मानवीय आचरणले युगको परिवर्तन हुने संकेत

नारायणपसाद श्रेष्ठ
शास्त्रीय मान्यताअनुसार परिवर्तन भइरहने सत्यलाई हिसाब गर्ने हो भने वर्तमान युगलाई कलियुगले जानिन्छ । जब–जब मानवीय आचरणमा क्रुरता, वेभिचारिता, मान, अपमान, तेरो–मेरो, अहंकार र घमण्डले विचार र कर्ममा कुरुपता देखापर्नेछ मर्यादा र अनुशासनमा खलल् भइ समाज विक्षिप्त हुने अवस्था हुनेछ । त्यसबेला कलियुग हुनेछ भन्ने पौराणिक ग्रन्थमा लेखिएको सत्यलाई मनन् गर्ने हो भने वर्तमान समयलाई कलियुगभन्दा फरक पर्दैन ।

अहिले मानिसको विचार र कर्म अनुशासनको दायराभन्दा बाहिर र सिष्टता र मर्यादाविपरीत दौडिरहेको छ । अन्याय, अत्याचार र वेभिचारीपन मौलाउँदै गएको छ । दिउँसै रात पर्ने गरी कार्य भए गरेका देखिन्छ । मातृशक्ति कमजोर छ । मानिसलाई म को हुँ भन्ने समेत ज्ञान छैन । त्यतिमात्र होइन, सत्य, त्रेता, द्वापर, कली यसरी चार युगमा विभाजन गरेको सृष्टिचक्रको इतिहास पल्टाउने हो भने पनि मानिसको आहार, व्यवहार, चालचलनमा देखिएको स्खलन र परिवर्तनले वर्तमान कलियुगको अन्तिम गन्तव्य हो भन्ने पनि भन्न सकिने अवस्था छ ।

अहिले मानिस आफूभित्रको सच्चाइ नबुझी भौतिकताको क्षणिक आडम्बरमा भुलेका छन् । वीरताको इतिहास लेखिनुभन्दा क्रुरता र अपराधजन्य क्रियाकलापसम्बन्धी इतिहास लेखिँदै गरेको छ । तेरो र मेरो गर्दै एकअर्काको खुट्टा तान्ने प्रवृत्ति उन्मुख विचार सल्बलाएको देखिन्छ । वर्गस्वार्थ, व्यक्ति स्वार्थमा मानिसको ध्यान बढी केन्द्रित छ । सामूहिक चिन्तन गर्ने जमात निकै कमजोर छ । आफूलाई परेको दुःख अरुलाई पनि पर्न सक्छ । अप्ठेरो–सप्ठेरो, उतारचढाव समयानुकूल भइरहन्छ । उसलाई कष्ट हुनु भनेको मलाई पनि कष्ट पर्नसक्छ, यस्तो सोच मानवीय व्यवहारमा देखिँदैन ।

केवल आफ्नो आनन्द नै सबैको आनन्द हो भन्ने चिन्तनलाई प्रश्रय दिएको देखिँदैछ । दुःख–सुख, राम्रो–नराम्रो सबैलाई पर्छ भन्ने सत्य कमजोर बन्दै तेरो–मेरो भनी एकअर्कालाई होच्याउने, तिरस्कार गर्ने, अपमान गर्ने जस्ता व्यवहार अहिले मानिसको आचरणमा देखिँदै गरेको छ । ज्ञान र विवेक हराएजस्तै गरी ठूलो, सानो, धनी, गरिब, मेरो र तेरो भन्दै विचार र कर्ममा भेद बढ्दै छ । प्राकृतिक नियमको सत्यतालाई बुझेर पनि त्यही नियमको विरुद्ध आफूले आफैप्रति अभिमान हुने किसिमले कार्य पर्दशन भइरहेको छ ।

म बाहेक अरु जान्ने हुन सक्दैन भनी आफूपाइ गर्दै अहंकार प्रदर्शन भइरहेको छ । यसरी कलियुगले युगमा हुने विभत्स आचरण र व्यवहार प्रदर्शन गर्दै परिवर्तनको दिशा उन्मुख भइरहेको देखिन्छ । कलिपछि आउने नयाँ युग कसरी र कहिले सुरु हुने हो ? यो गर्भको विषय बनेको छ । समय गतिशील भइरहेको छ । यसले कसैलाई पर्खिरहेको छैन तर पनि मानिस आफ्नै जिद्धिपनभित्र गुजुल्टिरहेको छ । अन्तरआत्मीय सत्य भुलेर बाह्य आवरणको क्षणिक स्वार्थप्रति चिन्तन गरिरहेको छ ।

वर्तमान समाज जसरी कानुनी मान्यतामा गतिशील भइ अगाडि बढिरहेको छ, त्यसरी नै प्रत्येक युग कुनै न कुनै आधारमा गतिशील भएको इतिहासले बताउँछ । पौराणिक ग्रन्थ र शास्त्रीय मान्यतालाई मनन् गर्ने हो भने सत्य युगमा मानिसको मन, विचार र कर्ममा कुनै भिन्नता थिएन । चन्द्र–सूर्यले दिँदै आएको शक्ति समभावमा रहेर अगाडि बढेको थियो । तेरो र मेरो, ठूलो, सानो, धनी, गरिब कुनै भेद थिएन । सबै प्राणी जगत सत्य निष्ठाको कर्मबाट गुज्रिएका थिए । दृष्टिकोणमा समभाव, कर्म र व्यवहारमा शुद्धता थियो । पाप र धर्मको लेखाजोखा हुँदैनथ्यो ।

