सरल स्वभाव, परिश्रममा विश्वास गर्ने लुमाकान्त बोहरा लमहीका सफल व्यवसायी हुन् । घरको कमजोर आर्थिक अवस्था, उच्च शिक्षा अध्ययन गर्न नपाएका बोहरा सानै उमेरदेखि श्रम गर्न थालेका हुन् । निरन्तर मिहिनेत र परिश्रमका कारण पढ्न नसके पनि बोहरा देउखुरी क्षेत्रमा सफल व्यवसायीका रूपमा स्थापित हुँदै गएका छन् । पढ्नका लागि पैसा नहुँदा बोहराले आपूmले नै पढ्ने विद्यालयमा मिठाई विक्री गर्ने गर्दथे । त्यही विक्रीबाट भएको आम्दानीले पढाइका लागि कापीकलमसँगै कपडाहरू किन्ने गरेको उनी बताउँछन् । बोहरा पढाइमा राम्रै भए पनि एसएलसी भन्दा माथि अध्ययन गर्न सकेनन् ।
घरपरिवारबाट पढाइ भन्दा पैसा कमाउनुतिर लाग्नुपर्ने उनीमाथि दबाब हुन थाल्यो । जसले गर्दा पढ्ने, लेख्ने समयमा उनी कमाउनका लागि भारत जान बाध्य भए । सानैदेखि पढाइसँगै विद्यालयमा मिठाई र चाउचाउ विक्री गर्ने गरेका बोहराले व्यवसाय र पैसालाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेका थिए । सानोमा मिठाई बनाउनका लागि भेली, बदाम, नरिवललगायतका सामग्री ल्याउन बजार गैरहन्थे ।
जसले गर्दा पैसा कमाउनका लागि व्यवसाय गर्नुपर्छ भन्ने मनमा परेको उनी बताउँछन् तर व्यवसाय गर्नका लागि भने पैसा नहुँदा केही गर्न सकेका थिएनन् । विद्यालय अध्ययनकै क्रममा पैसा कमाउन व्यवसाय गर्नुपर्छ भन्ने सिकेका लुमाकान्त पछिल्लो डेढदशकदेखि लमहीमा सफल मोबाइल व्यवसायीका रूपमा परिचित छन् । सफल व्यवसायी बोहरालाई गोरक्षको साप्ताहिक ‘मेरो खुसी’ स्तम्भका लागि आफ्नो खुसीका क्षणहरू सुनाउन आग्रह गर्दा बोहरा मिठाई विक्री गरेर साइकल किन्दाको क्षणलाई आफ्नो जीवनको पहिलो खुसीको क्षणका रूपमा लिए ।
‘विद्यालयमा पढाइसँगै म मिठाई समेत विक्री गर्ने गर्थेँ । मिठाई बनाउनका लागि सामान जुटाउन बजार जानुपथ्र्याे’, उनी भन्छन्, ‘सानैदेखिको साइकलप्रतिको मोहसँगै कामका हिसाबले पनि मलाई आवश्यक थियो तर किन्ने पैसा थिएन । जसले गर्दा मिठाई बेचेरै जम्मा गरेको पैसाले साइकल किन्न सफल भएँ, त्यो क्षण मेरो जीवनको एउटा खुसीको क्षण हो ।’ उनले विद्यालयमा इन्टरभलको समयमा मिठाई र चाउचाउ विक्री गरेर जम्मा गरेको २५ सय रूपैयाँबाट साइकल किनेका थिए ।
घरमा दिदीहरूले मिठाई बनाउन सहयोग गर्ने गरेको उनी बताउँछन् । लमहीमा रहेको सनलाइट मोडेल इङ्लिश बोर्डिङ स्कूलबाट औपचारिक रूपमा पढाइ सुरु गरेका बोहराले आदर्श माध्यमिक विद्यालय देउपुरमा कक्षा २ देखि ४ सम्म अध्ययन गरे । त्यसपछि प्राथमिक विद्यालय कोलहीमा ५ कक्षा अध्ययन गरेका बोहराले बाल जनता माध्यमिक विद्यालय वनगाउँबाट एलएलसी पास गरेका थिए । पढाइमा राम्रै रहेका बोहराले घरको कमजोर आर्थिक अवस्थाकै कारण एलएसलीभन्दा माथि पढ्न सकेनन् । जसले गर्दा पढाइ छोडेर उनी कमाउनका लागि भारत गएको बताउँछन् ।
