मेरो खुशी : रेडियोमा गीत बज्दा …

मिठो स्वर, मिलनसार र सहयोगी स्वभावका विपिन घिमिरे नेपाली सुमग संगीतका क्षेत्रमा चलेको नाम हो । विगत दुईदशकदेखि गीतसंगीतको क्षेत्रमा लागेका घिमिरे आधुनिक तथा गीतसंगीतलाई विशेष महत्व दिन्छन् । बाल्यावस्थाबाटै गीतसंगीतमा चासो राख्ने उनी गायनसँगै अरूले सिर्जना गरेका गीतहरूमा संगीत भर्नसमेत सिपालु छन् । उनी साहित्यको क्षेत्रमा पनि संलग्न छन् ।

स्कुलमा हुने अतिरिक्त क्रियाकलापदेखि विभिन्न सांस्कृतिक कार्यक्रममा गीत गाउने गरेका घिमिरे पछिल्लो समय सफल गायक तथा संगीतकारका रूपमा स्थापित भइसकेका छन् । घिमिरेभित्र रहेको गीतसंगीतप्रतिको लगनशीलता, लगाव र स्वरका कारण डा गोविन्द आचार्यको संगीत र भीमकान्त आचार्य ‘सी’ले रचना गरेको ‘बैगुनीलाई पनि मनले सम्झँदै छ …’ बोलको गीत गाएर पहिलो पटक २०५६ सालमा रेकर्ड गराएर नेपाली गीतसंगीत क्षेत्रमा प्रवेश गरेका थिए ।

सांगितिक क्षेत्रमा प्रवेश गरेको करिब २३ वर्षको अवधिमा तीन सय बढी गीतसंगीतमा स्वर तथा संगीत भरिसकेका छन् । पहिलो आधुनिक गीतबाट राम्रो प्रतिक्रिया पाएका घिमिरेले दुई वर्षपछि २०५८ सालमा साहित्यकार डा.कृष्णराज डिसीको रचनामा राष्ट्रिय भावको गीत गाउने अर्काे अवसर प्राप्त गरे । त्यो समयमा देश सशस्त्र द्वन्द्वमा थियो, कति बेला को मारिने हो थाहा थिएन । नेपाली–नेपाली बीचको लडाइँका कारण आमाको कोख रित्तिने क्रम चलिरहेको थियो । त्यो समयमा ‘आमा’ एल्बममा समावेश रहेको ‘मेरी आमा, तिम्रा आँसु मैले पुछ्न सकूँ …’ बोलेको गीत गाएका थिए ।

त्यो गीत धेरैले मन समेत पराएका थिए । त्यो गीत रेडियो नेपाल तथा एफएम रेडियोहरूमा बज्ने गरेको थियो । ‘आमा’ एल्बममा चर्चित गायक कृष्णभक्त राई, सिन्धु मल्ल, अर्जुन सुनामलगायतका गायकसँग घिमिरेको गीत पनि समावेश भएको थियो । जुन घिमिरेले घरमा बसेको समयमा पहिलो पटक रेडियो नेपालमा बजेको सुनेका थिए । त्यो क्षणलाई आफ्नो जीवनको पहिलो खुसीको क्षण भएको घिमिरे बताउँछन् । ‘सानैदेखि गीतसंगीतप्रतिको रुचिका कारण कुनै दिन आफ्नो गीत रेकर्ड भएर अरु गायकको जस्तै रेडियोहरूमा बच्ने छ भन्ने लागेको थियो’, उनी भन्छन्, ‘तर मनमा लाग्नु र रेडियोबाट आफ्नै स्वरमा रेकर्ड भएको गीत बजेको सुन्दा धेरै नै आनन्द लाग्ने रहेछ । मन खुसी हुँदो रहेछ’– घिमिरेले भने ।

