सहकारी किन आवश्यक ?

नारायणप्रसाद श्रेष्ठ
सहकारी वैकल्पिक नभइ सशक्त हुनुपर्छ । सहकारीबाट नै राष्ट्रको समृद्धि गर्न सकिन्छ । त्यसैले भन्ने गरिन्छ– सहकारी राष्ट्रिय विकासको बलियो आधार हो । सहकारीबाट नै समृद्ध राष्ट्रको परिकल्पना गर्न सकिन्छ यो नै सबैभन्दा महत्वपूर्ण आधार पनि हो । यसको लागि सहकारी स्थानीय निकायको बलियो जग समेत बनेर प्रस्तुत हुनु पर्छ । गास, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता परिपूर्तिको लागि सहकारी अवधारणा नै वर्तमानको आवश्यकता देखिन्छ ।

त्यसको लागि वित्तीय सक्षमता, प्रभावकारी सञ्चालन, सदस्यता सन्तुष्टि, कर्मचारीको सन्तुष्टिसँगै एकले अर्काबीचको प्रतिस्पर्धा यी पाँच अनिवार्य शर्त प्रयोग गर्ने गरी सहकारी सञ्चालन गर्नुपर्छ । बत्ती बल्न तेल थपिरहनुपर्छ भनेझैँ सहकारी सञ्चालन गर्न उपयुक्त पाँचवटा कुरामा निरन्तर ध्यान पु¥याइरहनुपर्छ । गाडी चालक र तेलबिना चल्दैन । गाडी संस्था हो, चालक सञ्चालक हो । तेल यसभित्र प्रतिपादन हुने विचार हो । जब चालक सक्षम हुँदैन वा गाडीभित्र राखिने तेल स्वच्छ हुँदैन तबसम्म गाडी चल्न सक्दैन । त्यसरी नै शुद्ध विचार र आचरण तथा व्यक्तिको विश्वसनियताबिना संस्था चल्दैन ।

संस्था सञ्चालन गर्न व्यक्तिको भूमिको, सदस्यको आचरण र जिम्मेवारी सबै हुनुपर्छ । सहकारी सञ्चालन गर्दा यसलाई तीन किसिमलेनियन्त्रण गर्ने वातावरण बनाउनु पर्छ, जस्तै व्यक्ति नियन्त्रण, राज्य नियन्त्रण र समूह नियन्त्रण । सहकारी यी तीनैको नियन्त्रणमा रहने एउटा व्यावसायिक संस्था हो । यहाँ व्यक्ति, राज्य र समूह तीनैको नियन्त्रण र जिम्मेवारी रहन्छ । एउटा संस्था दर्ता गर्दादेखि नै यसको सुरुवात हुन्छ । जस्तै दाङ बचत तथा सहकारी संस्था लि दर्ता हुँदै छ भने हामीले यसरी बुझ्नु पर्छ– दाङ पहिचान हो, बचत तथा ऋण काम हो, सहकारी कसरी गर्ने भन्ने भयो अनि संस्था कानुनी मान्यता भयो ।

लिमिटेड सीमारेखा भयो । आफ्नो सीमारेखाभित्र रहेर सहकार्यको माध्यम बचत गर्ने बानीको विकास गर्नुका साथै आवश्यकताका आधारमा ऋण दिने काम गर्न दाङको नामले कानुनी मान्यता पायो । (यसलाई अर्को अर्थमा सहकारी जनताको लागि जनताद्वारा जनताको आवश्यकता परिपूर्तिका लागि बनेको संस्था हो भन्ने पनि बुझिन्छ) त्यसको मुख्य काम खान, नाना, छाना आपूर्ति गर्नु हो ।

जसरी निजीमा लगानीकर्ता पहिलो पक्षमा, बीचमा फर्म या बिचौलिया र त्यसपछि उपभोक्ता हुन्छन् भने सहकारीमा यसो नभइ कारोबार गर्ने लगानीकर्ता पहिलो र दोस्रोमा उपभोक्ता रहेको हुन्छ । यहाँ बिचौलियाको कुनै प्रभाव रहँदैन । फलस्वरुप बढी नाफा लिने परम्पराको अन्त्य भइ ताजा र स्वच्छ खाना, नाना र छानाको व्यवस्थापन हुन सजिलो पुग्छ । यसरी सहकारीले आफूलाई प्रस्तुत गरेको हुन्छ ।

