देउखुरीमा बगर खेतीबाट आम्दानी किसान

शिवराज खनाल
लमही, १५ चैत । लमही नगरपालिका वडा नं ६ बलरामपुर निवासी सरस्वती चौधरीको आजभोलिको दैनिकी राप्ती नदीको बगरमा बित्ने गरेको छ । उनी बिहानै उठ्छिन् र कुटो कोदालो बोकी स–साना तरकारीका विरूवामा पानी चार्ने, गोडमेल गर्न बगरतर्फ लाग्छिन् ।

हिउँदमा राप्ती नदीको क्षेत्रफल साँघुरिने हुँदा उनीलगायत अन्य किसान यो समयमा बगरमा तरकारी खेती गर्ने गर्छन् । विगतदेखि नै यहाँका किसानले बगरमा फर्सी, काँक्रा, लौका, करेला, तरबुजालगायतका तरकारी उत्पादन गर्दै आएका छन् तर पछिल्लो समय सिंचाइको समस्या भोग्नुपरेको चौधरी बताउँछिन् । ‘तरकारी त राम्रो फल्छ, कमाइ पनि राम्रै हुन्छ तर सिंचाइमा समस्या छ, सरकारले हेरिदिए राम्रो हुन्थ्यो’, चौधरीले भनिन् ।

किसानले राप्ती नदीले कटान गरेर छोडेको ३० विगाह बगरमा हिउँदे तरकारी रोपेका छन् । त्यहीँ छेउमा राप्ती नदी बगेको छ तर खेतीमा सिंचाइ गर्ने सुविधा नहुँदा समस्या भएको किसान बताउँछन् । उनीहरू यो आधुनिक जमानामा पनि जर्किन र गाग्रीमाले सिंचाइ गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । बगरमा परिणत भएको जग्गामा पहिला बस्ती बसेको थियो ।

नदीले छाडेको बगरमा सिजन अनुसारको तरकारी तथा फलफूल खेती हुँदै आएको छ । किसानले आफ्नै लगानीमा खेती गर्दै आएका छन् । हिउँदे तरकारीबाट सिङ्गो गाउले ६० देखि ७० लाखसम्म आम्दानी गर्ने गरेका छन् । बगरखेतीले भारतबाट आयात हुने तरकारीमा केही हदसम्म भने प्रतिस्थापन गरेको छ ।