घिमिरेले पहिलो पटक गीत गाउन जाँदाको क्षणलाई पनि खुशीको क्षणका रूपमा सम्झन्छन् । ‘सुरुमा त गीत रेकर्ड गर्ने ठाउँ कस्तो छ होला, कसरी रेकर्ड भएर बच्छ होला भन्ने लागेको थियो’, उनी भन्छन्, ‘डा.गोविन्द आचार्यसँग गीत रेकर्डका लागि काठमाडौं गएर पहिलो पटक गीत रेकर्ड गरेको थिएँ । म्यूजिक नेपालमा गीत रेकर्ड गरेका थियौँ । त्यो क्षण पनि मेरो खुसीको क्षण हो, जुन गीतले मलाई गायकका रूपमा पहिलो पटक चिनाउने अवसर दिएको थियो’, घिमिरेले भने ।

गीतसंगीतमा लाग्न प्रेरित गर्नेहरूमा डा.गोविन्द आचार्य, डा.भिमार्जुन आचार्य, मुनाल घिमिरे र अमर सुवेदीलगायतका कलाकारलाई सम्झिन्छन् । त्यो समयमा आचार्यले गीत गाउने, घिमिरे र सुवेदी अभिनयका क्षेत्रमा सक्रिय थिए । उनीहरूले प्रायः कार्यक्रमहरू गर्ने र नाटक देखाउनेलगायतका काम गरिरहन्थे । उनीहरूकै कार्यक्रम हेर्नका लागि घिमिरे गोग्लीबाट घोराहीसम्म आउने गर्दथे । कहिले उनीहरूकै घरमा जान्थे र उनीहरूसँगै गाउन, अभिनय गर्न सिक्ने गर्दथे । जसले गर्दा उनलाई अघि बढ्न प्रेरित मिलेको उनी सम्झन्छन् । साथै गोविन्दप्रसाद श्रेष्ठबाट गीत सिक्ने अवसर प्राप्त गरेको बताउँछन् ।

घिमिरेको स्वर र संगीतमा लोकगीत, आधुनिक गीत, चलचित्र, जीवनदर्शन गीतहरूसँगै राष्ट्रिय भावनाका ३ सय बढी गीतहरू रेकर्ड भइसकेका छन् । गीतहरू आ–आफ्नो ठाउँमा सबै नै उत्कृष्ट रहेका छन् तर घिमिरेले आपूmलाई गीतसंगीतकै माध्यमबाट राष्ट्रिय स्तरमा चर्चित बनाउने गीत भने ‘आज साइत घडी जुरेपछि …’, इच्छा चलचित्रको ‘रुदै छ आकाश बोल्दै छ…’लगायतका भएको बताउँछन् । लोक, आधुनिक, चलचित्रलगायतका सबै गीतहरूमा स्वर र संगीत भरिसकेका घिमिर विशेषतः आधुनिक गीतसंगीतको क्षेत्रमा सक्रिय रहेको बताउँछन् ।

उनका ‘झमझम झरी लाग्यो’, ‘कहाँ पोख्यौ मेरो माया’, ‘सबैभन्दा’, ‘तिमी नै मेरो’लगायतका गीत रहेका छन् । घिमिरे २०६८ सालमा नेपाली ताराको टप–१० मा समेत पर्न सफल भएका छन् । देशभरबाट करिब १२÷१३ हजार बढीले प्रतिस्पर्धा गरेको नेपाली तारा अडिशनमा राम्रो प्रदर्शन गर्दै टप–१० मा पुग्दाको क्षणलाई घिमिरेले आप्mनो जीवनको अर्काे खुसीको क्षणका रूपमा सम्झन्छन् ।
‘नेपाली तारामा सहभागी हुनु भनेको राम्रो मानिन्थ्यो । जसमा मैले पनि प्रतिस्पर्धा गरेको थिएँ’, उनले भने, ‘उत्कृष्ट प्रस्तुती र दर्शक तथा श्रोताको मायाले टप–१० सम्म पुग्न सफल भएको थिएँ’, घिमिरेले भने । पहिलो पटक सहभागी भएको प्रतियोगिताले गीतसंगीतका क्षेत्रमा संघर्षसँगै राष्ट्रिय स्तरमा चर्चित गायकहरूसँग नजिक हुने अवसर प्राप्त गरायो ।

