोभिडकै कारण लकडाउन गर्न मुलुक बाध्य भएपछि त्यसको आर्थिक अवस्था, शैक्षिक अवस्था, सामाजिक सम्बन्ध त पूरै बिग्रियो त्यसका साथै थुप्रै जनधनको क्षति हुन पुग्यो । राजनीतिक, आर्थिक, प्रशासनिक, शैक्षिक, सामाजिक दृष्टिकोणबाट हेर्दा यो दशक प्रतिकूल र जोखिमपूर्ण ढङ्गबाटै बित्न पुग्यो । यस दशकमा आर्थिक सूचक खल्बलिन पुग्यो । खराब विश्व अर्थतन्त्रका खराब बाछिटा नेपालले पनि सहन गर्नुप¥यो । लिएका आर्थिक लक्ष्य पूरा हुन सकेनन् । अहिले राष्ट्रिय अर्थतन्त्र धर्मराएर आम जनजीवन प्रभावित बन्न पुगेको छ ।
बैंकको चर्को व्याजदर आम उद्योग व्यवसायीलाई थेग्न हम्मे–हम्मे परेको छ र व्यवसायी पलायन हुने क्रम बढ्दो छ । विदेशी मुद्रा सञ्चितिमा चाप, तरलता अभाव चर्को व्याजदर, उच्च मूल्य वृद्धि, खस्कँदो सरकारी राजस्व, न्यून विकास खर्च, बढ्दो वैदेशिक व्यापार घाटालगायतका अनेको समस्या चुलिँदै जाँदा अर्थतन्त्र धरापमा परेको छ । सन्तुलित अर्थतन्त्र र मौद्रिक र वित्तीय व्यवस्थापनमा सरकार बारम्बार चुक्यो । सरकारका अर्थतन्त्रका तीनवटै खम्बा सरकारी, नीजि र सहकारी क्षेत्र खल्बलिए । जसको कारण समग्र आर्थिक क्षेत्र धरासायी बन्न पुग्यो ।
सरकारी राजस्व निकै कम उठेपछि सरकारले सार्वजनिक खर्च कटौतीको निर्णय लियो । यसै दशकमा बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर बिरुद्ध निजी क्षेत्र आन्दोलित भयो । २०७९ सालमा अधिकांश समय निर्वाचन र बढी मात्रमा राजनैतिक घटना क्रममा बितेका छन् । २०७९ को बैशाख सुरु भएदेखि मुलुक चुनावमय बन्न पुगेको थियो । वि.स. २०७९ मा अनेक अभूतपूर्व घटनाहरु भएका छन् । आगामी वर्षहरु र शताब्दीहरुसँग नै प्रत्यक्ष सम्बन्ध राख्ने घटनाहरुका साथै विश्वव्यापी घटनाहरु अन्तर्राष्ट्रिय रुपमा रुस र युक्रेनको झगडाले ल्याएको धुव्रीकरण, विश्वबजारमा बढ्दो इन्धन र खाद्यपदार्थको मूल्य अनि समग्र विश्वकै धुव्रीकरणको सुरुवात फेरि वर्ष २०७९ बाट नै सुरु भएको छ ।
विश्वको शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिका रुपमा जोए बाइडेनको आगमन अनि अर्को ठूला राष्ट्र चीनमा सी जिङ्ग पिङको पुनरागमनले पनि २०७९ र आगामी वर्षहरुका लागि ठूलो महत्व राखेको छ । श्रीलङ्काको अप्ठेरो आर्थिक अवस्थाबाट सुरु भएको २०७९ भित्र दक्षिण एसियाका अन्य सबै देशहरु नै बढ्दो मूल्य वृद्धि, मुद्रा स्फीती अनि तरलताको अभावको चपेटामा परेका छन् । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई सत्ताच्यूत गरेर नयाँ नेतृत्व देखाप¥यो । अफगानिस्तानमा तालिवानहरुको उदयसँगै बढ्दो सामाजिक बन्देजहरु २०७९ सालमा चरम रुपमा देखिए ।
२०७९ मा छुटाउनै नहुने अर्को घटनाक्रम भने विश्वकप फुटबल नै रह्यो । कतारमा भएको विश्वकप फुटबलमा विश्वकपको खेल सञ्चालन गर्ने प्रथम महिला रेफ्रीका रुपमा फ्रान्सको स्टेफनी फ्रापार्टले इतिहास रचिन । समूह चरणका खेलमध्ये जर्मनी र कोस्टारिकाको खेल विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफरीद्वारा सञ्चालन भयो । फ्रान्सको स्टेफनी फ्रापार्टको नेतृत्वमा सबै महिला अम्पायर रहेको टोलीले उक्त खेल सञ्चालन गरेको थियो । मेस्सीले आफ्नो खेल जीवनमा अर्जेन्टिनालाई विश्वकप दिलाएरै छाडे ।
