गोरक्ष समाचारदाता
लमही, २३ चैत । राजपुर गाउँपालिका भित्र रहेका खोला तथा नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् भैराखेको छ । स्थानीय तहले नदीजन्य पदार्थको निगरानी गर्ने जिम्मेवारी रहेपनि अवैध काम भइरहदा पनि पालिकाले ध्यान दिएको छैन ।
गाउँपालिकामा क्रियासिल राजनीतिक दलको तर्फबाट डेलिगेसन गएर ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको नेकपा एमाले राजपुर गाउँपालिका कमिटिका अध्यक्ष हेमकुमार जिसीले बताए । उनका अनुसार अहिले राप्ती नदी र अन्य खोलाहरूमा जथाभावी उत्खनन्को काम भएको छ । दलको तर्फबाट स्थलगत अनुगमन गर्दा तोकिएको भन्दा धेरै उत्खनन् गरिएको पाइएको उनले बताए ।
‘निकाल्न पाउने ५० मिटर चौडाई, ४५० मिटर लम्बाई र ० सेन्टिमिटर गहिराई हो । तर, यहाँ २५० मिटर लम्बाई, ५० मिटर चौडाई, २।५ देखी ३ मिटर गहराईका ३ वटा खाडल बनाएर उत्खनन् भइरहेको छ’उनले भने,‘उत्खनन्मा तीन वटा जेसिवी प्रयोग भएका छन् । उठाउन पाउने परिणम भन्दा बढी उठाईसकेका छन् ।’
राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलहरूको सर्वदलिय बैठकले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न माग गरेको छ । नदी तथा खोलाहरूमा डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भैराखेको छ । नदीको सतह गहिरिनेगरी ठूला ठूला खाडल पारेर गिट्टी, बालुवा निकाल्ने काम भएको छ । राजपुर गाउँपालिकाको मटेरीया घाटबाट जथाभावी रूपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको प्रति स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।’यो हाम्रो व्यक्तिगत विषय होइन, नदीजन्य पदार्थको जथाभावी उत्खनन् हुँदा नियमन गर्ने निकायले किन ध्यान दिँदैनन’ एक स्थानीयले भने ’मापदण्ड एउटा छ । त्योभन्दा बाहिर उत्खनन् भइरहेको छ ।’
स्थानीय तहले ठेक्का लगाएपनि ठेकेदारले मापदण्ड विपरित नदीजन्य पदार्थ निकालेको स्थानीयको आरोप छ । फागुन १ गते बसेको कार्यपालिका बैठकबाट निर्माण कम्पनीलाई नदीजन्य पदार्थ उत्खनन् गर्न हलुका मेसिनरी औजार व्याकहोलोडर प्रयोग गर्न दिने निर्णय गरेको थियो। राजश्व संकलनको नाममा नदीजन्य पदार्थ उत्खनन् जथाभावी रूपमा भइरहेको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । गाउँपालिकाले भने प्राविधिकको टोलीले अनुगमन गर्ने बताएको छ ।