नारायणप्रसाद श्रेष्ठ
संसारमा विद्यमान हजारौँ प्रजातिमध्ये मानिस सर्वश्रेष्ठ बुद्धिमानी प्राणी हो । यसले सोच्न सक्छ, योसँग विवेक छ, उद्देश्य छ, बुद्धि छ, मिहिनेत गर्न जानेको छ, साहसी छ, धीर र लगनशील छ, एकअर्कामा प्रेम र सद्भाव गर्न जानेको छ । परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार छ, क्षमता र शक्ति छ । यति हुँदाहुँदै पनि ऊ एक्लो छ ।
त्यसैले ऊ आफ्नो बुद्धि र विवेक प्रयोग गरी सामाजिक बन्न खोजेको हुन्छ । एकअर्काबीच आपसी सम्बन्ध कायम गरी जीवन र जगतको रचनासँगै आफूलाई प्रस्तुत गर्न चाहेको हुन्छ । जन्म र मरणको इतिहाससँगै हुर्केको मानवीय जीवन पद्धतिसँग ऊ रमाएको छ । क्षणभंगुर जीवनको महत्व बुझेर नवीनतम कार्यप्रति ऊ सधैँ इमानदार छ । नयाँ–नयाँ खोज अनुसन्धानदेखि आत्मसन्तुष्टिको लागि विविध विकासका पूर्वाधार निर्माणमा उसको सोच निरन्तर गतिशील भइरहेको छ ।
यसरी अगाडि बढ्ने क्रममा जब चेतना प्रचुर मात्रामा बढ्न थाल्यो त्यसपछि उसलाई जीवन यापनका लागि आवश्यक पर्ने वस्तुको खाचो हुने अवस्था सिर्जना हुन पुग्यो । आवश्यकता बढ्न थाल्यो तब उसको खोजीमा अर्को विकल्प आउन थाल्यो । एकअर्काबीच सहयोग र सद्भाव बढाउनुपर्ने अवस्था बढ्न थाल्यो । मानिसले समूहमा बसी आफ्नो आवश्यकता पूरा गर्ने ध्याउन्नमा विविध कर्महरु पनि गर्दै अगाडि बढ्यो । बाँच्ने आधार तयार गर्ने क्रममा विकसित हुँदै आएको मानिसको आचरण र व्यवहार आपसी सम्बन्ध र सहिष्णुतातर्फ आकर्षित हुन पुग्यो ।
मानिस–मानिसबीच एकता भाव जागृत भयो । बाँच र बाचाऔँको सिद्धान्त प्रतिपादन सुरु हुनपुग्यो । चामल, तेल, आगो पैँचो लिने–दिने प्रचलन बढ्दै गयो । यही पैँचो लिने–दिने प्रचलनबाट सुरु भएको कर्मले मानिसबीच एकअर्कामा सहयोग गर्ने वातावरण विकसित हुन पुग्यो । यसरी सहकार्यबाट नै समस्याको समाधान हुनसक्छ भन्ने मान्यताले प्रश्रय पायो । मानिस स्वालम्बी र सहयोगी बन्दै गयो । टोल, समाज बन्यो । एकअर्काको आवश्यकता परिपूर्ति गर्ने गराउने वातावरण बन्यो । सहकार्यप्रति मानवीय सोच र चिन्तन बढ्न गइ सहकारीको अवधारणा विकसित हुन पुग्यो ।
सन् १७६० देखि १८१० सम्म बेलायतमा औद्योगिक क्रान्ति सुरु भयो । त्यसबेला बेलायतका एडम स्मिथले पुँजीवादको विचार प्रतिपादन गरे । जसलाई अहिले अर्थशास्त्रका जन्मदाता पनि भनिन्छ । यिनले कुनै पनि कार्य र समस्या रकमबाट मात्र हुनसक्छ भन्ने विचार प्रवाह गरे । पैसा नै सबै हो, पैसाबिना केही पनि हुँदैन भनेर सिद्धान्त प्रतिपादन गरे । पुँजी नै सबै हो भन्ने यिनको धारणाले पुँजीवादी अर्थ व्यवस्थाको प्रादुर्भाव भयो । मानिस रकमकै पछाडि दौडिन थाले । व्यापार व्यवसायदेखि राष्ट्रिय अर्थनीति नै पुँजीप्रति अकर्षित हुन पुग्यो । धनी झन धनी, गरिब झन गरिब हुने अवस्था सिर्जना भयो ।
उद्योगपति केवल आफूलाई कसरी मुनाफा गर्ने ध्याउन्नमा लागे । ग्राहकको आयस्तर मूल्यांकन हुन सकेन । ग्राहकको आर्थिक अवस्था कमजोर हुनेसँग उद्योगतिको ध्यान जान सकेन । फलस्वरुप धनाढ्य व्यक्तिको हैकम विद्यमान हुन पुग्यो । बेलायतको यही औद्योगिक क्रान्ति र फ्रान्समा सन् १७८९ देखि १८१५ सम्म भएको राज्य क्रान्तिले (जसलाई प्रजातन्त्रको युग पनि भनिन्छ) मानिसमा चेतना जागृत गरायो, तब त्यसबेला बेलायतका कार्ल माक्र्सले पुँजीवादी अर्थनीति गलत हो भनी व्याख्या गर्न थाले । कोही काखा, कोही पाखा, कोही धनी कोही गरिब, कोही सानो, कोही ठूलो भनी पुँजीवादी अर्थ व्यवस्थाको विरोध गर्न थाले ।
