मेरो खुशी : उपभोक्तालाई सहज खानेपानी …

उनी बिहान उठेदेखि साँझ नसुत्दासम्म सामाजिक काममै तल्लीन हुन्छन् । सधैँ खुसी र हसिलो मुहारका साथ उनी कर्ममै हुन्छन् । उनका खुसीहरू खोन्दा उनले जीवनमा सबैभन्दा पहिलो खुसी आफ्नो सामाजिक सेवा भएको सुनाए । बुवा जागेश्वर शर्मा आचार्य र लक्ष्मीदेवी आचार्यको कोखबाट जन्मिएका सिताराम शर्मा आचार्य अहिले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपाध्यक्षमा रहेर रात–दिन नभनी खानेपानी के–कसरी जनतालाई खुवाउने भन्नेमा छन् ।

विसं २०६० सालदेखि पार्सदको रूपमा खानेपानीमा आबद्ध भएका सिताराम विस २०७३ सालमा कोषाध्यक्ष हुँदै हाल उपाध्यक्षमा निर्वाचनबाट निर्वाचित भएका हुन् । सितारामले आफ्नो अर्को खुसी एकधारा एक घर भन्ने अभियानअन्तर्गत् खानेपानीका लागि फार्म भरेका सबैलाई धारा वितरण गर्न पाउँदा लगेको सुनाए । ‘तुलसीपुरमा धेरै हजारौँले खानेपानीको धारा जडानका लागि फारम भर्नुभएको थियो, हामी निर्वाचित भएर आएपछि सबैले धारा पाउनुभयो, त्यो दिन म धेरै खुसी भएको थिएँ’, सीतारामले भने ।

मैले उनको खुसी लेख्न जाँदा उनी खानेपानीकै काममा तल्लीन थिएँ । ‘हाम्रो खानेपानीको टिम कसरी उपभोक्तालाई खानेपानी खुवाउने, कहाँ कुन मूलमा सरसफाई गर्ने, खानेपानीको स्रोत संरक्षण गर्ने भन्नेमा लागेका छौँ’, उनले भने । उनले पानी सबै जनताको जीवन भएको भन्दै आफू पनि खानेपानी सहज, सरल कसरी बनाउन सकिन्छ ? त्यसैमा लागेको सुनाए । उनले सबै जनतालाई भनेको बेला खानेपानी पु¥याउनु आफूहरूको पहिलो लक्ष्य भएको भन्दै सबै जनताले पानी पाएको दिन आफू झनै खुसी हुने सुनाए ।

यसैगरी सितारामले आफूलाई जनताले विश्वास गरी यो ठाउँमा पु¥याएको भन्दै जनताले निर्वाचनमा जिताउँदाको दिन अर्को खुसी मिलेको सुनाए । उनले सहलगानी आयोजना तुलसीपुरमा आउँदा पनि अर्को खुुसी मिलेको सुनाए । ‘सहलगानी आयोजना सुरु भएको छ, अब सबैले खानेपानी पाउने छन्, म त्यसमा पनि खुसी छु’, सितारामले भने । उनले बिहानदेखि साँझसम्म जनताको सेवा लाग्दा पनि आफूलाई खुसी लाग्ने गरेको सुनाए । मावि रझेनाबाट विसं २०४६ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका सितारामले विसं २०५२ सालमा गाउँ छोडी तुलसीपुर बजारमा आएको बताए ।

तत्कालीन राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा टाइपिस्टको रूपमा काम सुरु गरेका शर्मा खरदार, सुब्बा हुँदै हाल अधिकृत, कार्यालय प्रमुख भएर सेवा निवृत्त भएको बताउँछन् । ‘मैले यातायात क्षेत्रमा पनि विभिन्न कामका सेवाहरू गरे म त्यसमा पनि खुसी छु’, उनले भने । सितारामले आफू संस्थामा रहँदा संस्थाको हितमा लागेको र संस्थामा सबैले जिम्मेवारी दिँदा पनि खुसी लागेको सुनाए ।

विसं २०२८ सालमा सौंडियार गाविस वडा नं ४ मा मध्यमवर्गमा जन्मिएका आचार्य समाज सेवासँगै खेलकुद क्षेत्रको विकासका लागि पनि विभिन्न काम गरेको भन्दै खुसी व्यक्त गरे । दाङ जिल्ला खेलकुद विकास समिति दाङको पूर्व कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । सितारामले ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए ।