धन कमाएर मात्रै मानिस धनी हुँदैनन् । मैले त धेरै मिहिनेत र पसिना बगाएँ भन्दैमा कोही धनी बन्दैनन् । धनी बन्नको लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ । क भन्ने व्यक्ति निकै धनी थियो । उसले दिनहुँ एक हजार कमाउँथ्यो । ऊ सधैँ जीवन मोज मजा र मस्तीको लागि आएको हो भन्ने गर्दथ्यो र उसले हरहमेसा दैनिक हजार रुपैयाँ खर्च गर्दथ्यो । तर ख भन्ने व्यक्तिले पाँच सय रुपैयाँ कमाउथे र दिनमा सय रुपैयाँ बचाउने गरी सेवा र सद्भाव जीवनको उद्देश्य हो भनेर आफूलाई प्रस्तुत गर्थे ।

यसरी १० वर्षपछि क भन्नेले मोजमजामा आफूलाई समर्पण गरेर धन जम्मा गर्न नसकी गरिब हुन पुग्यो भने ख भन्ने व्यक्तिले सेवा गरेर मानिसको मन पनि जित्यो र दिनहुँ सय रुपैयाँ जम्मा गरेर पछि धनी पनि बन्यो । त्यसैले धन कमाएर होइन बचत गर्न सक्यो भने मात्र मानिस धनी बन्नसक्छ । यो कुरालाई सहकारीले आत्मसात गरेको हुन्छ र रकम जम्मा गरी बचत गर्ने अभ्यास पनि गराएको हुन्छ । साथसाथै समूहगत सेवा भावना जागृत गर्ने जिम्मेवारी पनि सहकारीले सिकाएको हुन्छ ।

यसले बिचौलियाको मात्र अन्त्य गराएको हुँदैन, आफू स्वयम् आत्मनिर्भर रहने श्रमजीवी, बुद्धिमान र प्रतिभाशाली व्यक्तित्व बन्नमा पनि मद्दत पु¥याएको हुन्छ । त्यसैले सहकारीले अनुशासन र इमानदारीलाई बढी जोड दिएको देखिन्छ । यसमा आधारभूत मूल्य र नैतिक मूल्यलाई बढी प्राथमिकता दिइन्छ । सहकारीले आत्मसहयोगको अभिवृद्धि गराइ स्वउत्तरदायित्व वहन गर्न सिकाउँछ ।

प्रजातान्त्रिक प्रणालीबाट सञ्चालन हुन गइ एकअर्काको विचारलाई प्रश्रय दिनुपर्छ भन्ने ज्ञान बढाउँछ । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने सिकाउँदै समन्याय र समानताको भावना जागृत गराउँछ । ऐक्यबद्धता, इमानदारी, खुलापन र अरुको हेरचाह गर्दै सामाजिक उत्तरदायित्वसमेत ग्रहण गर्न सहकारीले उत्प्रेरणा जगाउँछ । यसले हिजो इतिहास हो, भोलि उधारो हो र वर्तमान महत्वपूर्ण भविष्य हो भन्ने जानकारी गराउँछ ।

अनिवार्य र पेन्सन बचत भन्नाले सहकारीको अभियानकर्ताले बुझ्न जरुरी छ । अनिवार्य बचत भन्नाले मासिक वा दैनिक जम्मा गर्नुपर्ने अवस्थालाई बुझाउँछ । जुन रकम केही समयपछि सावाँ व्याजसहित निकाल्न सकिन्छ र लाभ लिन सकिन्छ । बीचमा आवश्यक परे ९० प्रतिशत ऋण लिएर पनि आफ्नो समस्या समाधान गर्न सकिन्छ । विभिन्न बचत लगायत पेन्सन बचत भनेको अलग विषय हो ।

पेन्सन बचत भन्नाले निश्चित अवधि रकम जम्मा गरी त्यसपछि मासिक रकम जीवनभर सेयर सदस्य रहे वा त्यो जम्मा रकम नझिकेसम्म पाइरहने पेन्सन रकम भनिन्छ । जस्तो ११ वर्षसम्म लगातार रकम जम्मा गरेको छ भने त्यो व्यक्तिले मासिक रकम जति जम्मा गर्छ त्यसको दोब्बर ११ वर्षपछि मासिक भत्ता पाउन सक्षम हुनसक्छ । जस्तो क भन्ने व्यक्तिले मासिक एक हजारले ११ वर्ष रकम जम्मा ग¥यो भने उसको जम्मा रु ११ ह १२ ह १००० = १३२००० हुन्छ । उसले प्राप्त गर्ने वार्षिक व्याज १० प्रतिशतले पनि वर्षमा १२ सय हुन्छ ।

