ढाड नै सेक्ने गरी घरभाडा

गोरक्ष समाचारदाता
दाङ, ७ बैशाख । घोराहीको दामोदर चोकमा व्यवसाय गर्ने व्यवसायीले मासिक ७५ हजार घरभाडा तिर्ने गरेको एक व्यवसायीले बताए । दिनभरि घाम तापेर बस्नु पर्छ तर महिना बित्नेबित्तिकै भाडा तिर्नुपर्ने बाध्यता छ । ‘अहिले व्यापार छैन, घरभाडा तिर्न समेत समस्या छ’, एक व्यवसायीले भने, ‘कति दिन यसरी भाडा तिरेर बस्न सकिएला ?’ घरभाडाकै कारण व्यवसायबाट पलाय हुनुपर्ने बाध्यता व्यवसायीमा छ ।

घोराहीको तुलसीपुर चोकमा व्यवसाय गर्दै आएका अर्का व्यवसायीले ७० हजार भाडा तिर्दै आएको बताए । व्यवसाय गर्ने भाडा महँगो हुँदा आफूजस्ता व्यवसायीलाई समस्या भएको उनले बताए । करिब ७ वर्षदेखि व्यवसाय गदै आएका भाडाकै कारण व्यवसाय छोड्नुपर्ने अवस्था आउन थालेको बताए । महिना दिन व्यवसाय गरे भाडा तिर्न नसक्ने अस्था आउन थाल्यो, कसरी व्यवसाय गर्न सकिन्छ ?’, उनले भने । निश्चिित मापदण्ड बनाएर व्यवसायी सटरको भाडा निर्धारण गरिनुपर्ने उनको माग छ ।

गणेशहल रोडमा व्यवसाय गदै आएका अर्का व्यापारीले व्यवसायीहरू गरिब हुँदै गएको बताए । ‘अन्य देशमा व्यवसायी धनी हुँदै जान्छन् तर यहाँ गरिब हुँदै छन्’, उनले भने, ‘विभिन्न समस्या भोग्दै आएका व्यवसायी घरभाडाका कारण विस्थापित हुने अवस्थामा छन् ।’ व्यापार घटदैछ तर भाडा बढ्दै गएको समेत उनले बताए । व्यवसायीहरू बीच नै अस्वस्थ प्रतिस्पर्धा गर्नुका कारण पनि समस्या हुने गरेको उनले बताए । व्यवसायी पलायन हुँदै गएमा त्यसको असर हरेक क्षेत्रमा पुग्ने उनी बताउँछन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले घोराही बजारमा व्यवसायीहरूलाई भाडाको समस्या रहेको बताए । घोराहीको मेनरोड, गणेशहल रोड, निमाहल रोड र शहीदगेटमा यस प्रकारको समस्या भएको उनले बताए । घरभाडा समस्याको समाधानका लागि उद्योग वाणिज्य संघ लागिपरेको उनले बताए । उनकाअनुसार पहिलो चरणमा व्यवसायीसँग छलफल र त्यसपछि घरधनीसँग छलफल गरिनेछ ।

‘दुवैसँग छलफल गरिसकेपछि स्थानीय सरकार, घरधनी, व्यवसायीबीच सहकार्य गरेर समस्या समाधान गरिनेछ’, उनले भने । व्यवसायी हरेक क्षेत्रबाट समस्यामा परेको समयमा घरभाडाले थप समस्यामा पारेको उनको भनाइ छ । ‘अहिले धेरै व्यवसायी पलायन हँुदै जानुभएको छ, यसलाई रोक्न लाग्नु पर्छ’, उनले भने, ‘त्यसका लागि उद्योग वाणिज्य संघले आप्mनो क्षेत्रबाट भूमिका खेल्नेछ ।’

घोराही उपमहानगरपालिकाले घोराही बजारको व्यावसायिक सटरको भाडा तोकेको भन्दा बढी घरधनीले लिने गरेको छ । घोराही उपमहानगरपालिकाले बढीमा १० हजार रूपैयाँ व्यावसायिक सटरको रकम तोकेको छ तर व्यवसायीहरूले १ लाखसम्म भाडा तिर्ने गरेका छन् । घोराही उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख कृष्ण केसीले घोराही उपमहानगरपालिका क्षेत्रमा १० हजारभन्दा बढी भाडा नतोकिएको बताए । ‘उपमहानगरपालिकाले अधिक्तम १० हजारभन्दा बढी भाडा तोकेको छैन’, उनले भने ।

नगरपालिकाको कानुनविपरीत घरधनीले भाडा लिँदा समेत नगरपालिकाको ध्यान पुग्न सकेको छैन । तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही समेत गर्नसकेको छैन । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमेरेले उपमहानगपालिकाले बहाल कर लिने गरेको बताए । अहिलेसम्म बढी भाडा लिएको भन्ने गुनासो आएको छैन’, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने, ‘गुनासो आएमा यसमा काम गर्न सकिन्छ ।’