राजविद्यामा मेधावी छात्रवृत्ति

गोरक्ष समाचारदाता
दाङ, २६ चैत । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरमा रहेको राजविद्या पाठशालाले ‘राजविद्या मेधावी छात्रवृत्ति २०८०’ घोषणा गरेको छ । विद्यालयले घोराहीमा पत्रकार सम्मेलन गरी विद्यालयले ‘राजविद्या मेधावी छात्रवृत्ति २०८०’ को घोषणा गरेको हो ।

घोषित छात्रवृत्तिअन्तर्गत् विद्यालयले २०८० सालमा ३ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको विद्यालयले जनाएको छ । सरकारले निर्धारण गरेको १० प्रतिशत छात्रवृत्ति सरकारले तोकेकै मापदण्डअनुसार विद्यालयले प्रदान गर्दै आएको जनाएको छ । यसका अतिरिक्त यस शैक्षिकसत्रदेखि विद्यालयले सामाजिक तथा शैक्षिक उत्तरदायित्वलाई अझ फराकिलो बनाउँदै ‘राजविद्या मेधावी छात्रवृत्ति’ पनि प्रदान गर्ने भएको हो ।

विपन्न तथा जेहन्दार विद्यार्थीका लागि तय गरिएको छात्रवृत्तिका लागि विद्यालयले शैक्षिक सत्रको सुरुवातमा प्रवेश परीक्षा लिनेछ । जसमा कक्षा ८ मा अध्ययन गर्न विद्यार्थीले परीक्षा दिनुपर्ने विद्यालयका प्रिन्सिपल टीकाजंग विकेले जानकारी दिए ।

शैक्षिकसत्रको सुरुवातमै लिइने प्रवेश परीक्षामा सहभागी हुन विद्यालयले दरखास्त आह्वान् गर्ने छ । परीक्षामा सहभागी विद्यार्थी मध्येको उत्कृष्ट ३ छनोट हुने गर्दछन् । यी तीन जनालाई उपलब्ध गराइने छात्रवृत्ति पनि दुई जना उत्कृष्ट विद्यार्थीले प्राप्त गर्नेछन् भने एक जना जेहेन्दार, विपन्न, दलित, जनजाति तथा आदिवासी कोटाका आधारमा उपलब्ध गराइनेछ ।

उत्कृष्ट दुईमा छनोट हुन कम्तिमा ८५ प्रतिशत र जेहेन्दार, विपन्न, दलित, जनजाति तथा आदिबासी कोटाका आधारमा छनोट हुनका लागि ७५ प्रतिशत अङ्क प्राप्त गरेकै हुनुपर्ने प्रावधान रहेको छ । उत्कृष्ट ३ विद्यार्थीलाई कक्षा ८ बाटै निःशुल्क अध्ययन गराउँदै कक्षा १० सम्म शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । विपन्न वर्गको कोटामा दरखास्त दिन अनिवार्य सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिनुपर्ने छ । यस छात्रवृत्तिमा यसै विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरू पनि सहभागी हुन पाउनेछन् ।

पत्रकार सम्मेलनमा विद्यालयका आगामी शैक्षिक गतिविधि र रणनीतिका बारेमा प्रिन्सिपल विकेले जानकारी दिएका थिए । उनले विद्यार्थीलाई अध्ययनपनसँगै खेलकुल क्षेत्रलाइ पनि प्राथमिकता दिएर अगाडि बसढएको उनको भनाइ रहेको छ । विद्यार्थीको रुचि र क्षमताका आधारमा आफूले खेलकुद, संगस्तलगायतका क्षेत्रका बारेमा सिक्न पाउने छन् ।

यसलाई प्रोफेशनलका रूपपमा अगाडि बढाइने समेत उनले बताए । विद्यालयले विद्यार्थीलाई प्रविधिको प्रयोग गरी सिकाइ क्रियाकलाप प्राथमिक्ता दिएको जनाएको छ । विद्यालयको स्थापना २०७६ सालमा भएको हो भने हाल कक्षा ७ सम्म सञ्चालन भइरहेको छ । आउँदो शैक्षिक–सत्रदेखि कक्षा ८ सञ्चालन हुने विद्यालयको भनाइ रहेको छ ।

पत्रकार सम्मेलनमा विद्यालयले पत्रकारकार महासंघलाई फुटबल ड्रेस पनि उपलब्ध गराएको थियो । पत्रकार सम्मेलन विद्यालयका प्रिन्सिपल तथा सञ्चालक समितिका अध्यक्ष टीकाजंग बिकेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन, नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका डाइरेक्टर आदिम के सीले गरेका थिए ।