सरासर चक्रवर्तीय हिसाब नगरे पनि ११ वर्षमा १३ हजार दुई सय रुपैयाँ उसले व्याज पाउँछ भने उसलाई मासिक एक हजार देखि १५ सय पेन्सन दिन कुनै अप्ठेरो पर्दैन । यसरी ११, १५, २०, २५, ३० वर्षको म्याद दिई दोब्बर, चौबर हुँदै मासिक पेन्सन दिएमा पनि कुनै फरक पर्दैन । यसको लागि सहकारीलाई विश्वासयोग्य बनाउनुपर्छ । इमानदारी, लगनशीलता, धीरता र पारदर्शिता सहकारीमा राखिराख्नु पर्छ ।

यसको लागि नैतिक र चरित्रवान हुन पनि त्यत्तिकै जरुरी हुन्छ । नैतिकता सहकारीको आधार स्तम्भ पनि हो । अनिवार्य बचतले संस्था बलियो हुन्छ । दैनिक वा स्वइच्छिक बचतले मात्र संस्था बलियो नरहनसक्छ । तसर्थ, यी वैकल्पिक नीति पनि सहकारीमा परिवर्तन ल्याउनपर्ने जरुरी देखिन्छ । अर्को कुरा ऋण लगानी गर्दा धन जमानी, धितो जमानी, समूह जमानी यी तीन आधार भए पनि सुरक्षाको दृष्टिकोणले धितो जमानी उपयुक्त मानिन्छ ।

तर वर्तमानमा विश्वासको आधारमा समूह जामानी पनि गरेको देखिन्छ । अर्को कुरा अहिले मन जमानी पनि प्रचलनमा देखिन्छ र मुख जमानी पनि देखिन्छ । यो त्यत्ति भरपर्दो र विश्वासयोग्य हँुदैन । तसर्थ, विधि र नियम मुताविक सहकारी सञ्चालन गर्न जरुरी हुन्छ । सहकारीमा व्यक्तिको हालिमुहाली गर्ने परिस्थिति जन्मन दिनु हुँदेन ।

यसरी सहकारी राष्ट्रिय विकासको गत्तिलो माध्यम बन्न पुगेको हुन्छ । त्यसैले आर्थिक विकासको मुख्य आधार पनि सहकारीलाई मान्ने गरिन्छ । विश्वास र इमानदारी सहकारीको आदर्शता हो । नैतिकता र परदर्शिता यसको विशेषता हो । यहाँ लुकेको प्रतिभा सजिलै प्रष्फुटन हुने वातावरण बनेको हुन्छ । जसले सामूहिक जिम्मेवारी बढाइ एकले अनेक र अनेकले एकले अनभूत गराउँदै विकासका आयामहरु थपिँदै जाने अवसर जुटाएको हुन्छ ।

त्यसैले सहकारीको यही कर्मलाई बुझेर सरकारले तीनखम्बे नीति ल्याएको हो । तर विडम्बना मान्नुपर्छ सरकार यो नीतिमा अडिरहन सकेको देखिँदैन । राष्ट्रिय विकासको बलियो आधार रहेको सहकारी जस्तो स्वतन्त्र व्यावसायिक संस्थामा राजनीतिकीकरण भइ यसको उद्देश्य र कर्ममा भिन्नता बढेको अवस्था छ । आर्थिक अपचलन गरी व्यक्ति विशेषको स्वार्थले सहकारीमा गलत मानसिकता बढेको छ । जनताको यसप्रतिको धारणामा अविश्वसको वातावरण मडारिएको छ ।

सामाजिक उत्पीडनबाट मुक्ति र साहु महाजनको शोषणबाट मुक्त हुने गरी विकसित भएको सहकारीमा वर्तमानमा खासै महत्व नदिइरहेको अवस्था देखिन्छ । तसर्थ, सहकारी दिवस मनाएर मात्रै यसले सार्थकता नपाउने कुरामा सबैको ध्यान जान जरुरी छ । सहकारी अकबरी सुन हो । यसलाई बुझ्न र विश्वास बढाउन सके राष्ट्रिय विकासको आधार नै सहकारी बन्न पुग्छ । तसर्थ, यो कुरा सबै पक्ष र विशेषतः सरकार, स्थानीय निकाय, सहकारी अभियानकर्ता गम्भीर हुन जरुरी छ । समयले यही खोजिरहेको छ । अस्तु