लोभ, मोह, अविश्वास भय थिएन । समयको परिवर्तनसँगै जब मानिसमा विषय बासना र आशक्ति बढ्दै गयो तत्पश्चात समय परिवर्तन हुँदै धर्म र अधर्मको कुरा उठ्न थाल्यो । त्रेतायुगको सुरुसँगै पाप र पुण्यको कुरा सुरु भयो । धर्मलाई आधार मानी राम्रो कर्म पुण्यको र गलत कर्म पापको परिभाषाभित्र पर्न गइ मानिसको विचार छरपष्टिन थाल्यो । राज्य सञ्चालन प्रक्रिया धर्मको आधारमा परिचालन हुँदै जान थाल्यो । सत्य, असत्यको चर्चा बढ्न थाल्यो । पाप गरे ईश्वरले सजाय दिन्छन् भनी भगवान्प्रति भक्तिभाव जागृत हुन थाल्यो । दृष्टिमा मोह उत्पन्न भइ सत्य खल्बलिन पुग्यो । मानवीय शक्ति क्षिण हुन लाग्यो ।

आसुरी र दैवीय शक्तिको उजागर हुन थाल्यो । सत्य निष्ठाको व्यवहारमा मोह तगारो बन्न थाल्यो । धर्मको रक्षार्थ पाप कर्म पनि गर्नुपर्छ भन्ने मान्यता बढ्न थाल्यो । धार्मिक युद्धको स्थिति बढ्न गइ आपसी बैरभाव, प्रेम आशक्ति बढ्दै गयो । यसरी त्रेतापछि द्वापर युगमा भक्तिभाव बढ्न गइ आफूभित्रको भगवत सत्य भुल्ने परिस्थिति बन्न सुरु भयो । मठमन्दिरमा ईश्वरको बास हुन्छ भन्ने मान्यताले प्रश्रय पाउन थाल्यो । सत्य सधैँ सत्य नै हुन्छ भन्ने आचरणबाट सुरु भएको मानवीय आचरण धर्म र अधर्म, पाप र पुण्य हुँदै लोभ, मोह र अहंकारले मानिसको आचरण र व्यवहारमा आमूल परिवर्तन भयो ।

विस्तारै नीति र नियमका दफाहरु थपिँदै गए । शक्ति, भक्ति, छल, कपट, लडाइँ, झगडाप्रति मानवीय चिन्तन बढ्न थाल्यो । यसप्रकार गतिशील हुँदै माया, मोह, प्रेम, अहिंसा, सत्यको व्याख्यात्मक टिप्पणी हुन थाल्यो । सत्यवादी हुनुपर्छ भने राजा हरिषचन्द्रको आचरण र प्रेम गर्नुछ भने निराबाईको जस्तो, पुरुषार्थ गर्नुछ भने श्रीकृष्णझैँ र सत्यको विजयी गर्नु छ भने पाँच पाण्डवको उदाहरण दिँदै समय गतिशील भयो ।

सुरु–सुरुमा पाप र पुण्यलाई साक्षी राखी अघि बढ्दै गएको सामाजिक रहनसहन, मानिसको आचरण र व्यवहार विस्तारै क्षणिक स्वार्थतिर आकृष्ट हुँदै गयो । इमान, जमानलई रकममा सटही गर्ने प्रवृत्ति बढ्न गइ मानिस बँधुवा मजदुर हुनेदेखि हुँक्के, चम्चे, जमिनदार, मालिक हुने परिस्थिति बढ्दै गयो । शोषण नीतिले प्रश्रय पाउन थाल्यो । जातीय, वर्गीय भेद बढ्न गइ तेरो र मेरोको होडबाजीले चरम अवस्था देखाउँदै गयो । हुँदा–हुँदा जन्म दिने आमाबाबुको अस्तित्व समेत पैसामा सटही हुन थाल्यो । आत्मियता कमजोर हुन थाल्यो ।

विवेक शक्ति क्षिण हुँदै एकअर्काप्रति भेदभाव बढ्न थाल्यो । यसरी पुर्खाको इतिहास मेटाउँदै नयाँ इतिहास रच्ने क्रममा कलिले आफ्नो ताण्डव नृत्य देखाउँदै गरेको अवस्था छ । मातृशक्तिप्रतिको आदर, सम्मान कमजोर हुन पुगी बाबुछोरी, आमाछोरा, भाइबहिनी, दाजुदिदीप्रतिको हेराइ, बुझाइ, आत्मीयता र श्रद्धा समेत लत्याउने अवस्थामा मानवीय चरित्र उदाङ्गिन पुग्यो । यसरी हिजो सामाजिक स्वरुपमा जब विक्षिप्त अवस्था हुनेछ त्यसबेला कलीको अन्तिम समय हुनेछ भन्ने सार सत्यमा परिवर्तन हुँदै गएको परिस्थिति विद्यमान हुन पुग्यो ।

यसप्रकार समयको गतिमा मानिसको आचरण र व्यवहारमा परिवर्तन हुन गइ कलीले आफूलाई प्रस्तुत गरेको देखिन्छ । त्यसैले जन्मको सार्थकतालाई सत्यमा रुपान्तरण गरी सत्य सधैँ सत्य रहने कुरालाई अब प्रत्येकले महसुस गर्नुपर्ने अवस्था आएको छ । कर्म र व्यवहारलाई मान, अपमानमा होइन समान भाव देखिने गरी आचरण र व्यवहारमा परिवर्तन गर्न समयले घचघच्याइरहेको छ । मानिसमा सचेतना वृद्धि गर्न समयले सूचित गर्ने गरेको छ ।