नेपालका लागि भने वर्ष २०७९ सामान्य र मध्यम स्तरको वर्ष साबित भयो । यस वर्षको पीडादायी वा दुःखद घटनामा माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा सवार ६२ जनाको मृत्यु भयो । हवाई उड्यनको हिसाबले यो वर्षको आकाश असुरक्षित साबित भयो । वर्षको सुरुवाततिर मुस्ताङमा तारा एयरलान्इसको विमान खसेको थियो ।
वर्ष २०७९ मा नेपालमा निर्वाचनका शृङ्खलाहरु भए । नेपाली प्रजातान्त्रिक इतिहासमा दलहरु भन्दामाथि उठेर व्यक्ति र विचारले स्वतन्त्र समर्थन पाएको यतिको ठूलो रुपान्तरण अहिलेसम्म भएकै थिएन । यस वर्ष मुलुकले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पायो । काठमाडाँैले मेयरको रुपमा युवा अनुहारलाई स्वागत गर्दै र ¥यापर बालेन पायो ।
धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमाल आए । निर्वाचनका शृङ्खलाहरुमा स्वतन्त्र अनुहारले यस अघि यति धेरै माया र विश्वास प्राप्त गर्न सकेको थिएन । रवि लामिछाने प्रकरणले पनि विजय अनि नागरिकता विवादले पनि निकै चर्चा बटुल्यो । नेताहरुको नेतृत्व जाँच्ने गुणस्तरको खसी २०८० लाई सुम्पँदै नेपालको राजनैतिक परिदृश्य अगाडि बढ्ने छ ।
आर्थिक रुपमा साल २०७९ ले अहिलेसम्मकै सर्वाधिक मन्दी र उतारचढाव देख्यो । पँुजी बजार ओरालो लाग्ने क्रम पीँधसम्म पुग्ने गरी अघि बढेको छ । अर्कोतर्फ अप्ठेरो अवस्थामा सहकारी र बैंकहरु रहेको वर्ष पनि रह्यो । अधिकांश बैंकहरु मर्ज भएका र मर्ज हुने तयारीमा रहेको वर्ष २०७९ मा ऐतिहासिक रुपमा नेपालका धेरै बैंकहरु मर्ज भए । नेपाल राष्ट्र बंैकका प्रथम गभर्नर हिमालय शमशेर जबराको पनि यसै वर्ष मृत्यु भयो । नेपालका संस्कृतिविद सत्यमोहन जोशीको पनि यसै वर्ष निधन भयो ।
जनस्वास्थ्यको हिसाबले पनि वर्ष २०७९ प्रतिकूल वर्ष नै साबित भयो । डेगँु रोगको सक्रमण राष्ट्रव्यापी रुपमै यसै वर्ष फैलियो । आरोह अवरोहका बीच २०७९ बिदा भए पनि आगामी वर्ष २०८० ले आम नेपालीमा आशा उमङ्गको साललाई सफल र उत्साहपूर्ण वर्षको रुपमा लिन सकिन्छ ।
स्थानीय तह, प्रदेश र संघीय तीन तहको चुनावबाट नयाँ नेतृत्व चुनिएको छ तर राजनीतिक स्थिरताको दृष्टिले हेर्दा यो वर्षलाई त्यति सफल वर्ष मान्न सकिँदैन । दलहरुमा देखिएको पदलोलुपता, पदका लागि जेसुकै गर्ने प्रवृत्ति, नेतृत्वले व्यक्तिगत स्वार्थका लागि सिद्धान्त र निष्ठा विपरीत गर्ने सम्झौता यस वर्ष पनि निरन्तर रह्यो । जसले गर्दा देश र नागरिकको आर्थिक स्तर माथि उठ्न सकेन ।
अर्थतन्त्रमा ह्रास आयो । अर्थतन्त्र सुधार गर्नमा भन्दा नेताहरु कसरी सत्तामा पुग्ने र शक्तिमा रहिरहने भन्ने कुरामा केन्द्रित रहँदा महँगी र बेरोजगारीको अवस्था झन बढ्यो । विश्व बजारमा देखिएको आर्थिक मन्दीलाई विचार गरेर बेलैमा अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचाल्दा अवस्था झनै दयनीय बन्न पुग्यो ।