खेलप्रति पनि रुचि राख्ने सितारामले पहिले आफूले बाल्यकालमा मोजामा कपास कोचेर बनाएको भकुण्डोले फुटबल, ढुङ्गाहरूलाई बाटुलो आकृति दिएर लक्कु बनाएर भकुण्डोले त्यसैलाई ढालेर क्रिकेट खेल्ने गरेको बाल्यकाल सम्झिए अनि व्याडमिन्टन र टेबलटेनिस खेलेको सम्झिए । समयको विकासक्रमसँगै अहिले उनको हातमा मोजाले दोबारेको भकुण्डो होइन आधुनिक टेबल टेनिसका व्याटहरू छन् । व्याडमिन्टनका लागि पनि आधुनिक ककहरू सहित ब्याट पनि छन् अनि आफ्नो खेलकुद जीवनलाई दिगो बनाउन तुलसीपुरमा उनले टेबलटेनिस कभर्ड हल समेत बनाएका छन् ।

‘खेलकुदमा मेरो अधिक लगाव थियो, साथीहरूले साथ दिए, व्यवसायीले चन्दा दिए अनि स्थानीय निकायहरूले समेत सहयोग गरे अनि कभर्ड हल बन्यो’, सीताराम सम्झन्छन्, ‘मैले बनाएको होइन त्यसमा नेतृत्व मात्रै मैले गरेको हुँ, म त्यसमा पनि निकै खुसी छु ।’ उनलाई आजभोलि समाज सेवा हराएको र खेल मृत्यु प्रायः हुन थालेकोमा चिन्ता छ । कुनै अपाङ्गता भएकालाई चन्दा दिन होस् वा दृष्टिहरूलाई लुगाफाटो जुटाउन उनी जहिल्यै पनि जागरुक हुन्छन् । यसैगरी स्वास्थ्योपचारका लागि चन्दा माग्न आउनेहरूलाई उनले कहिल्यै खाली हात फर्काएका छैनन् ।

मेरो सानो सहयोग र सद्भावले बिरामीको उपचार हुन्छ भने किन नाइ भन्ने’, म दुःखी गरिबलाई सहयोग गर्न पाउँदा मलाई अर्को खुसी लाग्छ’, शर्माले भने । त्यस्तै शर्माले अर्को मल्टिप्रपोज कभर्डहल निर्माण हुँदा पनि खुसी मिलेको बताए । ‘तुलसीपुर नगरपालिकामा मल्टिप्रपोज कभर्डहल बन्ने जग्गा समेत भेटाएर त्यसलाई संरक्षकत्व समेत दिएका छौँं, सबै खेलपे्रमीहरूले आवश्यक चासो दिए, त्यो परियोजनालाई पनि हल सम्पन भयो, म त्यसमा पनि खुसी छु ।’ दाङ जिल्ला टेबल टेनिस संघको अध्यक्ष, दाङ जिल्ला ब्याडमिन्टन संघको उपाध्यक्षको समेत जिम्मेवारी कुशलतापूर्वक निभाएका सितारामले तुलसीपुरको अरनीको मैदानको स्तरोन्नति गर्न पनि पहिलो प्रयास उनैले थाले ।

खेलमैदान वर्षातको समयमा हिलाम्मे हुने अवस्थालाई जोगाउन उनकै पहलमा नाला खनेर पानी तर्काउने प्रयास समेत गरेको भन्दै त्यसमा सबै साथीभाइ, अग्रजले साथ दिएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै घरमा श्रीमती छोराहरूले पनि आफूलाई साथ दिएको भन्दै खुसी व्यक्त गरे । ‘पारिवारिक सहयोग पनि मलाई छ, तर कहाँ–कहाँबाट समाजसेवामा लाग्न सकिन्छ र’, उनी भन्छन् । तुलसीपुर–६ निवासी सिताराम शर्मा आचार्य तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष एवम् दाङ जिल्ला टेबल टेनिस संघको अध्यक्ष तथा विभिन्न सामाजिक संघसंस्थामा अबद्ध छन् ।
प्रस्तुती : बालाराम खड्का