calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

पाँच हजारले थालेको व्यवसायमा आठ लाखको कारोबार

ग्रामीण महिला उत्थान केन्द्रको अभियान
अमरराज आचार्य
दाङ, २८ चैत । घोराही उपमहानगरपालिका वडा नं १५ निवासी शारीरिक रूपमा अपाङ्ग भएकी हिराकुमारी थापा बिहान ४ बजेदेखि राती अबेरसम्म व्यवसायमा बित्ने गरेको छ । करिब १० वर्ष पहिलेदेखि नै यसरी उनको दैनिकी बित्ने गरेको छ । बिहान ४ बजे उठेर सामान खरिद गरेर ल्याउने र दिनभरि विक्री गर्ने गरेकी छिन् । उनले ५ हजारको लगानीमा व्यवसाय सुरु गरेकी बताइन् ।

व्यवसाय गर्न व्यक्तिगत रूपमा ऋण लिन खोजे पनि कतैबाट प्राप्त गर्न सकेकी थिइनन् ।
त्यसपछि ग्रामीण महिला उत्थान केन्द्रले गठन गरेको समूहमा बसेपछि उनले ऋण प्राप्त गरेकी थिइन् । ‘व्यक्तिहरूले ऋण नदिएपछि समूहमा बसेर लिएको ५ हजार ऋणबाट व्यवसाय सुरु गरेकी हुँ’, उनले भनिन् ।

समूहमा बसेर लिएको ऋणले उनलाई व्यवसायमा सहयोग पु¥याएको हो । शारीरिक रूपमा अपाङ्ग भए पनि उनले सुरुका दिनमा डुलाएर तरकारी बिक्री गर्ने गरेकी थिइन् । पछि विस्तारै व्यवसाय गर्दै जाँदा सटर भाडामा लिएर व्यवसाय गर्न थालेकी थिइन् । दुवैजना अपाङ्गता भएकाले व्यवसाय गर्न सहज भने थिएन ।

‘सहज नभए पनि सङ्घर्ष गर्दै अगाडि बढेँ, अहिले सहज हुँदै गएको छ’, थापाले भनिन् । व्यवसाय गरेर भएको आम्दानीले घरव्यवहार चलाउनेदेखि व्यवसाय विस्तार गरेकी थिइन् । ५ हजार रूपैयाँबाट सुरु गरेको व्यवसाय अहिले ७÷८ लाखको पुगेको उनको भनाइ रहेको छ । ऋणको सही सदुपयोग गर्नसके समस्या नहुने उनी बताउँछिन् ।

‘धेरैले ऋण लिएर सदुपयोग गर्न नसक्दा समस्या भएको छ’, उनले भनिन् । व्यवसायबाट गरेको आम्दानीले स्कुटी किनेकी छिन् । जसले उनलाई सामग्री ल्याउन सहज भएको छ । व्यवसायबाट गरेको आम्दानीले घोराहीमा घडेरी किनेर घरसम्म बनाइसकेको उनको भनाइ रहेको छ ।

‘व्यवसाय गर्न सहज भने छैन, समय दिनुपर्ने, दुःख गर्नुपर्छ’, उनले भनिन् । आफ्नो इच्छाशक्ति भएमा समस्या भए पनि काम गर्न सकिने उनी बताउँछिन् । ‘शारीरिक रूपमा अपाङ्ग भए पनि हिम्मतका साथ अगाडि बढेमा सफल भइन्छ’, उनले भनिन् । शारीरिक रूपमा कमजोर भए पनि आफूलाई कमजोर ठान्न नहुने उनी बताउँछिन् । महिलाहरू आफू आत्मनिर्भर हुनुपर्ने उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका वडा नं ५ नैनवार निवासी रेखा केसीले ८ हजार रूपैयाँले सुरु गरेको व्यवसायले उनलाई अहिले आत्मनिर्भर बनाएको छ । १३ वर्ष अघि उनले ८ हजार ऋण लिएर व्यवसाय सुरु गरेकी

थिइन् । ८ हजार रूपैयाँ पनि व्यक्तिगत रूपमा ऋण नपाएपछि समूहमा बसेर ऋण लिएकी थिइन् । किराना व्यवसाय सुरु गरेकी उनले अहिले किराना व्यवसायसँगै बाख्रापालन समेत गदै आएकी छन् । व्यवसाय समेत विस्तार गरेकी छिन् । ‘कसैले ऋण नदिएको समयमा समूहमा बसेर ऋण लिएर व्यवसाय सुरु गरेकी हुँ, जसले मलाई व्यवसायमा लाग्न धेरै सहयोग पुगेको हो’, केसीले भनिन् ।

