पीडितलाई सुरक्षा सेवा दिने संस्था नै संकटमा

गोरक्ष समाचारदाता
तुलसीपुर, २३ चैत । पीडितलाई सुरक्षा सेवा दिने संस्था आफै असुरक्षित र आर्थिक संकटमा छ । सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको उपमेयर अल्पकालीन महिला तथा बालिका सुरक्षा सेवा केन्द्र सञ्चालनमा विभिन्न कठिनाइ आएको सञ्चालकहरूले गुनासो गरेका छन् ।

विसं २०६३ सालमा बचत, सीप र संगठनका लागि २५ जना महिलाबाट संस्थापना भएको सहकारीले २०७७ सालदेखि तुलसीपुर–१० मा उपमेयर अल्पकालीन महिला तथा बालिका सुरक्षा सेवा केन्द्र सञ्चालन गरी सेवा दिँदै आएको छ ।

तुलसीपुर उपमहानगरपालिकाबाट २०७७ जेठमा सेवा केन्द्र सञ्चालनका लागि सम्झौता भएको र पछिल्लो समय फेरि २०७९ असोजमा सम्झौता भएर न्यायमा पँहुच नपुगेकालाई न्यायको प्रत्याभूति दिनलाई सुरक्षित तवरले सेवा प्रदान गरेको संस्थामा विभिन्न चुनौतीहरू रहेको सचिव रमा आचार्यले बताइन् ।

पहिलो वर्ष १२ लाख र पछिल्लो वर्ष ८ लाख ५० हजार बजेट दिने सहमतिपत्रअनुसार उपमेयर अल्पकालीन महिला तथा बालिका सुरक्षा केन्द्र सञ्चालनमा आए पनि समयमै रकम नपाउँदा समस्या भएको सञ्चालक बताउँछन् । ‘यो वर्ष करिब ३ लाख ४० हजार पाएका छौँ, संस्थामा विभिन्नथरिका पीडित आउँछन् तर हामीलाई यो कार्यक्रम सञ्चालन गर्न निकै कठिन छ’, सचिव आचार्यले भनिन् ।

४ जना कर्मचारी सहित उपमेयर अल्पकालीन महिला तथा बालिका सुरक्षा केन्द्र सञ्चान गरे पनि विभिन्न थरिका पीडित त्यहाँ आउने गरेको भन्दै सुरक्षादेखि अन्य कुराहरू पनि आफूहरूलाई प्राप्त नभएको सञ्चालक बताउँछन् । ‘४५ देखि ६० दिनसम्म पीडितलाई राख्ने सम्झौता छ तर त्यसपछि उनीहरूलाई कहाँ राख्ने ? के गर्ने भन्ने उनीहरूको गुनासो छ’, आचार्यले भनिन्, ‘सुरक्षा केन्द्रको भवन वरपर तारबार छैन, कस्तो विछिप्त भएका मानिस यहाँ आउँछन् ।’

तुलसीपुर उपमहानगरपालिकामा पैसा माग्न जाँदा पैसा नपाउने समस्या रहेको उनीहरूको भनाइ छ । केन्द्र प्रमुख लीला केसीले प्रभावित पटक–पटक दोहोरिने, पीडित लामो समयसम्म बस्दा उनीहरू आत्तिने र पट्यार मान्ने, पीडिलाई सम्बन्धित स्थानमा पु¥याउँदा न्यायमा ढिलाइ, सेवा केन्द्रमा विभिन्न जोखिम तथा चुनौती रहेको उनले बताइन् ।

‘तुलसीपुर उपमहानगरपालिकाबाट सेवा केन्द्र सञ्चालनका लागि अनुदान रकम समयमा नआउनु, अनुदान रकम भने तापनि किस्ताबन्दी हुँदा कार्यक्रम सञ्चालन गर्न आर्थिक कठिनाइ हुनु पनि अर्को समस्या र चुनौती बनेको छ । सेवा केन्द्रमा घरेलु हिंसाका २६, सामाजिक हिंसा १३, यौन हिंसा ९, अन्य हिंसा १२ जना गरी ६० जना विभिन्न हिंसापीडित आएको उनले बताइन् । त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा २५ जना हिंसा प्रभावित आएको, जसमा घरेलु हिंसाका ८, यौन हिंसाका ६, सामाजिक हिंसाका ३ र अन्य ८ जना रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले भने पहिले केही समस्या भए पनि अब नहुने बताए । ‘सेवा केन्द्र सञ्चालनमा हामीले के गर्नुपर्छ ? सहमतिअनुसार हुन्छ, विकास निर्माणदेखि अन्य कुराभन्दा तपाईँहरूलाई पहिलो प्राथमिकतामा राख्नेछौँ’, खड्काले भने । त्यस्तै उपमेयर स्यानी चौधरीले पनि अल्पकालीन महिला तथा बालिका सुरक्षा सेवा केन्द्रमा बजेट अभाव नहुने भन्दै सेवालाई प्रभावकारी गराउनुपर्ने बताइन् । ‘काम गर्नुहोस् रकम पाउनुहुन्छ, छिटोछरितो काम गर्नुहोस्, संस्थाको पनि केही दायित्व हुनुपर्छ’, उनले भनिन् ।