Goraksha

National Daily

खुमबहादुर खड्का ‘सफल नेतृत्व र कुशल संगठक’

पाँचौ खुमबहादुर खड्का स्मृति दिवस

गोरक्ष समाचारदाता
दाङ, १७ चैत । कांग्रेस नेता खुमबहादुर खड्कासँग जोडिएर आउने शब्दावली हुन्, सफल लिडर, विकासप्रेमी र कुशल संगठक । नेता खड्काले आफ्नो जिल्लासँगै देशभर पार्टी र कार्यकर्तामा बेग्लै पहिचान बनाए र त्यही छोडेर २०७४ चैत १६ मा अस्ताए । नेता तथा कार्यकर्ताले उनले छोडेर गएको त्यही पहिचान बाँडने गरेका छन् ।

विहीवार खड्काको पाँचौँ स्मृति दिवसमा सहभागी कांग्रेसका नेता तथा कार्यकताले उनलाई सफल लिडर, कुशल संगठन निर्माणकर्ता र विकासप्रेमी उपमा दिँदै स्मरण गरेका छन् । नेपाली कांग्रेस दाङले घोराहीमा गरेको कार्यक्रममा बोल्ने वक्ताले स्व नेता खड्काको निधनले दाङमा संगठन कमजोर हुनुका साथै विकास निर्माणमा समेत ठूलो असर पुगेको बताए । स्व नेता खड्का इमानदार, क्षमतावान्, साहसी र धीर व्यक्ति भएका कारण जिल्लामा संगठन निर्माणदेखि मन्त्री भएको समयमा विकास निर्माणका कार्यहरू भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्व नेता खड्का सफल लिडर, कुशल संगठकसँगै विकासप्रेमी नेता भएको बताए । उनले खुमबहादुर खड्का मन्त्री भएकै समयमा जिल्लाको विकास निर्माण कार्यहरूको रेखाङ्कन भएको भन्दै उनको निधनले पार्टीसँगै जिल्लालाई नै क्षति पुगेको बताए ।

नेता खड्का प्रष्ट वक्तासँगै कार्यकर्तालाई बचाउने र माया गर्ने नेता भएको बताएका थिए । ‘कुरा स्पष्ट राख्न सक्ने कसैसँग नझुक्ने आफ्ना कुरा देशव्यापी लाग्ने र कार्यकर्ता बचाउने, माया गर्ने र देशको विकास गर्ने सबै गुण थियो’, कार्यक्रममा प्रमुख अतिथि घिमिरेले भने, ‘त्यही गुणका कारण दाङमात्रै नभएर देशभरका कार्यकर्तामा उहाँ लोकप्रिय हुनुहुन्छ ।

उहाँको सकारात्मक पक्षलाई हामीले अनुशरण गरेर पार्टी निर्माण लाग्न आवश्यक छ ।’ उनले आज पनि नेपाली राष्ट्रिय राजनीतिमा कांग्रेस नेता तथा कार्यकर्ताहरूले खुमबहादुर खड्काको आवश्यकता महसुस गर्ने गरेको बताए । जटिल समयमा दाङ कांग्रेससँगै देशभर संगठन निर्माणमा महत्वपूर्ण योगदान दिने नेताहरूलाई पछिल्लो समय पार्टी नेतृत्वबाटै असहयोग गर्ने कार्य समेत भएको भन्दै उनले त्यस्तो प्रवृत्ति आगामी दिनमा नहुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य भूपबहादुर डाँगीले स्व नेता खड्काले दाङमा पार्टी संगठन निर्माणदेखि विकास निर्माणका लागि निःस्वार्थ रूपमा काम गरेका कारण आजको कांग्रेस भएको भन्दै उनले खड्काको विचारलाई प्रमुख शक्तिका रूपमा विकास गर्न जिल्लामा नेता तथा कार्यकर्ता इमानदार भएर लाग्नुपर्ने बताएका थिए । उनले दाङ जिल्लाको विकासमा महत्वपूर्ण योगदान दिएका स्व खड्काले देशभरिका नेता कार्यकर्तालाई संरक्षण समेत गरेको बताएका थिए । स्व.खड्काले अपनाएको बाटोमा पार्टीको नेतृत्व तहका नेता समेत अपनाउनुका साथै विकास निर्माणमा लाग्नुपर्ने बताएका थिए ।

नेपाली राजनैतिक क्षेत्रमा उनले पु¥याएको योगदान र अभिभावकत्वलाई स्मरण गर्दै संगठन निर्माणमा लाग्नुपर्ने महासमिति सदस्य डाँगीले बताए । उनले स्व खड्काको निधनले दाङको विकासमा ठूलो क्षति पुगेको भन्दै यो क्षतिलाई कम गर्नका लागि कांग्रेसको केन्द्रीय नेतृत्वदेखि जिल्ला तहसम्म नेतृत्व गर्नेहरू लाग्नुपर्ने बताएका थिए । ‘हिजो स्व नेता खुमबहादुर खड्कालगायत उहाँका समकक्षीहरूले गरेको योगदानका कारण आजको कांग्रेस भएको हो’, उनले भने, ‘विगतको कांग्रेसलाई बचाइराख्न सबै एक भएर लाग्नुपर्छ ।’

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले स्व.नेता खड्का विकासप्रेमी, कार्यकर्ता संरक्षक र दाङलाई माया गर्ने नेताको रूपमा रहेको बताउँदै सहभागीले उनको निधनले दाङको विकासमा नेतृत्वको अभाव खड्किएको बताएका थिए । वक्ताहरूले खुमबहादुर खड्काले अँगालेको विचार पार्टी र कार्यकर्ताले अँगाले मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए । उनीहरूले पार्टीभित्र भएको तिक्तताालाई भुलेर इमानदार रूपमा सबै नेता तथा कार्यकर्ता संगठन निर्माणका लागि इमानदार रूपमा लाग्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेसका दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गोपालराज शर्मा, बद्रीकुमार खड्का, पूर्व जिल्ला सचिव टेकबहादुर वली, नेपाली कांग्रेस क्षेत्र नं. २(क)का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नं. २ (ख) का सभापति अभियान बस्नेत, पूर्व जिल्ला सदस्य सुरेन्द्र खड्का, नेपाली कांग्रेस घोराही नगरसभापति तिलक रावत, नेपाली कांग्रेस गढवाका सभापति किरण पौडेल, कांग्रेस जिल्ला सदस्य रेखा केसी, बिना बिसी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेललगायतका वक्ताले खुमबहादुर खड्काले अँगालेको विचार पार्टी र कार्यकर्ताले अँगालेर संगठन निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेपाली कांग्रेस जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई अर्का उपसभापति गिरिराज सुवेदीले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव अर्जुन योगीले गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री खड्काको २०७४ साल चैत्र १६ गते उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।