दुईवटा बाख्रापालनबाट सुरु गरेकी उनीसँग अहिले १८ वटा बाख्रा छन् । व्यवसायबाट भएको आम्दानीले घरखर्च चलाउने, शिक्षा, स्वास्थ्यमा समेत खर्च गर्ने गरेको उनको भनाइ रहेको छ । सुरुमा मासिक १० रूपैयाँ बचत गर्ने उनले अहिले मासिक ६ समय रूपैयाँ बचतमा जम्मा गदै आएको बताइन् ।

आफूले गर्दै आएको व्यवसायबाट भएको आम्दानीबाट घरखर्च गर्ने र श्रीमानको कमाइ बचत हुने गरेको बताइन् । ‘घरपरिवारको सहयोगले व्यवसायमा सफलता भएको हो’, केसीले भनिन् । आम्दनीसँगै उनले आप्mनो नेतृत्व विकास गर्ने क्षमताको समेत विकास गरेकी छिन् ।

अर्घाखाँची घर भएकी शोभा नेपालीले घोराहीमा आएर ९ वर्ष अघि तरकारी खेती गर्न सुरु गरेकी थिइन् । छोरा बिरामी भएपछि उनी उपचारका लागि दाङ आएकी थिइन् । दाङ आएकी उनले खाली बस्नुभन्दा केही गर्नु पर्दछ भन्ने लागेको थियो । काम गर्नका लागि पैसा थिएन, व्यक्तिगत रूपमा ऋण लिने प्रयास गरिन् तर कसैबाट पाउन नसकेको उनले बताइन् । पछि ग्रामीणले भरतपुरमा निर्माण गरेको समूहमा बसेपछि उनले ८ वर्ष अघि २० हजार ऋण लिएर तरकारी खेती गर्न सुरु गरेकी थिइन् । तरकारी खेती गर्न सुरु गरेपछि घरव्यवहार चलाउन केही सहज हुँदै गएको उनले बताइन् ।

‘केही नहुन भन्दा तरकारी खेती गर्न थालेपछि केही सहज हुँदै गयो’, नेपालीले भनिन् । तरकारी विक्री गरेर भएको आम्दानीले घरखर्च चलाउन सहज भएको थियो । विस्तारै तरकारी खेती तथा श्रीमान्को कमाइ जम्मा गर्दै गएपछि अहिले उनीहरूले करिव ३ वर्ष अघिदेखि होटेल सञ्चालन गदै आएको बताइन् ।

अरुमा परनिर्भर नभइ आत्मनिर्भत हुनतर्फ लाग्नुपर्ने उनी बताउँछिन् । ‘आफैले केही गर्नु पर्दछ भन्ने सोचको विकास हुन आवश्यक छ’, नेपालीले भनिन् । अधिकांश महिला घरमा खाली बस्ने गरेको भन्दै सानो भए पनि पेसा–व्यवसाय गरेर आत्मनिर्भर बन्न उनको सुझाव रहेको छ । ‘काम सानो–ठूलो भन्ने हुँदैन, केही न केही काम गर्नु पर्दछ’, नेपालीले भनिन् ।

यसैबीच आत्मनिर्भर लघु वित्तीय संस्था लिमिटेड दाङ कार्यालयले बित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरूसँग वार्षिक समीक्षा कार्यक्रम गरेको छ । कार्यक्रम शाखाका घोराही प्रबन्धक तीर्सना चौधरीको अध्यक्षता तथा आत्मनिर्भर लघु वित्तीय संस्था लिमिटेडका सिओ सौगतवीर चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै सिओ चौधरीले ऋणको सही सदुपयोग गर्नसके नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताए । ऋणको सदुपयोग नगर्ने प्रवृत्तिका कारण समस्या भएको उनको भनाइ थियो । आफूहरूले ऋण प्रदान गर्नुभन्दा पहिले वित्तीय साक्षरता प्रदान गरेर मात्र ऋण लगनी गर्ने गरेको उनले बताए ।

कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक हितबहादुर थापा, ग्रामीण महिला उत्थान केन्द्रका सञ्चालक समितिका सदस्य रजनी श्रेष्ठ, माधवा पोख्रेल, अभिभावक ऋषिदेव शर्मा, उद्यमीहरू शोभा नेपाली, राजकुमारी चौधरी, हिराकुमारी थापा, जुगमानी चौधरी, सरस्वता चौधरीलगायतले भनाइ राखेका थिए । कार्यक्रममा उत्कृष्ट उद्यमी, उत्कृष्ट केन्द्र, उत्कृष्ट बचतकर्ता, अनुशासित केन्द्रलाई सम्मान गरिएको थियो ।

शाखाका लेखापाल दशरथ चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विषय प्रवेश मानव संसाधनका प्रमुख नेपबहादुर चौधरीले गराएका थिए । कार्यक्रमको सहजीकरण कर्जा विभाग प्रमुख कालीदास चौधरीले गरेका थिए । आत्मनिर्भर लघुवित्तीय संस्था लिमिटेडको मातृसंस्था ग्रामीण महिला उत्थान केन्द्र रहेको छ ।