नेपाली तारा गायन प्रतियोगिताबाट बाहिरिएपछि घिमिरे सुगमसंगीतका चर्चित गायकहरू सत्यराज आचार्य, नरेन्द्र प्यासी, राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालगायतका गायकहरूसँग नजिक भएर गीतसंगीतका बारेमा बुझ्न र सिक्नदेखि धनबहादुर गोपालीसँग सिक्ने अवसर प्राप्त गरेको बताए । गीतसंगीतका क्षेत्रमा अघि बढ्न साधनासँगै निरन्तरता आवश्यक रहेको भन्दै यी कुरामा ख्याल गर्ने मानिस सफल हुने बताउँछन् ।

‘जीवनमा आर्थिक रूपमा मात्रै सफल भएर हुँदैन, आफ्नो लक्ष्य र उद्देश्य पनि पूरा गर्ने मानिस सफल हुन्छ’, उनले भने, ‘त्यसका लागि निरन्तरता र गीतसंगीतका लागि साधना आवश्यक छ ।’ नेपाल नाट्य प्रतिष्ठान राष्ट्रिय नाँचघरमा जागिरेका रूपमा कार्यरत घिमिरे आफ्नो रुचिअनुसार सफल भएको सम्झने घिमिरेले चाहेको क्षेत्रमा लाग्न पाउनु पनि आफ्नो जीवनको खुसीको क्षण भएको बताउँछन् । ‘कतिपय मानिसको रुचि एउटा हुन्छ तर कर्म अर्काेतिर हुने गरेको छ’, गायक तथा संगीतकार घिमिरेले भन्छन्, ‘त्यस हिसाबले पनि म खुसी छु ।

जुन मेरो सानैदेखिको रुचिको क्षेत्र हो । त्यही क्षेत्रमा लाग्न पाउनु मेरो खुसीको कुरा हो ।’ गीतसंगीतका माध्यमबाट शब्दहरूमा खेल्न र गीतको भावअनुसार संगीत भर्न सिपालु घिमिरेले नेपाली लोकगीत तथा लोक नाटकहरूको संरक्षण र विकासका लागि काम गर्ने उद्देश्य रहेको बताउँछन् । घिमिरेका ‘सविनय’ २०६७, ‘तिम्रो प्रेरणाले’ २०७८, ‘तृष्णा’ २०७९ लगायतका एल्बमहरू सार्वजनिक भएका छन् ।

२०३८ साल भदौको १४ गते बुवा मोहन घिमिरे र आमा सविता घिमिरेको कान्छो सन्तानका रूपमा घोराही उपमहानगरपालिका–४ गोग्लीमा जन्मिएका घिमिरेले २०६९ सालमा घोराही निवासी समा शर्मासँग विवाहबन्धनमा बाँधिएका थिए । घिमिरेका एक छोरा विमर्श छन् । गाउँकै माध्यमिक विद्यालय गोग्लीबाट औपचारिक शिक्षा प्रारम्भ गरेका थिए । सरकारी स्कूलमा ५ सम्म अध्ययन गरेका घिमिरेले ६ देखि १० कक्षासम्म घोराहीकै दीपशिखा आवासीय विद्यालयमा अध्ययन गरेका थिए ।

त्यसपछि प्लस–टु नेपालगञ्जको बागेश्वरी कलेजबाट गरेका उनले व्याचलर भने घोराहीको महेन्द्र बहुमुखी क्याम्पसबाट गरे । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट मास्टर गरेका घिमिरे राष्ट्रिय नाँचघरमा कलाकारका रूपमा कार्यरत छन् । घिमिरे नेपालका विभिन्न जिल्लासँगै भारत, बंगलादेशलगायतका विभिन्न देशहरूको भ्रमण समेत गरिसकेका छन् । घिमिरे विभिन्न संघसंस्थामा समेत आबद्ध छन् ।