निर्माण व्यवसायीको साधारणसभा तथा अधिवेशन
गोरक्ष समाचारदाता
दाङ, १७ चैत । निर्माण व्यवसायीले राज्यको नीतिका कारण काम गर्न समस्या भएको बताएका छन् । दाङ निर्माण व्यवसायीको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।
विभिन्न बहानामा समस्या भोग्नुपरेकाले काम गर्न इच्छा हुँदाहुँदै पनि काम गर्न समस्या भएको बताए । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले निर्माण व्यवसायीको बारेमा जानकारी गराउन नसक्दा निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । ‘हामीले इमानदारीपूर्वक काम गर्छौँ तर त्यसका बारेमा बुझाउन नसक्दा हामीलाई हेर्ने दृष्टिकोण नकारात्मक छ’, उनले भने, ‘सबैलाई बुझाउनसकेमा निर्माण व्यवसायीलाई हेर्ने दृष्टिमा परिवर्तन आउने सभावना छ ।’ राज्यले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।
‘काम गर्ने वातावरण नहुँदा काम गर्ने इच्छा हुँदाहुँदै पनि काम गर्न पाउँदैनौँ’, उनले भने । व्यवसायीमा रहेका कमजोरीलाई सच्याएर अगाडि बढ्न सक्नुपर्ने उनले बताए । ‘हामीमा केही कमीकमजोरी छन् भने सच्याएर अगाडि बढ्न सक्नुपर्दछ’, उनले भने । देशका ठूला–ठूला विदेशी निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिँदा देशको पैसा विदेशिने गरेको समेत उनले बताए । अहिले विदेशी निर्माण कम्पनीले गरिरहेका काम देशका विभिन्न स्थनमा अलपत्र बन्न पुगेको उनले बताए । ‘नेपाली निर्माण व्यवसायी पनि ठूला आयोजना निर्माण गर्न सक्षम छन्’, उनले भने, ‘तर अझै त्यो वातावरण राज्यले तयार गरेको छैन ।’
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले राज्यले पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माणका काम हुन नसकेको बताए । यसको प्रभाव धेरै क्षेत्रमा परेको उनको भनाइ थियो । राज्यले निर्माण व्यवसायीसँग गरेका सम्झौता कार्यान्वयन समेत नगरेको उनले बताए । ‘राज्यले हामीसँग भएको सम्झौता समेत कार्यान्वयन गरेको छैन’, उनले भने । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले निर्माण व्यवसायीले आप्mनो पेसालाई मर्यादित बनाउनुपर्ने बताए ।
निर्माण व्यवसायीले काम गरेबाफतको रकम पाउनु पर्ने समेत बताए । काम गर्दा उत्पन्न हुने समस्या समाधान गर्नका लागि स्थानीय प्रशासनले सहयोग गर्ने समेत उनले बताए । ‘समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्दछ, यसका लागि स्थानीय प्रशासनले सहयोग गर्दछ’, प्रजिअ बैद्यले भने । निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेश अध्यक्ष बलिभद्र रानाले निर्माण व्यवसायीलाई प्रदान गरिने लाइसेन्स व्यवस्थित गर्ने जरुरी रहेको बताए । ‘जथावाभी लाइसेन्स वितरण गर्दा समस्या हुँदै गएको छ’, उनले भने ।
स्थानीय तहबाट साइसेन्स वितरण गर्दा समस्या भएको उनको भनाइ रहेको छ । अरूले गल्ती गर्दा आफूहरूले गाली पाउने गरेको बताए । ‘गल्ती एउटाले गर्ने गाली हामीले पाउने गरेको छाँै’, उनले भने । महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठले काम गरेको पैसा समयमा नपाउँदा समस्या भोग्नु परेको बताए । ‘काम गरेको पैसा पाउँदैनौँ, कसरी अरू काम गर्ने ?’, उनले भने ।
कार्यक्रममा नेकपा एमालेका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमाल, नबिल बैंकका शाखा प्रमुख मुरारी अर्याल, संघका पूर्व अध्यक्ष मिनकुमार वलीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष ईश्वर पुनको अध्यक्षतामा भएको थियो । व्यवसायी गोपाल घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण डा लोकराज पराजुलीले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्ति तथा पूर्व अध्यक्ष संस्थापक अध्यक्ष समितिका सदस्यहरूलाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।