संसदीय चुनावदेखि पालिका तथा प्रदेश तहको चुनाव सम्पन्न भएको वर्ष २०७९ साल त्यति सफल देखिएन । अर्थतन्त्र सफल नहुनुमा बढ्दो आयात, रोजगारीको अभाव, उत्पादनशील क्षेत्रमा शून्य बराबर लगानी आदि आन्तरिक कारण देखिन्छन् । यसका साथै कोभिड १९ पछि विश्वमा देखिएको आर्थिक मन्दी, रुस–युक्रेन युद्ध, अमेरिका र चीन बीचको आर्थिक रस्साकस्सी आदिको बाह्य प्रभाव पनि देखिन्छ । बढ्दो महँगी, तरलता अभाव, व्याजदरमा भएको वृद्धिले व्यापार व्यवसाय निरन्तर घाटामा जाँदा वर्ष २०७९ आर्थिक हिसाबमा सफल रहेन । मुलुकको अर्थतन्त्र संकटग्रस्त साबित भयो ।
कोभिड १९ पछि विश्व अर्थतन्त्रमा मन्दी देखाप¥यो । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि देखा नपर्ने कुरा भएन । विदेशबाट आयात हुने कच्चा पदार्थ तथा तयारी सामानमा पनि त्यसको असर प¥यो । कच्चा पदार्थको् भाउ बढ्दा धेरै उद्योगधन्दा धरासायी भए । उत्पादित सामानको भाउ पनि बढ्यो । आयात गरिएको तयारी वस्तुको पनि भाउ बढ्दा विदेशी मुद्रा सञ्चितिमा कमी आयो । अझ रुस–युक्रेन युद्धका कारण विश्व बजारमा नै पेट्रोलियम पदार्थ, खाने तेललगायतका सामानको भाउ बढ्दा आयातले धानिएको हाम्रो जस्तो देशमा आन्तरिक बजारमा पनि महँगी बढ्यो ।
बढ्दो आयात अनि न्यून निर्यातका कारण विदेशी विनिमयको अभाव, उत्पादनमा ह्रास आउनु तथा बढ्दो महँगीका कारण तरलता समेत अभाव देखिएको छ । तरलता अभावको कारण देखाउँदै बंैकहरुले यथोचित लगानी गर्न नसक्नु र यसैलाई आधार बनाउँदै व्याजदरमा वृद्धि गर्नुले व्यापार, व्यवसाय चौपट भएको छ । लगानीयोग्य रकमको अभाव, व्याजदरमा भएको वृद्धिले अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्यो । नेपालमा विगत ५५ वर्षपछि पहिलो पटक अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व वृद्धि दर नकारात्मक भयो । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२४÷२५ यता पहिलो पटक राजस्व वृद्धि दर अघिल्लो वर्षको तुलनामा कम भएको हो ।
अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेपछि सुधारका लागि गाडी, मोबाइल, टेलिभिजन, जङ्कफूड, महँगा खेलौनालगायतका वस्तु आयातमा प्रतिबन्ध नै लगाउनु पर्ने स्थिति आयो तर आयात प्रतिबन्ध लगाउँदा राजस्वमा कमी भयो । प्रतिबन्ध फुकुवा गर्न व्यापारीले प्रदर्शन समेत गरे । १३ महिनापछि प्रतिबन्ध फुकुवा भयो । तरलता अभाव अनि व्याजदरमा वृद्धि हुँदा व्याजदर घटाउनका लागि दबाब दिन व्यापारीहरुले बंैक तथा वित्तीय संस्था विरुद्ध प्रदर्शन समेत गरे ।
यसै वर्ष दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए । झन्डै ९२ अर्ब रुपैयाँको लागतमा सात वर्ष लगाएर बनेको भैरहवाको गौतम बुद्ध विमानस्थल जेठ २ गतेदेखि सञ्चालनमा आयो । केही अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरे पनि यसले आफ्नो क्षमता अनुसारको काम पाएको छैन । त्यस्तै पाँच वर्ष लगाएर २३ अर्ब रुपैयाँको लागतमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्षदेखि सुरु भए पनि यसले अहिलेसम्म अन्तर्राष्ट्रिय उडान सुरु गरेको छैन ।
महँगो लागतमा तयार भएका यी अन्तर्राष्ट्रिय विमानस्थलले काम नपाउँदा अर्थतन्त्र सुधारमा केही भरथेग होला भन्ने आशा पनि निराशामा परिणत भएको छ । व्यापक उथलपुथल र आरोह पार गरेर हामी २०८० को दशकमा पाइला टेकेका छौँ । २०८० को दशक सिकाएका तीता–मीठा अनुभवको जगमा टेकेर नयाँ वर्ष आशा, उमङ्ग र मंगलमय बनोस् भन्ने सबैलाई शुभकामना व्यक्त गर्दछु ।