मान्छे जन्मको उद्देश्य धनी गरिब होइन । सबै समान हुनुपर्छ भनी यस किसिमको सिद्धान्त प्रतिपादन गरे (अहिले कार्ल माक्र्सलाई साम्यवादको जन्मदाता पनि भनिन्छ) । सबै समान हुन र सबैलाई समान व्यवहार हुनुपर्छ भन्ने मान्यतातर्फ उनी लागे । समान व्यवहार हुने क्रममा पुँजीवादको दलदलमा फसेको समाजलाई समान व्यवहारमा रुपान्तरण गर्न निकै संघर्ष भयो । पुँजीवादभन्दा साम्यवाद राम्रो भनी व्याख्या हुनाले साम्यवादमा पनि मानिसको क्षमतामा कुण्ठा लाग्न पुग्यो ।
डाक्टर र लेवरलाई एउटै दृष्टिले हेरिने परम्पराले मानिसको प्रतिभा जागृत हुन पाएन । जन्मको इतिहास समान भएर पनि बुद्धि र विवेकले मानिसबीचको भिन्नता बढ्न थाल्यो । यसले पनि सार्थकता पाउने अवस्था नआएपछि सन् १८४४ मा बेलायतका रबर्ट वन्ले पुँजीवाद र साम्यवादको मिश्रण गरी एकलाई सबै सबैलाई एक भनी २४ अगस्ट १८४४ मा सहकारीको अवधारणा विकास गरे । यिनको यही सिद्धान्तले समान उद्देश्य सहित सहकारी मुभमेन्ट अगाडि बढ्न सुरु भयो । कारोबारका आधारमा मुनाफा लिने र दिने गरी सहकारी जन्मियो ।
सहकारी भावनाले विश्वपरिवेशमा गत्तिलो प्रभाव जमाउन थाल्यो । जर्मनीमा सन् १८४९, डेनमार्कमा सन् १८६९, भारतमा सन् १९०४, चीनमा सन् १९१२ मा सहकारी अवधारणा विकसित हुन पुग्यो । सन् १८९५ मा अन्तर्राष्ट्रि सहकारी संघ गठनपछि विकसित हुँदै सन् १९९५ मा जेनेभामा बसेको अन्तर्राष्ट्रिय सहकारी संघले सात सिद्धान्त प्रतिपादन गरी सहकारी मुभमेन्ट सुरु भयो । यसरी नै नेपालमा पनि वि.सं. २०१३ साल चैत्र २० गते सुवेदार बखान सिंहको नामबाट उनकै नेतृत्वमा बखान ऋण सहकारी संस्था जन्मियो र यसले कानुनी मान्यता पायो । अहिले यही स्थापनासँगै ६६औँ सहकारी दिवस पनि यही चैत्र २० गते सम्पन्न हुन गयो ।
सहकारी एक किसिमको मुभमेन्ट हो । यसको उद्देश्य भनेको दिगो आर्थिक विकास, सशक्तिकरण र गरिबी न्यूनीकरण गर्नु हो । यो एउटा अभियान हो । जसले विश्वरंगमञ्चमा गत्तिलो प्रभाव जमाएको छ । जापानलगायत विश्वका जति पनि विकसित राष्ट्रहरु छन्, ती सबैले यही सिद्धान्तलाई अँगालेर आफूलाई विकसित मुलुक बनाएका छन् । चेतनाको विकाससँगै मनवीय आवश्यकतालाई परिपूर्ति गर्ने सहकारी उत्तम विकल्प भएर देखाप¥यो ।
सहकारीबाट नै दिगो विकास हुनसक्छ भन्ने मान्यताले जरा गाड्यो । यसरी यसको शुद्धिकरणका लागि सबैको ध्यान केन्द्रित हुँदै सहकारीलाई सहकारी अवधारणाअनुकूल आचरण र जिम्मेवारीबोध गर्नुपर्छ भन्ने मान्यताले प्रश्रय पायो । एकको लागि सबै, सबैको लागि एक भन्ने नारा सार्थक हुन पुग्यो । सहकारीको भूमिका, आचरण र जिम्मेवारीले सबैको ध्यान त्यसतर्फ आकृष्ट हुन पुग्यो ।
अहिलेको समाज हल्लाको पछाडि दौडिरहको छ । निहित स्वार्थ परिपूर्तिप्रति सबैको ध्यान बढेको छ । वास्तवमा हल्लाका पछाडि लाग्नु भनेको आफैलाई धोक दिनु हो । हुन त सहकारीमा यस्ता प्रवृत्तिले प्रश्रय नपाएको होइन । मैले त सहकार्य गरेकै हुँ, खोइ त मेरो आवश्यकता पूरा भयो भन्ने जामात पनि त्यत्तिकै नभएको होइन । तर बुझ्नुपर्ने कुरा के हो भने– सहकार्य त भयो तर विचारमा सहकार्य भएन । जस्तै डाक्टर र बिरामीबीच सहकार्य भएको पाइन्छ तर उद्देश्य फरक–फरक छ ।
मालिक र मजदुरबीच सहकार्य त भयो तर उद्देश्य अलग हुन पुग्यो । गाडी मालिक र चालक बीच सहकार्य भएर नै यातायात सञ्चालन भएको हो तर यहाँ फरक उद्देश्यबीच सहकार्य हुन पुगेको छ । मालिक रकम कमाउने ध्यानमा लागेको छ भने चालक जीविकोपार्जनको लागि लागेको छ । यसरी मालिकको धन कमाउने सोच बढ्यो भने चालक कसरी बाँच्ने भन्ने उद्देश्य रहन पुग्यो । उद्देश्य फरक भयो । यही फरक भएका कारण सहकार्य भएर पनि आवश्यकताले रुप बेग्लै भयो । तसर्थ, सहकारीलाई विचार र उद्देश्य मिल्नेसँग सहकार्य गरिनुपर्छ भनिएको हो । यही नै सहकारीको सार्थकता पनि हो ।