एम्बुसमा अर्थतन्त्र, हाई काढ्दै व्यवसायी

खेमराज रिजाल
दाङ, २२ चैत । तुलसीपुर उपमहानगरपालिका–१८ बाट कम्तिमा ७ जना अमेरिकाको गन्तव्यमा छन् । एउटै वडाका युवा व्यवसायी विदेश पलायन हुन थालेको यो पहिलो अवस्था हो । गरिखान सक्नेहरू नै नेपालको भविष्य नदेखेपछि उनीहरू विदेश पलायनको लाइनमा छन् । खासमा उनीहरूको रोजाइ अमेरिका नै हो । त्यहाँ सुरक्षित जीवनशैलीको सुनिश्चित छ, अहिलेसम्म ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका कम्तिमा एक दर्जन युवाहरू पनि अमेरिका पुग्ने बाटोमा छन् । उनीहरूलाई भिन्न–भिन्न एजेन्टहरूले अमेरिका पु¥याउँदै छन् । यसमा प्रदेश सभा सदस्यदेखि उनका आफन्तहरू पनि छन् । पश्चिम रुकुम, दाङदेखि धादिङका राजेन्द्र अधिकारी नामका एजेन्टमार्फत् उनीहरू अमेरिकाको गन्तव्य रोजिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका–१८ बाट एक जना अमेरिका जान लागेका युवाले भने, ‘अमेरिका पुग्नका लागि पैसाको कुनै सुनिश्चितता छैन, हरेक स्थानमा पुगेपछि शुल्क बढ्दै जान्छ ।’

उनी अहिले ब्राजिलमा छन्, दलालले डकुमेन्ट मिलाउने भन्दै थप दुई लाख रूपैयाँ मागेको छ । हुण्डी र बैंकमार्फत् आफन्त तथा अभिभावकले पैसा पठाइरहन्छन् । पछिल्लो तथ्याङ्कअनुसार दाङ जिल्लाबाट मात्रै कम्तिमा दुई सयजना युवा अमेरिकाको बाटोमा छन् । सयौँ विद्यार्थी अष्ट्रेलिया र क्रोसियाको बाटोमा छन् । फाल्तु युवाहरू दुबई, मलेसियाको जागिरको भिसा बनाइरहेका छन् ।
नेपालको बजेटभन्दा ठूलो हिस्सा अमेरिका पठाउने चक्करमा खर्च भइरहेको छ ।

विकास बजेट खर्च हुनसकेको छैन । यो अवस्थाले मुलुकभरको अर्थतन्त्र धरापमा परेको छ । अर्बौँ रूपैयाँ अमेरिका पठाउन हुण्डीमार्फत् पठाइएको छ भने बजारमा पैसाको अभाव हुन थालेको छ । ‘हाई काढेर बस्नु परेको छ, आज तीन सय रूपैयाँ मात्र बोहनी भयो’, तुलसीपुरका एक जना होटल व्यवसायीले भने । त्यस्तै अवस्था घोराही र लमहीमा पनि छ । गाउँका होटलहरूमा उधारोले गाँजेको छ ।

सबैलाई आशंका छ, अब नेपालमा न रोजगारीको सम्म्भावना छ न त व्यावसायिक प्रबद्र्धन नै तर यसमा सरकारले आधिकारिक संकट घोषणा गर्नसकेको छैन । विद्युतको बिलको सन्दर्भमै कुरा गर्ने हो भने पनि धेरै राज्यका निकाय र प्रालिहरूले बिल भुक्तानी गर्नसकेका छैनन् । तुलसीपुर उपमहानगरपालिका स्वयम् एउटा सरकारी निकाय हो तर विद्युत बिल भुक्तानी गर्न नसक्दा उपमहानगरपालिका अँध्यारो भएको थियो । यहाँका दुईवटा सिमेन्ट उद्योगहरूको करोडौँको विद्युत बिल भुक्तानी बाँकी छ भन्ने समाचारहरू पनि आएका छन् । लुम्बिनी प्रदेश सरकारले पनि विद्युत बिल नतिरेको भन्दै विद्युत काटिएको छ ।

‘यो देशमा बसेर हामीले केही गरौँला, केही सिकौँला र मुलुकलाई केही योगदान गरौँला भन्ने मैले सपनामा पनि देख्दिनँ’, समृद्धि रिजालले भनिन् । सबै साथीले नेपालको भविष्य नदेखेर बाहिर गइरहेको अवस्थामा मलाइ पनि यहाँबाट उम्काइदिन उनको आग्रह थियो । मेरी छोरीको समस्या मात्र होइन, यहाँका थुप्रै नेता कर्मचारीका छोराछोरीको रोजाइ विदेश बन्दै जाँदा मुलुकको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको छ । विकास निर्माण बिनाको समृद्धि खोजिरहेको छ, नेपालले ।

‘कहिले बिरालो र मुसाको गठबन्धन हुन्छ, त कहिले ककुर र बादरको, गठबन्धन स्वजातीय वा विजातीय छुट्याउनै मुस्किल पर्ने देखिएको छ’, दुधरासमा भेटिएका एक जना सामाजिक अगुवाले भने, ‘हामीले देशलाई विश्वास गरिरहँदा नेताले देशलाई यो गम्भीर अवस्थामा ल्याउन थालेका छन् ।’ भागबण्डाको राजनीतिक गोलचक्करका कारण मुलुकले स्थायी सरकार पाउन नसकेको दशकौँ भइसकेको छ । सहमति र सहकार्यका नाममा तेरो, मेरोलाई व्यवस्थापन गराउने खेलमा बरिष्ठ नेताहरू लागिरहँदा मुलुकको आर्थिक वृद्धि दर खस्कँदै आएको छ ।

विकास निर्माणमा भन्दा पनि सेवासुविधामा धेरै बजेट खर्च हुन थालेको छ । अहिलेसम्मको विकास बजेट खर्चको अभ्यास हेर्दा करिब २० प्रतिशत पनि विकास बजेट खर्च हुनसकेको छैन । यसले पनि बजारमा पैसाको अभाव भएको छ । यसकै कारण मुलुकको अर्थतन्त्र र आर्थिक गतिविधि धरापमा परेको छ । हाई–हाई गर्दै समय कटाइरहेका छन्, व्यवसायी । कतिपय व्यवसायीले बैंकको लोनको किस्ता र पसल भाडा निर्त नसकेर विस्थापित भइसकेका छन् । सायद असारमसान्तसम्म घोराही र तुलसीपुरका मुख्य बजारका आधा सटरहरूमा ताला लगाइएका हुनेछन् । सडकमा गुड्ने सवारी साधनहरू किस्ता तिर्न नसकेर बैंकको कब्जामा हुनेछन् ।