‘सानैदेखि काम गर्दै आफ्नो खर्च जुटाएर पढ्ने गरिरहेको थिए । ठूलो हुँदै गएपछि खर्च पनि बढ्दै गयो’, उनले भने, ‘त्यसपछि स्कूलमा मिठाई बेचेर भएको आम्दानीले खर्च नपुग्ने भयो । जसले गर्दा एसएलसी पास गरेपछि पढ्न सकिनँ ।’ दिदीभिनाजु रोजगारीका लागि भारतमै भएकाले म पनि कामका लागि पढाइ छोडेर उतै गएँ । भारत गएको समयमा मोबाइल पसलमा काम गरेर मोबाइल बनाउन काम सिक्ने अवसर पाए । करिब दुई वर्ष काम गरेपछि घर फर्किए । घर फर्किएका बोहराले करिब एक वर्ष लमही स्थित एक मोबाइल पसलमा काम समेत गरे । जसले गर्दा उनलाई लमहीमा मोबाइल व्यवसायसम्बन्धी जानकारी लिन समेत सहयोग मिल्यो ।
त्यसपछि करिब १२÷१५ हजार रूपैयाँ लगानी गरेर लमहीमै युनिक मोबाइल सेण्टर सञ्चालन गर्दाको क्षण पनि आफ्नो जीवनको अर्काे खुसीको क्षण भएको बोहरा बताउँछन् । ‘घरको अवस्था राम्रो नभएकाले परिवारको सल्लाहअनुसार पढाइ छोडेर कमाउन भारत गए । त्यहाँ सुरुमा दुःख पाए पनि मोवाइल बनाउने सीप सिक्ने अवसर प्राप्त भयो’, उनी भन्छन्, ‘मोबाइल बनाउन सिकेपछि म आफ्नै ठाउँ फर्किए र सुरुमा एउटा पसलमा काम गरे । त्यसको केही समयपछि आफ्नै लगानीमा पसल सुरु गर्दाको क्षण मेरो जीवनको अर्काे खुसीको क्षण हो ।’ करिब १३ वर्ष अघि लमहीमा सुरु गरेको मोबाइल व्यवसाय अहिले बढाउँदै शाखाका रूपमा देउखुरीकै गढवामा समेत अर्काे पसल सञ्चालन गर्दै आएका छन् ।
यस अवधिमा करिब १५ हजारमा सुरु भएको मोबाइल व्यवसाय डेढ करोड बढी लगानी समेत पुगेको छ । सफल व्यवसायीका रूपमा परिचित बोहरा विभिन्न संघसंस्थामा आबद्धसँगै सामाजिक सेवाका कार्यमा समेत सक्रिय छन् । उनले कोरोना संकटका समयमा अक्सिजन सिलिण्डर सहयोग गर्नुका साथै संघसंस्थाका माध्यमबाट पौष्टिक आहार, फलपूmललगायतका सामग्री समेत सहयोग गरेका थिए । २०४५ साल जेठको २७ गते आमा खिमादेवी बोहरा र बुबा तुलबहादुर बोहराको कोखबाट लमही नगरपालिका–५ लमहीमा जन्मिएका लुमाकान्त परिवारका कान्छा सन्तान हुन् ।
चार सन्तानमध्येका उनका दुई दिदी र एक दाजु छन् । २०६५ साल फागुन २६ गते गढवा निवासी बिमला शर्मासँग वैवाहिक बन्धनमा बाँधिएका बोहरा दम्पत्तिबाट एक छोरी युनिका छिन् । लमही उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, लमही नगर जेसीजको २०२० मा कोषवृद्धि सभापति, देउखुरी मोबाइल तथा इलोक्ट्रोनिक व्यवसायी संघको कोषाध्यक्षलगायतका विभिन्न संघसंस्थाहरूमा आबद्ध रहेर काम गरिसकेका उनी विभिन्न संघसंस्थामा आबद्ध छन् ।