साल फुलेर वनै झपक्क

गोरक्ष समाचारदाता
तुलसीपुर, १७ चैत । बसन्त ऋतुसँगै नयाँ पालुवाहरू पलाउने गर्छन् । बसन्त ऋतुको विशेषता धेरै छन् । यो बेला प्रकृति नै हराभरा र रंगीविरंगी देखिन्छ । सबैतिर फूल फुलेका हुन्छन् । बसन्तको आगमनसँगै वन, गाउँघरका पाखापखेरा, सहरका बगैँचा विभिन्नथरिका फूलले ढकमक्क हुन्छन् । विभिन्न क्षेत्रमा रातो, सेतो, गुलाबी रङका फूल फुलेको देखिन्छ । फूलका प्रजाति मात्रै नभएर विभिन्न वनस्पति पनि अहिले फुलेका छन् । यो समयमा सहरी ईलाकामा स्वस्थानी (पहेँलो फूल), गिनी फूल, भ्यागुते फूल, आरूलगायत प्रजाति पनि फुल्ने गरेका छन् ।

‘यो समयमा ‘नास्पाती, आँप काँगियो, शिरिष, कपुर, लहरेपीपल, लिची, तथा अन्य फलफूलहरू फूल्ने गरेका पाइन्छ तर यो पटक भने धेरै वर्षपछि साल पनि वनैभरि झपक्कै फुलेको छ । बसन्त ऋतुमा वनस्पतिले पालुवा फेर्ने, फूल फुल्ने, पात झर्नेलगायत क्रियाकलाप गर्ने गरे पनि धेरै वर्षपछि साल फुल्दा यसको व्याख्या र विश्लेषण भने धेरै हुने गरेको छ ।

कसैले साल फुल्नाको साल बढी वर्षा हुने अनुमान गरेका छन् त कसैले साल फुल्नाको साल धेरै हावा हुरी लाग्ने अग्रजहरू बताउँछन् । तुलसीपुर–४ निवासी ढुण्डीराज खनालले करिव ३५÷४० वर्ष पहिले साल यसरी फुलेको देखेको र हाल फेरि फुलेको बताए । ‘धेरै वर्षपछि साल यसरी वनैभरि ढकमक्क फुलेको छ, वन सेतै छ, साल फुले धेरै पानी पर्छ भन्छन्, त्यसमा सत्यता के छ’, उनले भने ।

त्यस्तै विसं २०३४ सालमा यसरी नै साल फुलेको थाहा पाएको र अहिले पनि त्यही देखेका स्थानीय डिल्लीरमण खड्काले बताए । ‘एक साल यसरी साल फुलेर फल भए पछि फलहरू टिपेर तेल पेलेर विक्री समेत गरेको थाहा छ, यो वर्ष पनि यही भएको छ’, उनले भने । उनी जस्तै स्थानीय शेरबहादुर खड्काले पनि अन्य फलफूलसँगै यो वर्ष साल पनि झकीझाउ फुलेको बताए । उनले यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप समेत फुलेको बताउँछन् ।

फूलले आँपको रूख नै ढाकेको छ । यसले गर्दा किसानमा खुसी समेत भएको उनी बताउँछन् । यति वर्ष भयो हामीले थाहा पाउने गरेको करिब ७० वर्ष अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ’, खड्काले भने । आँप धेरै फुले पनि यो कति बच्ने हो भन्नेमा भने किसानहरू सशंकित छन् । ‘यसलाई बचाउन चुनौती भने छ, हावा–पानी, असिना अनि रोग किरा कतिले बच्ने हो थाहा छैन’, स्थानीय अमर वलीले भने । त्यस्तै आँप धेरै फुल्ने र फलेको वर्ष भोकमरी पर्ने अनि अनिकाल हुने समेत उनीहरू बताउँछन् ।

त्यस्तै यस वर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘फूल फुल्ने विरूवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ’, उनले भने, ‘यस वर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।’

असिना, पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन अत्यधिक वृद्धि हुने उनको भनाइ छ । आँप उत्पादन भए पनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताए । आँप बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न आँप संरक्षण तथा व्यवसायीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । हाल गाउँका किसानहरूले लाएको र व्यावसायिक रूपमा खेती गरेका सबैको आँप धेरै फुलेको छ । त्यस्तै आँपसँगै लिची तथा अन्य अमिलो कागती समेत धेरै फुलेको स्थानीय समाजेसेवी घनश्याम सुवेदीले बताए । ‘यस वर्षको बसन्त ऋतुमा सबै बनस्पती फलफूल र अन्य बोटविरूवा झपक्कै फुलेका छन्’, उनले भने ।